बुटवल। बिप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य कमरेड सरद सीको प्रमुख आतिथ्यतामा अखिल (समाजवादी) सिदार्थ गौतमबुद्ध क्याम्पस इकाइ समितिद्वारा आयोजन गरिएको “म स्वस्थ, क्याम्पस स्वस्थ, देश स्वस्थ” भन्ने नारासहितको आधारभूत स्वास्थ्य तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।
कार्यक्रम इकाइ संयोजक गणेश सीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो कार्यक्रममा पार्टी सचिव बिरेन्द्र सी, स्त्री तथा महिला रोग विशेषज्ञ डा. बिन्दु खरेल, क्याम्पस प्रमुख गोपाल चापागाईं, जनस्वास्थ्य निरीक्षक अर्बिन्द चन्द, अखिल (समाजवादी) लुम्बिनी प्रदेश सह–इन्चार्ज बिष्णु बहादुर राउत (बिज्ञान), नेसनल प्याथ ल्याब प्रमुख प्रकाश न्यौपाने, जिल्ला अध्यक्ष पदम नेपाली लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
विद्यार्थी नेता बिष्णु बहादुर राउत (बिज्ञान) ले युवा–विद्यार्थीलाई रचनात्मक कार्यक्रममार्फत सक्रिय बनाउँदै राष्ट्रिय स्वाधीनताको रक्षा तथा सामाजिक चेतनामा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि सरद सीले स्वास्थ्यसम्बन्धी प्राविधिक सीप युवाको जीवनमा अत्यावश्यक रहेको बताउँदै सिप–आधारित शिक्षा र रचनात्मक गतिविधिमा निरन्तर संलग्न हुन विद्यार्थीलाई आग्रह गरे।
कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञा डा. बिन्दु खरेलले महिला स्वास्थ्य सम्बन्धी समस्या तथा समाधान उपायबारे विस्तृत प्रशिक्षण दिइन्। क्याम्पस प्रमुख गोपाल चापागाईंले विद्यार्थी संगठनहरूले निरन्तर यस्ता उपयोगी कार्यक्रम सञ्चालन गर्दै युवामा जागरण अभियान अघि बढाउनुपर्नेमा जोड दिए।
जनस्वास्थ्य निरीक्षक अर्बिन्द चन्दले प्राथमिक उपचारका विधिहरू व्यावहारिक अभ्याससहित सिकाउँदै प्रत्येक सहभागी विद्यार्थीलाई डेमोमार्फत प्रशिक्षण प्रदान गरे।
इकाइ इन्चार्ज कुमार सीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कुरा सह–इन्चार्ज बिष्णु बहादुर राउत (बिज्ञान) ले जानकारी गराए।
