बुटवल । बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि–प्रविधि तथा पर्यटन महोत्सव २०८२ मा चिसो मौसमको समेत पर्वाह नगरी हजारौँ दर्शकको बाक्लो उपस्थिति देखिएको छ भने सहभागिता उत्साहजनक रहेको आयोजकले जनाएको छ ।
आज महोत्सवमा चर्चित गायिका शान्ता रानी परियार, मञ्जु पौडेल, सुनिता बि.सि., लालमाया थापा तथा गायक अलिफ खान, नारायण बि.पि. परियारलगायतका कलाकारहरूको सशक्त प्रस्तुति रहनेछ । साथै ‘प्रदर्शनी आइडल’ प्रतियोगिताको फिनाले चरण समेत आजकै मुख्य आकर्षणको रूपमा रहेको छ ।
मनोरञ्जनसँगै महोत्सवमा कृषि, पर्यटन र आर्थिक विकासका विषयमा विभिन्न गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन, नयाँ प्रविधिको जानकारी तथा व्यवसायिक अवसरबारे जानकारी दिनु महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक रुपन्देही उद्योग संघले जनाएको छ ।
महोत्सवले उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रलाई चलायमान बनाएको भन्दै दर्शक तथा व्यवसायीहरूले सन्तोष व्यक्त गरेका छन् । महोत्सव पौष १७ गतेसम्म सञ्चालन हुनेछ ।
