बुटवल । नेकपा माओवादीको पहलमा सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीले बुटवलमा सरसफाइ अभियानको औपचारिक शुरुआत गरेको छ। सहिद तथा बेपत्ताको स्मृतिलाई सम्मान गर्दै समाज रूपान्तरणको व्यवहारिक अभ्यासका रूपमा अभियान अघि बढाइएको आयोजकले जनाएका छन्।
अभियानको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले जताततै फोहोर फैलाउनेहरूलाई नगरपालिकाले कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले सरसफाइलाई केवल नगरपालिकाको जिम्मेवारी मात्र नभई सामूहिक सामाजिक दायित्वका रूपमा बुझ्नुपर्ने उल्लेख गरे।
नगर प्रमुख पाण्डेले विभिन्न राजनीतिक दलहरूलाई यस्ता सामाजिक अभियानमा सकारात्मक प्रतिस्पर्धा गर्न आग्रह गर्दै विकास र परिवर्तनको राजनीति सडक र व्यवहारबाट देखिनुपर्ने बताए। उनले फोहोर व्यवस्थापनमा सहयोग गर्न सम्पूर्ण नगरबासीलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।
यसैगरी, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले सफा, सुन्दर र व्यवस्थित बुटवल निर्माणका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताइन्। उनले सरसफाइ अभियानलाई निरन्तरता दिन स्थानीय तह, राजनीतिक दल, संघ–संस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा राखिन्।
अभियानको मुख्य अगुवाई सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीले गरेको छ। प्रतिष्ठानका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, उपाध्यक्ष शरद ओली, सचिव बीरेन्द्र बिक, सहसचिव जस्मिन पौडेल तथा कोषाध्यक्षको नेतृत्वदायी भूमिका रहेको थियो।
प्रतिष्ठानका प्रतिनिधिहरूले सरसफाइ अभियानमार्फत सहिद तथा बेपत्ताको सपना अनुरूप स्वच्छ, सभ्य र जिम्मेवार समाज निर्माण गर्ने उद्देश्य रहेको बताएका छन्।
कार्यक्रममा सुरक्षानिकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सरसफाइ जस्ता सामाजिक अभियानमा सधैं साथ रहने प्रतिबद्धता जनाए। साथै, विद्यार्थीहरूको उत्साहजनक सहभागिताले अभियानलाई जनस्तरसम्म फैलाउने ऊर्जा थपेको देखिन्थ्यो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सरसफाइ अभियानको प्रचार–प्रसार गरी आम नागरिकलाई सचेत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नियमित सरसफाइ, फोहोर व्यवस्थापन र नागरिक अनुशासनमा सञ्चार माध्यमको भूमिका निर्णायक हुने उनीहरूको भनाइ थियो।
आयोजकका अनुसार अबदेखि प्रत्येक हप्ता बुटवल बजारका फरक–फरक स्थानमा सरसफाइ अभियान सञ्चालन गरिनेछ। यसका लागि वडा कार्यालय, स्थानीय संघ–संस्था, विद्यालय तथा स्वयंसेवकहरूसँग समन्वय गरिने जनाइएको छ।
नयाँ बसपार्कबाट सुरु भएको यो अभियानले नेकपा माओवादीको राजनीतिक पहल र सहिद बेपत्ता स्मृति प्रतिष्ठानको नेतृत्वमा स्वच्छ बुटवल निर्माण सम्भव हुने स्पष्ट सन्देश दिएको छ। आयोजक तथा सहभागीहरूले सबै नागरिकको सक्रिय सहभागिताबाट मात्र स्वच्छ, सुन्दर र व्यवस्थित बुटवल निर्माण हुने विश्वास व्यक्त गरेका छन्।
