बुटवल । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समीक्षा गरिएको उनले बताए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरी र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरी विधेयक आउने जस्तो नदेखिएको महासङ्घको बुझाइरहेको सुवेदीले बताए ।
सरकारले असार १५ मै विद्यालय शिक्षा विधेयक टुङ्गोमा पुर्याउने प्रतिबद्धता जनाएको थियो । तर, सहमतिअनुसार विधेयक टुङ्गोमा नपुगेपछि महासङ्घ आक्रोशित बनेको हो। विधेयक अहिले पनि शिक्षा समितिमै रहेको छ।
