२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • हामी यात्रु हौँ, अपराधी होइनौं :...
समाचार

हामी यात्रु हौँ, अपराधी होइनौं : दिल्ली–बुटवल बस यात्राको पीडा

हामी यात्रु हौँ, अपराधी होइनौं : दिल्ली–बुटवल बस यात्राको पीडा

शनिवार, आषाढ १४ २०८२
शनिवार, आषाढ १४ २०८२
  • बुटवल।नेपाल–भारत बीच लामो दूरीको बस यात्रा गर्ने नेपाली यात्रुहरूले दैनिकजसो अपमान, अस्वस्थ खाना र असहज व्यवहार झेलिरहेका छन्। यस्तै एउटा तीतो अनुभव सुनाएका छन् रामकृष्ण शर्मा, जसले ०८२ असार ३ गते दिल्लीबाट बुटवलसम्मको यात्रामा परेको पीडा शब्दमा उतारेका छन्।

    “हामी यात्रु – कहिले आशाले भरिएका, कहिले थकाइले चुँडिएका, कहिले त केवल घर फर्कन आतुर। तर हाम्रो यात्रा, विशेष गरी भारत–नेपाल सीमाबाट हुँदै आउँदा, केवल दूरी नाप्ने प्रक्रिया होइन, कहिलेकाहीँ त आत्मालाई चोट पुर्‍याउने संघर्ष पनि बन्छ,” उनले लेखेका छन्।

    सीमामा अपराधीझैं व्यवहार

    नेपालगञ्ज बोर्डर नजिक भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीको व्यवहारबारे उनी लेख्छन्, “झोला खोलेर हेर्ने मात्र होइन, गोजा–कुनामा हात हाल्दै, बारम्बार स्क्यानर र कुकुर लगाएर जाँच। हामी त काम गरेर फर्केका मेहनती नागरिक, तर व्यवहार यस्तो, ‘हामी अपराधी हौँ?’ भन्ने लाग्ने।”

    नेपाल प्रवेश गरेपछि पनि यात्रा सहज बनेन। बिहान राप्ती सोनारी–१, बाँकेस्थित होटल मेचि महाकाली मा बस रोकिएको थियो। भोकाएका यात्रुहरूले प्रति थाल २५० रुपैयाँ तिरेर खाना खाए तर परोसा देख्दा उनीहरू झसङ्ग भए। “दालमा पुरै ठूलो कमिला वा किरा पाकेको प्रष्ट देखियो,” उनले सुनाए।

    गुनासो गर्दा झन् दुव्र्यवहार

    खानामा किरा देखाएर गुनासो गर्दा होटल सञ्चालकको व्यवहार झन् तीतो बन्यो। “गल्ती भएछ, अर्को खाना ल्याउछु भन्ने साटो उल्टै धम्की दिए – ‘फोटो खिच्छस्? मोबाइल फुटाइदिन्छु! पैसा फिर्ता हुँदैन, जे गर्न सक्छस् गर’ भन्ने शब्द प्रयोग गरे,” शर्माको भनाइ छ।

    यात्रुहरू बसमा फर्केपछि समेत एउटै प्रश्न गरिरहेका थिए –

    “किन यस्तो होटलमा रोकियो?”

    “हामीसँग यस्तो व्यवहार किन?”

    बस स्टाफलाई भने विशेष खाना

    बसका कर्मचारी भने अलग कोठामा राम्रो खाना खाँदै थिए। यात्रुहरूलाई अस्वस्थ र अपमानजनक व्यवहार सहन बाध्य पारिनु दुःखद भएको उनले उल्लेख गरेका छन्।

    बस कम्पनीलाई आग्रह

    शर्माले सुपा देउराली टूर एण्ड ट्राभल्स लाई विनम्र तर दृढ शब्दमा आग्रह गरेका छन् –

    “तपाईंहरूको सेवा सिट मात्र होइन, यात्रुको स्वास्थ्य, आत्मसम्मान र सम्मानसँग जोडिएको हो। कृपया ‘होटल मेचि महाकाली’ जस्ता होटलमा बस नरोकिनुहोस् – जहाँ खाना गुणस्तरहिन छ, व्यवहार झनै तीतो।”

    “हामी सम्मानका हकदार हौं”

    अन्त्यमा उनी लेख्छन्, “हामी घर फर्कंदै गरेका थकित मान्छे, तपाईंकै सेवाग्राही। हामीले खोजेको केवल भात, दाल र तरकारी मात्र होइन – त्यो थालसँगै आउने थोरै आदर, थोरै शिष्टता पनि हो। हामी अपराधी होइनौं, हामी यात्रु हौं।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij