काठमाडौं, कार्तिक १९ —,देशको वाम राजनीति फेरि एकपटक ठूलो परिवर्तनको मोडमा पुगेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित कतिपय नाममात्रका दश वामपन्थी दलले बुधबार नेपाली कम्युनिस्ट पार्टी नामक नयाँ पार्टी घोषणा गरेका छन् । राजधानीको भृकुटीमण्डपमा आयोजित भव्य सभामार्फत घोषणा गरिएको पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन भएका छन् ।
पार्टीले आफ्नो चुनाव चिन्ह ‘पाँचकुने तारा’ र मार्गनिर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद र नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ तय गरेको छ । सम्मेलनले २३ बुँदे घोषणापत्र पारित गर्दै छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने निर्णय गरेको छ ।
तर, यो एकता प्रयासमा सबैभन्दा चर्चित प्रश्न बनेको छ — विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी किन समेटिएन ?
अन्तिम क्षणसम्म संवाद र छलफल भए पनि विप्लव पक्षले केही नीतिगत र संगठनात्मक असहमति देखाउँदै एकता प्रक्रियामा भाग लिएको छैन । स्रोतहरूका अनुसार, क्रान्तिकारी लाइन, संगठनको स्वतन्त्रता, र राज्यसत्तासँगको सम्बन्ध जस्ता विषयमा सहमति नजुट्दा नेकपा महासचिव विप्लव पछिल्लो क्षणमा पछि हटेका हुन् ।
विप्लव नेकपाले भने एकताको ‘राजनीतिक दिशा अस्पष्ट भएको’ टिप्पणी गरेको छ । पार्टी नजिकका स्रोतले भनेका छन्, “एकता नाममा फेरि पुरानो संसदीय चरित्रलाई नै दोहोर्याउने तयारी भएकाले हामी त्यसभित्र जान सक्दैनौं।”
त्यसैले अब सबैको ध्यान भोलि हुने जनप्रदर्शनमा महासचिव विप्लवले दिने सम्भावित वक्तव्यमा केन्द्रित भएको छ । अपेक्षा छ — उनी भोलि जनसभामार्फत “किन एकता असफल भयो र विप्लवको पार्टीले कस्तो वैकल्पिक दिशा लिँदैछ” भन्ने विषयमा स्पष्ट धारणा प्रस्तुत गर्नेछन् ।
विश्लेषकहरूका अनुसार, विप्लवको पार्टी यस एकताबाट बाहिर रहँदा नयाँ गठित नेपाली कम्युनिस्ट पार्टीले पूर्ण वामध्रुवको स्वरूप लिन नसकेको देखिन्छ । तर, यही असन्तुष्ट धार भविष्यमा फेरि निर्णायक भूमिका खेल्न सक्ने सम्भावना पनि नकार्न सकिँदैन ।
