२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
  • समाचार
  • वैदेशिक रोजगारीको पीडा : दैनिक चार...
समाचार

वैदेशिक रोजगारीको पीडा : दैनिक चार जनाको शव भित्रिँदै

वैदेशिक रोजगारीको पीडा : दैनिक चार जनाको शव भित्रिँदै

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव भित्रिएको हो । यो तथ्याङ्क अनुसार प्रत्येक महिना १२२ जना र दिनमा चार वटा शव नेपाल भित्रिन्छ ।

शनिवार, जेठ १८ २०८२
शनिवार, जेठ १८ २०८२
  • काठमाडौँ : वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये औसतमा दिनको चार जनाको शव भित्रिने गरेको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव भित्रिएको हो । यो तथ्याङ्क अनुसार प्रत्येक महिना १२२ जना र दिनमा चार वटा शव नेपाल भित्रिन्छ । 

    तथापि यो सङ्ख्या वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएर करार अवधिभित्र रोजगारीका क्रममा ज्यान गुमाएर बोर्डबाट आर्थिक सहायता लिनेको मात्र हो। 

    भ्रमण भिसामा गएका र करार अवधि सकिएर पनि विदेशमै काम गरिरहेको अवस्थामा ज्यान गुमाउनेको सङ्ख्या यसमा पर्दैन तर त्यसको पनि नतिजा उस्तै रहेको बताइन्छ, आधिकारिक तथ्याङ्क भने भेटिँदैन । 

    बोर्डका अनुसार गत आर्थिक वर्ष २०८/८१ मा एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए। चालु आवको १० महिना र गत आवको तथ्याङ्क विश्लेषण गर्दा चालु आव वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या बढ्ने देखिन्छ। वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको ठुलो सङ्ख्या मध्यपूर्वका (खाडी) र मलेसियामा काम गर्ने श्रमिक छन् । अन्यमा दक्षिण कोरिया, जापान, युरोपेली देशलगायत छन् । 

    बोर्डका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या खाडी र मलेसियामा बढी भएकाले मृत्यु हुनेको सङ्ख्या पनि तिनै देश जानेहरू बढी भएको जानकारी दिनुभयो। 

    बोर्डका अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवार र अङ्गभङ्ग भएर फर्किएकालाई आर्थिक सहायतास्वरूप ५८ करोड रुपियाँ भुक्तानी गरिसकिएको छ भने ८८ करोड रुपियाँ भुक्तानीको क्रममा छ। बोर्डले आर्थिक सहायता वितरणका आधारमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको सङ्ख्या यकिन गर्दै आएको छ। 

    बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएका परिवारका सदस्यलाई यसअघि सात लाख रुपियाँ दिँदै आएकामा गत मङ्सिरदेखि प्रति मृतक परिवार दस लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

    विदेशमा हुने मृत्युमध्ये सबैभन्दा बढी बिरामी हुनुलाई कारण देखाइएको छ । यसपछि आत्महत्या र प्राकृतिक मृत्यु उल्लेख गरिएको छ । अत्यधिक गर्मीका कारण पनि मृत्यु हुने गरेको बताइएको छ । कार्यस्थलमा दुर्घटना, हृदयाघात, सडक दुर्घटना, क्यान्सर, मिर्गौला फेल आदिका कारण नेपालीको मृत्यु हुने गरेको बोर्डले जनाएको छ। एक सयभन्दा बढीको मृत्युको कारण पत्ता लाग्न नसकेको पनि बोर्डले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij