बुटवल । बुटवलस्थित कान्ति माध्यमिक विद्यालयले आफ्नो ७२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बोल्दै बुटवलका सामुदायिक तथा संस्थागत दुवै विद्यालय देशकै उत्कृष्ट रहेको उल्लेख गरे।
उनले शिक्षा क्षेत्रमा नगरपालिकाले सबैभन्दा ठूलो लगानी गरेको बताउँदै विद्यालयहरूलाई थप व्यवस्थित बनाउन निरन्तर प्रयास भइरहेको जानकारी दिए। नगर प्रमुख पाण्डेले देशभरका धेरै विद्यालयमा विद्यार्थी अभाव देखिनु साझा चुनौती बनेको उल्लेख गर्दै माटो सुहाउँदो, प्राविधिक तथा रोजगारमुखी शिक्षामा जोड दिन आवश्यक रहेको बताए। बुटवलका उत्कृष्ट विद्यालयमा क्षमता भन्दा बढी विद्यार्थी आउने भएकाले भर्ना नपाउने अवस्था समेत देखिएको उनको भनाइ थियो। शिक्षाका लागि देशका विभिन्न स्थानबाट विद्यार्थीहरू बुटवल आउने गरेकाले यसले शिक्षा क्षेत्र मात्र नभई समग्र शहर नै चलायमान भएको उनले बताए। उनले बुटवलको समृद्धिका लागि शिक्षा लगायतका क्षेत्रमा सरकार, निजी क्षेत्र र संस्थाबीच सार्वजनिक–निजी साझेदारी (पीपीपी) को अवधारणा अघि सारिएको जानकारी गराउँदै समाजले भड्किलो जीवनशैली भन्दा साधारण र अनुशासित जीवनशैलीतर्फ उन्मुख हुनुपर्ने धारणा राखे।
कार्यक्रममा रुपन्देही शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विष्णु प्रसाद पन्थीले कान्ति माध्यमिक विद्यालय निरन्तर रूपमा उत्कृष्ट बन्दै आएको उल्लेख गर्दै सरकार, अभिभावक, शिक्षाप्रेमी तथा सरोकारवालाको चासो र योगदानले विद्यालय अझ उत्कृष्ट हुने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद बजाले धार्मिक संघ–संस्थाभन्दा विद्यालय अझ पवित्र संस्था भएको उल्लेख गर्दै देशकै उत्कृष्ट विद्यालयलाई थप उचाइमा पुर्याउन आफूहरू तन–मनका साथ लागिरहेको बताए। विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उचाइमा पुर्याउने लक्ष्यसहित सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। व्यवस्थापन समिति सदस्य रामकृष्ण शर्माले कान्ति मावि श्रमजीवी वर्गका अभिभावकका छोराछोरी अध्ययन गर्ने विद्यालय भएको उल्लेख गर्दै समयसापेक्ष शिक्षालाई अघि बढाउनुपर्नेमा जोड दिए।
नयाँ व्यवस्थापन समिति आएपछि निकै मेहनतका साथ काम भइरहेको बताउँदै उनले बुटवल उपमहानगरपालिकासँग थप सहयोगको अपेक्षा गरे। वार्षिकोत्सवका अवसरमा विद्यालयमा १५ वर्ष नियमित सेवा गरी महत्वपूर्ण योगदान पुर्याएका सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीलाई कान्ति दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो। यसैबीच शिक्षा क्षेत्रमा कलम चलाएर योगदान पुर्याएवापत दैनिक लुम्बिनीका सह–सम्पादक तथा अनलाइनखबर लुम्बिनी प्रदेश संवाददाता टी.आर. शर्मा लाई उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। दोसल्ला, सम्मानपत्र तथा नगदसहित सम्मानित पत्रकार शर्मा विगत २१ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्।
वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रूपमा विविध कार्यक्रमहरू सञ्चालन गरिएको थियो। विद्यालयमा लामो समय सेवा गरेका शिक्षक तथा कर्मचारीहरू—डिल्लीराज बेल्वासे, नारायण सुवेदी, लिलाधर पाण्डे, टिकाराम शर्मा, महेश खनाल तथा कर्मचारी पुष्य भुसाल र प्रेमबहादुर बगालेलाई सम्मान गरिएको थियो। त्यसैगरी विद्यालयलाई उत्कृष्ट बनाउन सुझाव दिने अभिभावकहरू बबर अली मियाँ, गोपाल पौडेल, लक्ष्मी नेपाल र हरि प्रसाद पन्थीलाई पनि सम्मान गरिएको छ। उत्कृष्ट विद्यार्थी, छात्रवृत्तिमा नाम निकालेका तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक लिलाधर पाण्डे र महेश खनालले संयुक्त रूपमा गरेका थिए।

