रुपन्देही, कार्तिक १८ ,—जेनजी विद्रोहपछि लामो मौन तोड्दै नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल मंगलबार पहिलोपटक आफ्नै गृहजिल्ला रुपन्देही पुगे।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि सार्वजनिक रूपमा हराएका पौडेलले यसपटक पनि आफ्नो राजनीतिक दिशा स्पष्ट रूपमा बोलेनन्। एमाले महाधिवेशन नजिकिँदै गर्दा उनले न ओलीको समर्थन गरे, न आफ्नो आकांक्षा खोले।
पार्टी जिल्ला कमिटीको नाममा आयोजना गरिएको बैठकमा असामान्य भीड थियो। हलभित्र बस्ने ठाउँै थिएन, बाहिर सयौं कार्यकर्ता उभिएर पौडेलको भाषण सुन्दै थिए। सबैको चासो एउटै — अब पौडेल के गर्ने?
तर उनले अपेक्षा गरेजस्तो बोलेनन्। संक्षिप्त तर कडा भाषामा भने —
“नेतृत्व महाधिवेशनले तय गर्छ। प्रतिनिधिले निर्णय गर्छ। अहिले कसले कहाँ उठ्छ भन्ने अर्थ राख्दैन।”
पौडेलले जोड दिए — “गुट बनाएर प्रचार गर्नु पार्टीको हितमा होइन।”
यसअघि पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादमा असहमति राखेका पौडेलले यो प्रसंग नउठाए पनि संगठनभित्र मतभेद बाँकी रहेको संकेत गरे।
राजनीतिक विश्लेषकहरूको बुझाइमा, पौडेलको रुपन्देही आगमनले एमालेभित्रको समीकरण फेरि तातो बनाएको छ।
ओलीप्रति मौन रहेका पौडेलले सम्बोधनको क्रममा जेनजी विद्रोह र वर्तमान सरकारले निर्वाचन गर्न नचाहेको विषयमा पनि धेरै समय खर्च गरे। उनले साच्चिकै निर्वाचन गराउन विश्वासको वातावरण बनाउन सरकारको जिम्मेवारी औँल्याए। एमालेमाथि सबै तिरबाट आक्रमण भएको उल्लेख गर्दै कार्यकर्ताहरुलाई एकजुट भएर अघि बढ्न प्रेरित गरे।
