२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • सिंहदरबार आगलागी प्रकरणमा काठमाडौँ महानगरको स्पष्टीकरण...
समाचार

सिंहदरबार आगलागी प्रकरणमा काठमाडौँ महानगरको स्पष्टीकरण : “हामी भागेका होइनौं, दिनरात खटिएका थियौँ”

सिंहदरबार आगलागी प्रकरणमा काठमाडौँ महानगरको स्पष्टीकरण : “हामी भागेका होइनौं, दिनरात खटिएका थियौँ”

मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  •  

    काठमाडौं ।हालै सिंहदरबारमा भएको आगलागीलाई लिएर काठमाडौँ महानगर र मेयर बालेन शाहमाथि विभिन्न आरोप र प्रश्नहरू उठिरहेका छन्। सामाजिक सञ्जालमा “सिंहदरबार जल्दा महानगरको दमकल कहाँ गयो?”, “तीन दिनसम्म जलेको हेरेर बस्यो?”, “सिंहदरबार जलाउने नै बालेन शाह हुन्” भन्ने जस्ता हल्ला र आरोपहरू तीव्र रूपमा फैलिएका छन्।

    महानगरले यस्ता आरोपहरूलाई असत्य र निराधार ठहर गर्दै जनतालाई भ्रममा नपर्न र हल्लाको साटो तथ्यमा आधारित हुन आग्रह गरेको छ। साथै, प्रत्येक नागरिकलाई सूचना लिन पाउने अधिकार (Right to Information – RTI) अन्तर्गत आवश्यक विवरण महानगरबाट माग्न सकिने स्पष्टिकरण दिएको छ।

     

    महानगरका अनुसार, गत भदौ २४ गते राति देशभर अराजक स्थिति थियो। संघीय सरकार निष्क्रिय अवस्थामा हुँदा सुरक्षा संयन्त्र पूर्ण रूपमा कमजोर बनिसकेको थियो। त्यस्तो कठिन घडीमा पनि काठमाडौँ महानगरको टिमले आफ्नो दायित्वबाट पछि हटेन। आगलागी नियन्त्रण, घाइतेहरूको उपचार, औषधि तथा रगत व्यवस्थापन, बिरामी र कुरुवाका लागि खाना र बस्ने व्यवस्था, लाश व्यवस्थापन तथा विभिन्न निकायसँगको समन्वयमा महानगर दिनरात खटिएको थियो।

     

    सिंहदरबारमा आगो लागेपछि दमकल पठाउने प्रयास गरिए पनि आन्दोलनकारीहरूको भीडका कारण दमकल प्रवेश गर्न नसकेको महानगरले बताएको छ। त्यही भिडका कारण सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकल पनि सञ्चालनमा आउन सकेको थिएन। भीड केही शान्त भएपछि मात्रै, २४ गते साँझ ८:१५ बजे काठमाडौँ महानगरको दमकल सिंहदरबार पुगेको र तत्क्षण आगो निभाउने कार्य सुरु गरेको विवरण सार्वजनिक गरिएको छ।

    काठमाडौँ महानगरमा हाल न्युरोड, बालाजु र रामहिटी गरी पाँच वटा दमकल सञ्चालनमा छन्। ती दमकलहरू १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरीसहित ४४ जनाको टिमले तीन शिफ्टमा सञ्चालन गर्दै आएका छन्। भदौ २३ देखि २८ गतेसम्मको अवधिमा मात्रै महानगरका दमकलहरूले सिंहदरबार, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, जिल्ला अदालत, बैंक, गोदाम, एनसेल र डाटा सेन्टर, थापाथली, नक्साल, बालुवाटार, स्वयम्भू लगायतका ५५ भन्दा बढी स्थानमा आगो निभाएको विवरण प्रकाशित गरिएको छ।

     

    संघीय सरकारले औपचारिक निर्णय गर्नुअघि नै महानगरले अस्पतालहरूसँग समन्वय गरी घाइतेहरूको निशुल्क उपचार, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था, रगत संकलन, बिरामी र कुरुवाका लागि निशुल्क खाना र बासस्थान, साथै मृतकहरूको घरसम्म पु¥याउने व्यवस्था गरेको पनि जानकारी दिएको छ। अपरेशनका बेला अभिभावक नपाइएका बिरामीहरूको हकमा नगर प्रहरी स्वयं जिम्मेवार बनेर Informed Consent Form मा हस्ताक्षर गरेको तथ्यसमेत सार्वजनिक गरिएको छ।

     

    महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हल्ला र झूटले जनतालाई भ्रममा पार्छ र हाम्रो टोलीको मनोबल घटाउँछ। हामी भागेका होइनौं, जनताको सुरक्षाका लागि दिनरात खटिएका हौं।” महानगरले सञ्चार माध्यमहरूलाई पनि तथ्य पुष्टि गरी मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

    अन्त्यमा महानगरले सम्पूर्ण नागरिकलाई एकताको सन्देश दिंदै भनेको छ — “देशलाई अहिले हल्ला र झूट होइन, सत्य, एकता र जिम्मेवारी चाहिएको छ।”

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij