२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
समाचार

डेरी व्यवसायीबाट मानव सेवामा योगदान

डेरी व्यवसायीबाट मानव सेवामा योगदान

रुपन्देही डेरी व्यवसायी समितिले मानवसेवा प्रति समर्पित भावनासहित तिलोत्तमा–११ स्थित मानव सेवा आश्रममा रहेका नागरिकहरूलाई खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

आइतवार, श्रावण १९ २०८२
आइतवार, श्रावण १९ २०८२
  • बुटवल। रुपन्देही डेरी व्यवसायी समितिले मानवसेवा प्रति समर्पित भावनासहित तिलोत्तमा–११ स्थित मानव सेवा आश्रममा रहेका नागरिकहरूलाई खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

    उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख खाडले डेरी व्यवसायी समितिको सामाजिक उत्तरदायित्वमा आधारित यो कार्य अत्यन्त प्रेरणादायी रहेको बताउनुभयो। “सडकमा बस्ने नागरिकको व्यवस्थापन गर्न राज्य मात्र होइन, सम्पूर्ण समुदायको सहयोग आवश्यक छ,” भन्दै उहाँले तिलोत्तमा नगरपालिकाले  सडक मानवरहित नगर घोषणा गरिसकेको जानकारी समेत दिनुभयो।

     

    नगरप्रमुख खाडका अनुसार मानव सेवा आश्रममा रहेका नागरिकहरूको पुनः पारिवारिक पुनर्मिलन गराउने र उनीहरूलाई उत्पादनशील कार्यमा जोड्ने लक्ष्यसहित काम भइरहेको छ। उहाँले यस्तो अभियानमा सबै संघ-संस्थाहरूको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

     

    कार्यक्रममा मानव सेवा आश्रमकी केन्द्रीय सदस्य सरु अधिकारीले डेरी व्यवसायीको कार्यलाई “पुण्य कार्य” को संज्ञा दिँदै आभार प्रकट गर्नुभयो।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले डेरी व्यवसायलाई मर्यादित र समाज उपयोगी पेशा भन्दै मानव सेवा आश्रमले गरिरहेको कार्यमा आफू समेत सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभयो।

     

    त्यसैगरी समितिका सल्लाहकार तथा पूर्वअध्यक्ष रामकृष्ण शर्माले आश्रममा रहेका नागरिकहरूलाई “जीवित भगवान” को संज्ञा दिँदै उनीहरूको सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्नुभयो। उनले डेरी व्यवसायी समिति गौशाला संरक्षण अभियानमा समेत संलग्न रहेको जानकारी दिँदै बुटवलको नन्दनी गौशाला, देवदहको कामधेनु गौशाला र तिलोत्तमा गौशालामा रहेका गाईहरूको संरक्षणमा संस्था सक्रिय रहेको बताउनुभयो ।

     

    कार्यक्रममा समिति उपाध्यक्ष जिवलाल न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने समिति सचिव याम प्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    समिति अध्यक्ष विष्णु प्रसाद पाण्डेले दुधको महत्त्व बुझाउने उद्देश्यसहित खिर खुवाउने कार्यक्रम गरिएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।

    मानव सेवा आश्रममा हाल विभिन्न उमेर समूहका झन्डै १५० जना नागरिक बसोबास गरिरहेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij