बुटवल । मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि विश्वव्यापी एकता र प्रतिबद्धताको सन्देशसहित बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस देश–विदेशमा विभिन्न कार्यक्रमसहित मनाइएको छ। सोही अवसर पारेर मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भदौ २३ को दमन तथा हत्या र २४ गतेका व्यापक ध्वंसका जिम्मेवारलाई कारबाहीका विषयमा बुटवलमा अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भदौ २३ गते राज्यद्वारा निहत्था बालबालिकामाथि भएको बर्बर दमन–हत्या तथा २४ गते अराजक समूहद्वारा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा गराइएको आगजनी, तोडफोड र कुटपिटप्रति गम्भीर दुःख व्यक्त गर्नुभयो।
उहाँले घटना–सम्बन्धी निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याउन राज्य जिम्मेवार बन्नुपर्नैमा जोड दिनुभयो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, नेकपा माओवादी रुपन्देहीका जिल्ला सचिव बिरेन्द्र सी , शान्ति समाजका केन्द्रीय सचिव डीपी खनाललगायतले मानव अधिकारका सवालमा राज्यको संवेदनशीलता र जवाफदेहिता अझै मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।
रुपन्देही उपसभापति कृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सभापति अर्जुन ज्ञवालीले तथा सञ्चालन सहसचिव सिता पौडेलले गर्नुभएको थियो।
