बुटवल ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जीवन गुमाएका सहिदहरूको स्मृतिमा सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रूपन्देहीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज बसन्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहिद परिवारप्रति सम्मान स्वरूप रचनात्मक तथा जनसेवामुखी गतिविधि अघि बढाउँदै आएको संस्थाले यस वर्ष रक्तदान कार्यक्रमलाई प्राथमिकतापूर्वक आयोजना गरेको बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले संस्थाले सहिद तथा बेपत्ता परिवारको स्मृतिमा सामाजिक, मानविय र जनमुखी क्रियाकलापलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै रक्तदान जस्तो जीवनरक्षक अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा नेकपा (माओवादी) रूपन्देहीका सेक्रेटरी बिरेन्द्र सी, बुटवल नगर इन्चार्ज विज्ञान सी सहित विभिन्न तह–स्तरका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता संयोजक शिव मल्लले गरे।
कार्यक्रममार्फत ४५ प्वाइन्ट रक्त संकलन गरिएको प्रतिष्ठानले जनाएको छ।
