नयाँदिल्ली– भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नंबाला केशव राव उर्फ बसवराजु मोदी सत्ताद्धारा गत जेठ ७ गते (मे २१) मा हत्या भएको थियो ।
कथित ‘अपरेशन ब्ल्याक फरेस्ट’ अन्तर्गत छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा मोदी सरकारद्धारा उनको हत्या गरिएको हो । भारतीय गृहमन्त्री अमित शाहले बसवराजु सहित २७ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका छन् ।
महासचिव बसवराजुको हत्या विरुद्ध नेपालका कम्युनिस्ट पार्टीहरुले निन्दा गरेका छन् । नेकपाका महासचिव विप्लवले कमरेड बसवराजुको हत्या भारतीय साम्राज्यवादको कायरता भएको बताएका छन् । उनले कमरेड बसवराजुको हत्याको निष्पक्ष छानविन गर्न अन्तर्राष्टिय समुदाय र मानवअधिकारकर्मीको ध्यानाकर्षण गराएका छन् ।
यसरी हत्या विरुद्ध निन्दा गर्ने पार्टीहरुमा बिमल शर्मा नेतृत्वको नेकपा (मशाल), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक संयोजक सीपी गजुरेल, नारायण शर्मा नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टी, पूर्णसिंह नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, खेम थपलियाको नेतृत्वको अर्को मोर्चा, राष्टिय क्रान्तिकारी मोर्चा, नेपाल, दिनेश बर्टौला नेतृत्वको नयाँ जनवादी मोर्चा, नेपाल, प्रमोद धिताल संयोजक रहेको लेनिन स्मृति शतबार्षिकी समिति, दाङ आदि रहेका छन् ।
उनीहरुले यस घटनाबाट भारतीय माओवादीलाई पुगेको गम्भीर क्षतिप्रति दुःख व्यक्त गर्दै यसप्रकारको सम्झौताहीन क्रान्तिकारी संघर्षले क्रान्तिकारीहरुलाई थप उर्जा दिएको बताएका छन् ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका उपाध्यक्ष र प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक समस्याको समाधान दमनको तरिकाले नभई बार्ता र संवाद गरी द्धन्द्ध व्यवस्थापन गर्न जोड दिएको छ ।
बसवराजु भारतीय माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक थिए । उनको मृत्युलाई सन् २००४ पछि माओवादी आन्दोलनका लागि सबैभन्दा ठूलो क्षति भनिएको छ ।
बसवराजु वैचारिक, संगठनात्मक र सैन्य रणनीतिकारका रूपमा चर्चित थिए । उनको नेतृत्वमा भारतमा माओवादी आन्दोलनले लामो समय प्रभाव पारेको थियो ।
बसवराजमाथि भारतीय सरकारले १.५ करोड रुपैयाँको पुरस्कार तोकेको थियो । उनी भारतमा माओवादी आन्दोलनका शीर्ष नेता हु्न् ।
