काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता र लोकतन्त्रको सुरक्षाका लागि अब निर्वाचन नै अन्तिम र एकमात्र विकल्प भएको बताएका छन्। उनले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण राजनीतिक शक्ति केन्द्रित हुनुपर्ने आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले सरकारलाई शान्ति–सुरक्षाको पक्का व्यवस्था गर्दै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास जनतामा जगाउन सुझाव दिएका थिए।
“लोकतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी हो,” उनले भने, “यसका लागि हामी सबै मिलेर निर्वाचन सफल बनाउनुपर्छ।”
राष्ट्रपतिले राजनीतिक दलहरूलाई कुनै दुविधा र अस्पष्टतामा नबस्न सुझाव दिँदै चेतावनीका साथ भने, “यदि अब पनि दलहरूले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थाले, त्यसले देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्छ।”
त्यस्तै, उनले दलहरूलाई युवापुस्ता—जेनजीको आवाजलाई अस्वीकार नगरी त्यसलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। “जेनजीहरू हाम्रा आफ्नै सन्तान हुन्, उनीहरूको असन्तुष्टि बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ,” पौडेलले भने।
बैठकमा सहभागी दलका नेताहरूले लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनका लागि सधैं तयार रहेको स्पष्ट पारेका थिए। तर उनीहरूले हालको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान हुने ग्यारेन्टी सरकारले दिनुपर्ने बताएका थिए।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन दलहरूको सहकार्यबिना सम्भव नभएको बताउँदै निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न शान्ति–सुरक्षाको पक्का व्यवस्था गर्ने सरकारको तयारी रहेको बताइन्।
बैठकमा अन्तरिम सरकारका सबै मन्त्री उपस्थित थिए।
त्यस्तै, सर्वदलीय भेटमा प्रमुख दलका नेताहरूको सहभागिता उल्लेखनीय थियो।
नेपाली कांग्रेसतर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी थिए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए।
अन्य सहभागी दलहरूमध्ये जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट डा. सीके राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी थिए।
