आदरणीय अभिभावकज्यूहरू,
कान्ति मावि, बुटवल शिक्षा क्षेत्रको एउटा उज्यालो दीप हो, जहाँ हामीले आफ्ना सन्तानको उज्वल भविष्यको सपना देखिरहेका छौँ । यही उज्यालो यात्रामा आज एक स्वतन्त्र, इमान्दार र जनताको पक्षमा निरन्तर खटिरहने रामकृष्ण शर्मा विद्यालय व्यवस्थापन समितिको अभिभावक प्रतिनिधिका रूपमा तपाईंहरूको अमूल्य भोट र समर्थनका लागि प्रस्तुत हुनु भएको छ ।
रामकृष्ण शर्मा केवल एउटा व्यक्ति मात्र होइन, त्यो एउटा सामाजिक रुपान्तरणको पक्षमा खटिरहने समाजसेवी हो । जनतामा सचेतना फैलाउने प्रगतिशील चेतनाको साझा नेतृत्व हो । पर्वत जिल्लाका डाँडाकाँडा हुँदै रुपन्देहीको समथर भूमिमा उहाँले शिक्षा र समाज रुपान्तरणका क्षेत्रमा पाइलाहरू सशक्त रूपमा अगाडी बढ्दै आउनु भएको छ । उहाँले सञ्चार क्षेत्रमा समेत योगदान गर्दै आउनु भएको छ ।
इतिहास साक्षी छ, जब राष्ट्र अँध्यारोमा डुबेको थियो, उहाँ बन्दुकको गोलीसँग समेत नडराई जनताको पक्षमा अविचलित भएर उभिनुभयो । आज जनताको सेवा गर्न अविश्रान्त खटिरहनुभएको छ । उहाँ कलम र विचारको शक्तिमा विश्वास राख्दै शिक्षामा पारदर्शिता, जनसहभागिता र अभिभावकहरूको आवाज बुलन्द गर्न समर्पित हुनुहुन्छ । नेपालकै प्रतिष्ठित सामुदायिक विद्यालय कान्ति माविमा अध्ययनरत हजारौं बिद्यार्थीहरुको उज्जवल भविष्य, शैक्षिक प्रतिष्ठा कायम राख्न र उन्नयनका लागी उहाँको उपस्थिति अनिवार्य छ । यसका लागी उहाँले आफ्नो उम्मेदवारी दिनुभएको छ ।
म उहाँलाई नजिकबाट चिनेको छु । पर्वत–रुपन्देही विद्यार्थी सम्पर्क समाजको अध्यक्ष रहँदा मैले उहाँको नेतृत्व क्षमताको प्रत्यक्ष अनुभव गर्न पाएको छु । पर्वत सेवा समाज रुपन्देही होस् वा विविध सामाजिक अभियानहरू — जहाँ अन्यौल थियो, उहाँले सहमति ल्याउनुभयो; जहाँ विभाजन थियो, उहाँले एकता गाँस्नुभयो ।
उहाँको स्पष्ट भिजन छ — विद्यालयलाई अभिभावकमैत्री, जनउत्तरदायी, र गुणस्तरीय शिक्षाको केन्द्र बनाउने । उहाँसँग दृढ संकल्प छ — सिर्जनशील विद्यार्थी, सजग शिक्षक र सम्मानित अभिभावकको त्रिकोणीय समन्वय निर्माण गर्ने । हामीसँग सुवर्ण अवसर छ — यस्तो स्वतन्त्र र निडर प्रतिनिधिलाई विजय गराउने । विद्यालयको पूर्वाधारलाई थप व्यवस्थित बनाउने, शिक्षण सिकाईलाई आधुनिक प्रविधिसित जोड्ने, प्रयोगात्मक सिकाईलाई जोड दिने, पुस्तकालयलाई थप व्यवस्थित गर्ने । विद्यालयलाई बिद्यार्थी र अभिभावकमैत्री बनाउने ।
त्यसैले, म सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछु — हाम्रो भोट केवल एउटा मत होइन, शिक्षामा हाम्रो स्वाभिमान र अधिकारको हस्ताक्षर हो ।
आउनुहोस्, रामकृष्ण शर्मालाई अत्यधिक बहुमतले विजयी गराऔँ । उहाँ भन्नुहुन्छ — “म निर्णय गर्ने छैन, म तपाईंहरू सँग निर्णय गर्नेछु ।” शुभकामना !
हाम्रो मतले शिक्षामा नयाँ इतिहास लेखोस् । स्वतन्त्र अभिभावक प्रतिनिधिका रूपमा रामकृष्ण शर्मालाई विजयी बनाऔँ ।
सुमन प्रसाद अधिकारी
पूर्व अध्यक्ष, पर्वत–रुपन्देही विद्यार्थी सम्पर्क समाज
हाल : काठमाडौं
(लेखक अधिकारी नेपाल विद्यार्थी संघका नेता समेत हुन्)
