काठमाडौं, कात्तिक २० —
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा मौलाएको भ्रष्टाचार, विदेशी दलाल प्रवृत्ति र संसदवादी सत्ताले राष्ट्र बेच्ने कार्यलाई कडा रूपमा चेतावनी दिएका छन्।
बिहीबार राजधानी काठमाडौंमा आयोजित बृहत् जनसभामा सम्बोधन गर्दै उनले भने, “भ्रष्ट नेता र प्रशासकका दस–दसवटा घर काठमाडौंमा छन् । अब जनताले उनीहरूसँग हिसाबकिताब गर्ने समय आएको छ ।”
उनले नेपालका संसद र दलाल राजनीतिक शक्तिहरू अमेरिकाको प्रभावमा परेको दाबी गर्दै भने, “संसदमा अमेरिकी दलालहरूले कब्जा गरेका छन्, MCC पास हुनु त्यसकै परिणाम हो । भ्रष्ट संसदले राष्ट्रघात गरेको छ ।”
महासचिव विप्लवले हालैको जेनजी आन्दोलनको उल्लेख गर्दै भ्रष्ट र दलाल शक्तिमाथि धावा बोलेकोमा युवाहरुलाई धन्यवाद पनि व्यक्त गरे। उनले भने, “जेनजी आन्दोलनले देशभक्त र इमानदार जनशक्तिको नयाँ स्वर उठाएको छ । अब त्यो स्वर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा परिणत हुनुपर्छ ।”
विप्लवले पूर्वमुख्य न्यायाधीश शुसिला कार्कीको नेतृत्वमा बनेको सरकारलाई समेत “विदेशी दलाल” सरकार भएको आरोप लगाउँदै भने, “विदेशी स्वार्थको सेवा गर्ने, जनताको अधिकार दमन गर्ने सरकारले अब टिक्न पाउँदैन ।”
उनले देशमा तत्काल सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न माग गर्दै भने, “निष्पक्ष निर्वाचनका लागि विदेशी डलरको प्रभाव र दलाल प्रवृत्ति समाप्त गर्नैपर्छ । त्यहीबाट मात्रै स्वाधीन र जनमुखी राजनीति सम्भव हुन्छ ।”
माओवादी केन्द्रलगायतका दलहरूसँग पार्टीको छलफल भइरहेको खुलासा गर्दै उनले भने, “हामी संवादमा छौँ, तर सैद्धान्तिक रूपमा गम्भीर मतभेद छन् । पुराना दलहरू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छैनन् ।”
सभामा सहभागी हजारौँ कार्यकर्ताहरूले ‘राष्ट्रिय स्वाधीनता’, ‘भ्रष्टाचारमुक्त नेपाल’ र ‘सर्वपक्षीय सरकार गठन गर’ जस्ता नारा लगाएका थिए।
