बुटवल । सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं साधारणसभा तथा ५औं अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ।
उक्त अधिवेशनबाट संस्थाको अध्यक्षमा पुनः रामकृष्ण शर्मा निर्बिरोध निर्वाचित भएका छन्।
यसैगरी उपाध्यक्षमा टेकराज शर्मा, सचिव मञ्जु पाण्डे, कोषाध्यक्ष शिवलाल पौडेल तथा सदस्यमा विष्णु पन्त, माधव चापागाईं, कृष्ण पौडेल, दुखिराम चौधरी र कविता पाण्डे निर्बिरोध निर्वाचित भएको निर्वाचन उपसमिति संयोजक रामप्रसाद भुसालले जानकारी दिए।
त्यस्तै, साधारणसभाबाट हरि प्रसाद पौडेल संयोजक र सदस्यमा शंकर पाण्डे तथा भूपेन्द्र पन्त चयन भएका छन्।
कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यतामा भएको थियो।
प्रमुख अतिथि खनालले सहकारीलाई आर्थिक मेरुदण्डको रूपमा व्याख्या गर्दै पछिल्लोपटक धेरै सहकारीमा समस्या देखिएको बताए। उनले माथिल्लो निकायमा दर्ता भएका सहकारीहरूमा बढी समस्या देखिएको उल्लेख गर्दै सेयर सदस्यहरू सचेत हुनुपर्नेमा जोड दिए।
उनले बुटवल उपमहानगरपालिकामा दर्ता भएका सहकारीहरूमा भने उल्लेख्य समस्या नदेखिएको भन्दै सामाजिक उत्तरदायित्वमा पनि जोड दिन आग्रह गरे।
कार्यक्रममा प्रमुख सल्लाहकार बाबुराम गौतम, सल्लाहकार शरद वली, अनुगमन समिति सदस्य राजु लिगललगायतले शुभकामना मन्तव्य दिएका थिए।
त्यस्तै, ८४ वर्षीया मनधरा उपाध्याय बिशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्, जसको सहकारीप्रतिको निरन्तर लगाव र प्रेरणादायी भूमिकाले कार्यक्रममा विशेष भावनात्मकता थपेको थियो।
साधारणसभामा अध्यक्ष रामकृष्ण शर्माले प्रस्तुत गरेको प्रतिवेदन, कोषाध्यक्ष शिवलाल पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक हरि पौडेलले प्रस्तुत गरेको लेखा प्रतिवेदन बन्दसत्रले अनुमोदन गरेको थियो।
कार्यक्रम सञ्चालन सचिव गिरिराज भुसालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष टेकराज शर्माले दिएका थिए।
उक्त अवसरमा संस्थाका जेष्ठ सदस्यहरू, विभिन्न संघसंस्थामा प्रतिनिधित्व गर्ने सेयर सदस्यहरू, विद्यार्थी, असल ऋणी, असल बचतकर्ता तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
यसैबीच कार्यक्रममा पुनः निर्वाचित अध्यक्ष रामकृष्ण शर्माले आगामी कार्यकालमा सिरसिरे बचत तथा ऋण सहकारी संस्थालाई रुपन्देहीकै “नमुना सहकारी”का रूपमा विकास गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे।
