२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • चिसो मौसमलाई चुनौती दिँदै बुटवलको औद्योगिक...
समाचार

चिसो मौसमलाई चुनौती दिँदै बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको भीड

चिसो मौसमलाई चुनौती दिँदै बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको भीड

मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • बुटवल । बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ ले चिसो मौसमको प्रवाह नगरी दर्शकको उल्लेख्य सहभागिता जुटाउन सफल भएको छ । दिनप्रतिदिन बढ्दो भीडसँगै महोत्सव बुटवल मात्र नभई देश–विदेशमा समेत चर्चाको विषय बन्दै गएको छ ।

    यस महोत्सवमा स्वदेशी उत्पादनलाई मात्र प्राथमिकता दिइएकाले नेपाली उद्योग, कृषि तथा हस्तकलाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ । प्रदर्शनीसँगै कृषि, उद्योग, पर्यटन र प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रिया गोष्ठी, व्यवसायिक संवाद र छलफल कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन् ।

    आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले यसपटकको महोत्सवले नेपालीपन, मौलिकता र स्वदेशी उत्पादनको पहिचान झल्काउने गरी आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवले कृषि र पर्यटन क्षेत्रमा उपलब्धिमूलक परिणाम दिने अपेक्षा गरिएको छ । प्रारम्भिक चरणमा एक्कासी बढेको चिसो मौसमका कारण दर्शक संख्या केही कम देखिए पनि समग्रमा ८ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । साथै, महोत्सवमार्फत झण्डै ३० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

    महोत्सव अन्तर्गत खुला राष्ट्रिय लोक दोहोरी प्रतियोगिता समेत सञ्चालन भइरहेको छ, जसले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुर्‍याएको छ ।

    भोलिको विशेष आकर्षण

    भोलि महोत्सवमा पोस्टरअनुसार लोकप्रिय कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित गायिका रचना रिमाल, गायक श्याम राना, गायक धनबहादुर गुरुङ, गायिका सुक्मना राणापाल, मोडल/डान्सर मेनुका थापा लगायतका कलाकारको प्रस्तुति रहनेछ । साथै, उद्घोषक दुर्गा गुरुङ र ‘प्रदर्शनी आइडल’ गोपाल अधिकारीको उपस्थितिले कार्यक्रम थप आकर्षक बन्ने आयोजकले जनाएको छ ।

    उद्योग, कृषि, पर्यटन र संस्कृतिको संगम बनेको बुटवलको यो महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास बढाएको सहभागीहरूको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij