बुटवल। कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी जीवन प्रसाद वझा चयन भएका छन्। विद्यालय व्यवस्थापन समितिको सोमबार रामकृष्ण शर्माको अध्यक्षतामा बसेको बैठकले वझालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
यसअघि बसेको पहिलो चरणको बैठकले जीवन प्रसाद वझा र संगिता अधिकारीलाई व्यवस्थापन समितिमा मनोनित गरेको थियो। त्यसपछि दोस्रो चरणको बैठकमा वझालाई अध्यक्ष बनाउन प्रस्ताव पारित भएको हो।
वझा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्। उनी विभिन्न सामाजिक संघसंस्था तथा सामुदायिक विद्यालयहरूमा समेत सक्रिय योगदान पुर्याउँदै आएका एक प्रतिष्ठित व्यक्तित्व मानिन्छन्। अध्यक्षमा निर्विरोध चयन भएपछि वझाले विद्यालयलाई देशकै उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
गत वर्षदेखि अध्यक्ष चयन प्रक्रियामा प्रमुख दल कांग्रेस र एमालेबीचको खिचातानीका कारण सहमति जुट्न सकेको थिएन। सहमतिको प्रयास विफल भएपछि असार २१ गते विद्यालय व्यवस्थापन समितिका चार सदस्य चयनका लागि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा स्वतन्त्र प्यानलका रामकृष्ण शर्मा, मित्र गिरि, संगिता पोखरेल र कमला पन्थी विजयी भएका थिए।
करिब ६ हजार विद्यार्थी अध्ययनरत यो विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्येमा गनिन्छ।
यसैबीच व्यवस्थापन समितिमा आउने शिक्षक प्रतिनिधि छनौटको प्रक्रियामा रहेको र दुई तीन दिनभित्र अभिभावक समितिलाई पनि पुर्णता दिने तयारी भएको व्यवस्थापन समिति सदस्य रामकृष्ण शर्माले बताए ।
