बुटवल । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा बुटवलमा सडक खाना महोत्सव आयोजना गरिने भएको छ। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो।
संघका अध्यक्ष माधवकुमार खनालले महोत्सवलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाइने जानकारी दिनुभयो। उहाँका अनुसार यस पटक महोत्सवमा प्लास्टिकजन्य वस्तुको प्रयोग नगर्ने, गुणस्तरीय तथा स्वच्छ खानाको व्यवस्था, शाकाहारी भोजनालयको छुट्टै व्यवस्था, निःशुल्क पार्किङ तथा निःशुल्क शौचालयको व्यवस्था गरिएको छ। साथै महोत्सव स्थलमा सुरक्षाको राम्रो व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
संघले जारी गरेका विज्ञप्तिअनुसार महोत्सव पौष १५, १६ र १७ गते सञ्चालन हुनेछ। महोत्सवमार्फत करिब एक करोड पचास लाख रुपैयाँ बराबरको कारोबार हुने र दुई लाखभन्दा बढी दर्शक तथा उपभोक्ताले अवलोकन गर्ने लक्ष्य संघले राखेको छ।
महोत्सवको उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय तथा मौलिक परिकारको प्रचार–प्रसार, कला–संस्कृतिको संरक्षण र होटल–रेष्टुरेन्टसहित समग्र उद्योग–व्यवसायलाई चलायमान बनाउनु रहेको संघको भनाइ छ। पछिल्लो समय सडक विस्तार, अव्यवस्थित निर्माण, धुलो–हिलो, सवारी जामलगायत समस्याका कारण पर्यटन व्यवसाय प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै बजारमा उत्साह सिर्जना गर्ने लक्ष्य लिइएको पनि विज्ञप्तिमा उल्लेख छ।
महोत्सव अवधिभर जातीय तथा मौलिक खानाका परिकार, सांस्कृतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम सफल बनाउन संघले स्थानीय सरकार, सुरक्षा निकाय, सरोकारवाला संघ–संस्था र सर्वसाधारणसँग सहकार्य र सहभागिताको अपिल गरेको छ।
