२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवल औद्योगिक प्रदर्शनी सम्पन्न, ८ लाख...
समाचार

बुटवल औद्योगिक प्रदर्शनी सम्पन्न, ८ लाख दर्शक र करिब ३० करोडको कारोबार

बुटवल औद्योगिक प्रदर्शनी सम्पन्न, ८ लाख दर्शक र करिब ३० करोडको कारोबार

शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • बुटवल । बुटवलमा पुस ३ गतेदेखि सञ्चालन भएको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजकका अनुसार प्रदर्शनीले लक्ष्यअनुसार करिब ८ लाख दर्शक आकर्षित गर्न सफल भएको छ भने करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरणबिना आर्थिक समृद्धि सम्भव नहुने धारणा राख्नुभयो । उहाँले उद्योगी–व्यवसायीका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीका लागि सहज, सुरक्षित र विश्वासयोग्य वातावरण निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो ।

    कार्यक्रमकी विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले स्थानीय सरकार व्यवसायीको पक्षमा सदैव तयार रहेको बताउनुभयो । उहाँले व्यवसाय प्रवर्द्धन, पूर्वाधार विकास र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेर उपमहानगरपालिका अघि बढिरहेको उल्लेख गर्नुभयो ।

    यसपटकको महोत्सवको अनुगमनका क्रममा कुनै पनि उल्लेखनीय कमी–कमजोरी नदेखिएको भन्दै आयोजक संस्था रुपन्देही उद्योग संघको प्रशंसा गरिएको थियो । समापन समारोहमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले समेत मन्तव्य व्यक्त गरेका थिए ।

    रुपन्देही उद्योग संघ, बुटवलको आयोजनामा सम्पन्न प्रदर्शनीमा स्वदेशी उत्पादनका करिब ४५० स्टल सहभागी थिए । महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, प्रदर्शनी आइडल प्रतियोगिता तथा विभिन्न विधामा उत्कृष्ट उद्यमी र स्टलधनीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

    आयोजकका अनुसार अधिकांश स्टलधनीहरूले अपेक्षाअनुसार कारोबार भएको प्रतिक्रिया दिएका छन् । प्रदर्शनीले बुटवललाई औद्योगिक, व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको संघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij