बुटवल । रुपन्देही उद्योग संघले आगामी पौष ३ देखि १७ गतेसम्म बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्राविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना गर्ने भएको छ। संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी यस सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बुटवलमा हुँदै आएको औद्योगिक प्रदर्शनीले राष्ट्रिय स्तरमै छुट्टै पहिचान स्थापित गराएको दाबी गरे। उनका अनुसार विगतका संस्करणहरूको प्रभाव र सफलताका कारण देशका अन्य शहरका उद्यमी तथा व्यवसायीहरू पनि बुटवलको प्रदर्शनीमा सहभागी हुन उत्साहित भएको देखिन्छ।
यसपटकको प्रदर्शनी ‘फरक, आकर्षक र प्रभावकारी’
अध्यक्ष पराजुलीका अनुसार यसपटकको महोत्सव विगतभन्दा फरक र थप आकर्षक हुने छ। उनले भने—
“यसपटक हामी भारतका विभिन्न राज्यसम्म पुगेर प्रचार–प्रसार गर्नेछौँ। भारतीय पर्यटकलाई लक्षित गर्दै विशेष कार्ययोजना बनेको छ। बुटवल केबलकार, लुम्बिनी, फुलबारी, मुक्तिनाथ धामजस्ता गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धनमा नयाँ ढंगले अघि बढ्नेछौँ।”
उनका अनुसार महोत्सवमा कृषि तथा औद्योगिक उत्पादनलाई प्राथमिकतामा राखिने छ, जसले स्थानीय उद्यमशीलता र उत्पादनमा थप ऊर्जा दिनेछ।
चार संस्थाबीच सहमति भएपछि मार्ग खुलेको
महोत्सव आयोजना सम्बन्धमा केही दिनअघि दुई संस्थाबीच विवाद उत्पन्न भएको थियो। तर हिजो बुटवल उपमहानगरपालिकाको रोहबरमा चार संस्थाबीच भएको सहमतिपछि प्रदर्शनी आयोजनाको मार्ग प्रशस्त भएको अध्यक्ष पराजुलीले बताए।
आम्दानी र कारोबारको लक्ष्य
संघका अनुसार यस वर्षको प्रदर्शनीमा:
१० लाखभन्दा बढी दर्शक आउने अनुमान
करिब ३० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य
१ लाख जनाले प्रत्यक्षरूपमा प्रदर्शनीबाट सेवा वा वस्तु खरिद गर्ने अनुमान राखिएको छ।
त्यस्तै टिकट, स्टल शुल्क, प्रायोजन तथा विविध गतिविधिबाट महत्त्वपूर्ण आम्दानी संकलन हुने संघको अपेक्षा छ।
यसैगरी रुपन्देही उद्योग संघले देशको औद्योगिक, कृषि तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा बुटवलको प्रदर्शनीले नेतृत्व लिँदै आएको र यसपटकको संस्करणले पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा बुटवलको औद्योगिक छविलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
