२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • बुटवलमा सांस्कृतिक संरक्षणका लागि लुम्बिनी पूजासामग्री...
समाचार

बुटवलमा सांस्कृतिक संरक्षणका लागि लुम्बिनी पूजासामग्री भण्डारको पहल

बुटवलमा सांस्कृतिक संरक्षणका लागि लुम्बिनी पूजासामग्री भण्डारको पहल

सामूहिक शङ्ख बजाउने नेपालकै पहिलो प्रशिक्षण सम्पन्न

आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • बुटवल। सांस्कृतिक संरक्षण र जगेर्नाका लागि लुम्बिनी पूजासामग्री भण्डार, बुटवलले महत्वपूर्ण योगदान दिँदै आएको छ। हिन्दु धर्मको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राख्दै भण्डारले विभिन्न अभियान, योग–साधना, ध्यान तथा आध्यात्मिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै सामाजिक रूपान्तरणमा भूमिका निर्वाह गरिरहेको छ।
    यही अभियानको निरन्तरतास्वरूप धर्म, संस्कार, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। विश्व हिन्दु महासङ्घ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकहरूले प्रशिक्षार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी शङ्ख बजाउने अभ्यास गराएका थिए।
    कार्यक्रममा वाचन सम्राट तथा धार्मिक अभियन्ता भीमकान्त पन्थीले शङ्खको उत्पत्ति, परिचय, धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्त्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले शङ्ख फुक्दा स्वास्थ्य, वास्तु र वातावरणमा पर्ने सकारात्मक प्रभावबारे पनि प्रकाश पार्नुभयो।
    त्यस अवसरमा प्राध्यापक डा. बाबुराम ज्ञवालीले गीता तथा विभिन्न पुराणहरूमा शङ्खको महिमा, स्थान र कथाप्रसङ्ग उल्लेख गरिएको बताउनुभयो। सञ्चारकर्मी खेम रेग्मीले यस्ता कार्यक्रमले धर्म र संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्ने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
    विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानेले घर–घरमा शङ्ख भए पनि बिहान–साँझको नित्य पूजामा बज्न छोडेको, बजाउन चाहेर पनि नजान्ने अवस्था रहेकाले सबैलाई शङ्ख बजाउन सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
    कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमै पहिलोपटक यस्तो कार्यक्रम देख्ने अवसर पाएको उल्लेख गर्दै यसले सनातन धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
    आगामी दिनमा पनि लुम्बिनी पूजासामग्री भण्डारले यस्ता प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तर अघि बढाउने कार्यक्रमका संयोजक तथा अध्यक्ष सुन्दर भण्डारीले बताउनुभयो।
    लुम्बिनी प्रदेशसहित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट समेत २५० जनाको सहभागिता रहेको कार्यक्रममा महिला, युवा, ज्येष्ठ नागरिक, धार्मिक अभियन्ता तथा ज्योतिष पण्डितहरूको उत्साहजनक उपस्थिति थियो। उक्त कार्यक्रम  आचार्य कमल पौडेलले सञ्चालन गर्नुभएको   थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij