बर्दिवास, मधेश प्रदेश – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार जनमधेस उत्पादन केन्द्रमा लिच्ची, आँप, कागती र भुइकटहरका बिरुवा रोपेर फलफूल उत्पादन अभियानको उद्घाटन गरेका छन्।
श्रावण २३ गते बिहान सम्पन्न कार्यक्रममा विप्लवले ५ सय भुइकटहर, ३० वटा कागती, ४५/४५ वटा आँप र लिच्चीका विरुवा रोपे। पार्टीको मधेश प्रदेशस्थित १५ कट्ठा जग्गामा सुरु गरिएको यस अभियानमा प्रदेश इन्चार्ज अनिल सी, पोलिटब्युरो सदस्य देवनारायण सी, केन्द्रीय सदस्य शिला सी लगायतका नेताहरुको उपस्थितिमा रोपण कार्य सम्पन्न भयो।
उत्पादन केन्द्रमा संलग्न स्थानीय कार्यकर्ता तथा जनतालाई स्वागत तथा धन्यवाद प्रदेशका नेताहरु देव नारायण सी र पवन सीले व्यक्त गरेका थिए।
उत्पादन क्षेत्रमा नेकपाको सक्रियता
नेकपा विप्लव नेतृत्वले पछिल्ला वर्षहरूमा कृषि–उत्पादनलाई पार्टीको राजनीतिक एजेन्डासँग जोडेर ‘आत्मनिर्भर अर्थतन्त्र’ निर्माणको अभियान चलाउँदै आएको छ। यसअघि आलु, खुर्सानी, तरकारी उत्पादनमा संगठनले उल्लेख्य परिणाम देखाएको छ। सयौं बिगा जमिनमा धान खेती, जुम्लामा स्याउ उत्पादन जस्ता परियोजनाहरु पनि सञ्चालनमा छन्।
पार्टीले उत्पादनलाई मात्र आर्थिक आवश्यकता नभई राजनीतिक दृष्टिकोणले पनि आत्मनिर्भरता र जनजीविकाको आधार मान्दै, गाउँ–गाउँमा कृषकलाई प्रत्यक्ष संलग्न गराउने रणनीति अघि सारेको छ।
