देवदह। २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्रबार देवदह नगरपालिकामा अन्तरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा रुपन्देही जिल्लाभरका विभिन्न पालिकाका महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेख्य सहभागिता रहेको थियो।
हाजिरीजवाफ प्रतियोगितामा रुपन्देहीका १४ वटै पालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा कञ्चन गाउँपालिका प्रथम, रोहिणी गाउँपालिका दोस्रो, सिद्धार्थ नगरपालिका तेस्रो र मायादेवी गाउँपालिका सान्तवना स्थान हासिल गर्न सफल भएका छन्। विजयी हुने पालिकालाई क्रमशः नगद रु. ५,०००, रु. ४,०००, रु. ३,००० र रु. २,००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमकै अवसरमा २०५० सालदेखि निरन्तर महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा सेवा दिँदै आएकी चमरी कलवारलाई बिदाइ तथा सम्मान गरिएको छ। उनलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद रु. १ लाख ५० हजारसहित सम्मानपूर्वक बिदाइ गरिएको देवदह नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेल, विभिन्न वडा अध्यक्षहरू तथा नगर प्रशासनका अधिकारीहरूले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै आ–आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अझ सशक्त बनाउन प्रेरणा मिलेको सहभागीहरूको भनाइ थियो।
