२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

कान्ति माविमा नक्कली प्रमाणपत्र काण्ड

कान्ति माविमा नक्कली प्रमाणपत्र काण्ड

अख्तियारको सोधपुछपछि दुई शिक्षकको आकस्मिक राजिनामा

शनिवार, मंसिर ७ २०८२
शनिवार, मंसिर ७ २०८२
  • नेपालकै एक  प्रतिष्ठित सामुदायिक विद्यालयमा नक्कली प्रमाणपत्र प्रयोग गरी  शिक्षक नियुक्ति गरिएको आशंका

    बुटवल। नेपालकै प्रतिष्ठित सामुदायिक विद्यालय मानिने कान्ति माध्यामिक विद्यालय, बुटवलमा नक्कली प्रमाणपत्र  पेस गरी शिक्षक नियुक्ति गरिएको आशंका सार्वजनिक भएको छ। सोही प्रकरणसँग सम्बन्धित रहेको मानिएका दुई शिक्षकले अचानक दिएको आकस्मिक राजिनामाले थप प्रश्न खडा भएको छ।

    विद्यालयमा झण्डै पाँच वर्षदेखि कार्यरत शिक्षक बिष्णु गौतम र बिदुर पौडेलले हालै एकैसाथ राजिनामा दिएपछि, नक्कली प्रमाणपत्र  प्रयोग गरी नियुक्ति लिएको भन्ने सम्भावित अनियमितता चर्चामा आएको हो।

    करीब दुई महिनाअघि केही शिक्षकले नक्कली प्रमाणपत्र प्रयोग गरेको उजुरी बुटवल उपमहानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो। उजुरीका आधारमा अख्तियारले विद्यालयसँग स्पष्टिकरण माग गर्दै पत्र पठाएको र सोही पत्र पुगेको केही दिनमै दुवै शिक्षकले राजिनामा दिएको विद्यालय स्रोतको दाबी छ।

    यसैबीच, विद्यालयका सहायक प्रअ तथा सूचना अधिकारी केदार ज्ञवालीले दुई शिक्षकका कागजातबारे अख्तियारबाट सोधपुछ आएको पुष्टि गर्दै भने, “अख्तियारको जानकारी आएलगत्तै दुवैले राजिनामा बुझाएका हुन्।”

    शिक्षक बिष्णु गौतम विद्यालयको होस्टेल वार्डेनको जिम्मेवारीमा पनि थिए। नयाँ व्यवस्थापन समिति गठन भएपछि होस्टेलका केही सामान  खरिद प्रक्रियामा  अनियमितता फेला परेपछि व्यवस्थापन समितिले व्यापारीहरूलाई मूल्य घटाएर भुक्तानी गर्न निर्देशन दिएको थियो। सोही प्रक्रियामा  संलग्न व्यक्तिमध्ये गौतमले बुटवलमै कुनै निकायमा दर्ता नभएको निजी होस्टेल सञ्चालन गरेको आरोप एक शिक्षकले लगाए।

    प्राचार्य: “सत्यतथ्य छानबिनपछि मात्र स्पष्ट हुन्छ”

    विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले अख्तियारको पत्र आएको भोलिपल्टै दुवै शिक्षकलाई सक्कली प्रमाणपत्रसहित उपस्थित हुन भनिएको जानकारी दिए।

    तर बिदुर पौडेलले इमेलमार्फत राजिनामा पठाएका थिए भने बिष्णु गौतमले अरू व्यक्तिमार्फत राजिनामा बुझाएको उनले बताए।

    प्राचार्यका अनुसार दुवै जनाको राजिनामा अहिले स्वीकृत गरिएको छैन र एक महिनाको तलब रोकिएको छ।

    “के सत्य हो भन्ने अख्तियारले छानबिन गरी पठाएपछि मात्र स्पष्ट हुन्छ,” प्राचार्य ज्ञवालीले भने।

    आरोपित शिक्षकहरूको पक्ष=- 

    शिक्षक बिष्णु गौतमले आफूले प्रयोग गरेका सबै कागजात सक्कली भएको दाबी गर्दै भने,

    “अरू ठाउँमा जागिरको लागि स्वेच्छाले राजिनामा दिएको हुँ। कुनै निकायबाट अनुसन्धान भइरहेको जानकारी आएको छैन।”

    अर्का शिक्षक बिदुर पौडेलले पनि आफ्नो आन्तरिक कारणले राजिनामा दिएको बताउँदै भने,

    “बाहिर अनावश्यक हल्ला फैलाइएको मात्र हो। मेरा सबै प्रमाणपत्र सक्कली छन्। शिक्षक सेवा आयोगका परीक्षामा पनि नियमित सहभागी हुँदै आएको छु।”

    लामो विवादपछि सक्रिय बन्दै विद्यालय

    करिब ६ हजार विद्यार्थी र २०० भन्दा बढी शिक्षक–कर्मचारी रहेको कान्ति माविमा राजनीतिक खिचातानीका कारण वर्षौँदेखि व्यवस्थापन समिति गठन हुन नसकेको थियो।

    झण्डै चार महिनाअघि सम्पन्न निर्वाचनबाट नयाँ समिति गठन भएपछि विद्यालयले सुधार, पारदर्शिता र अनुगमनका कामलाई तीव्रता दिएको छ। नक्कली कागजातसम्बन्धी उजुरी र पछिल्लो राजिनामा घटनाले विद्यालय पुनः चर्चामा आएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij