हामी यो देशका गणतन्त्रवादीहरु हौं । हाम्रा अग्रजहरुले देखिएको यात्रामा हामी अहिले गणतन्त्रमा आइपुगेका छौं । हामी नेपाली जनता गणतन्त्र प्राप्त गरेका जनता हौं । हामी गणतन्त्रप्रति गौरव गर्न चाहन्छौं । हामी २१ औं शताब्दीमा बलिदान गर्ने योद्धाहरु हौं । गणतन्त्र आएपछि केही मान्छेहरुको उठिबास भएको छ । हामीले सामन्तवाद र दलाल पुँजीवादको विरुद्ध लडेका हौं । हामीले यसलाई परास्त गरेर गणतन्त्रमा आएका हौं । आज आफ्नो स्वर्गको आनन्द ढलेका बचेखुचेका तत्वहरुले गणतन्त्र विरुद्ध षड्यन्त्र गरेको छ । गणतन्त्रले सबैलाई अधिकार दिएको छैन त्यो हामीलाई थाहा छ । तर हामीले चुनौति दिन चाहन्छौं–नेपालमा सामन्तवादी प्रवृत्तिको खाँचो छैन । हामीलाई दलाल पुँजीवाद खप्न गाह्रो भइरहेको छ । आज दलाल पुँजीवादीहरुले गणतन्त्र कब्जा गरेका छन् । हामीले त्यो फ्याँक्न चाहन्छौं ।
आज देश यात्रा पश्चगमनतिर होइन । अग्रगमनतिर जान चाहन्छ । आज हामी पश्चगमन, यथास्थिति र अग्रगमनको त्रिबाटोमा आइपुगेका छौं । देशमा सुकुम्बासी समस्या समाधान भएको छैन । उनीहरु रोइरहेका छन् । गणतन्त्रमा उनीहरुसित ओट लाग्ने ठाउँ छैन । हाम्रा दिदीबहिनीहरुको आँसु रोकिएको छैन । मानवतस्करी गरिरहेको छ । दलालहरु संसदमा वेश्यालय खोल्ने बहस गरिरहेको छ । त्यसको पीडा हामीलाई राम्रोसित थाहा छ । किसानहरु चर्को ब्याजबाट पीडित छन् । किसानले मल बिउ सहुलियत पाएका छैनन् । मजदुरहरुले ज्याला पाउन सकेका छैनन् । शिक्षकहरुको हुर्मत लिइएको छ । मध्यमबर्ग टाँट पल्टिएको छ । घरजग्गा लिलाम भइरहेको छ । बुद्धिजीवीहरुलाई अपमान गरिरहेको छ । युवा बिद्यार्थीहरु विदेश जान बाध्य पारिएको छ र अमेरिकाले नेपालीलाई बाँधेर पठाएको छ । जनजातिलाई अधिकार दिइएको छैन । जनजातिमाथि दमन गरिएको छ, गोली चलाइएको छ । कर्मचारीहरुको मनोबल घटाइएको छ । यसको मतलब के नेपाली सामन्तवादमा फर्किन तयार छ ? नेपालमा किन राजतन्त्र फर्किन सम्भव छ ? सम्भव छैन ।
ढाईसय बर्षको राजतन्त्र कस्तो थियो ? तपाई हामीलाई थाहा छ । सामन्तवादमा बोल्न पनि पाइदैनथ्यो । दलितहरुमा माथि दलनको पीडा अहिले पनि छ । यसको समाधान राजतन्त्र होइन । नवराज सुवेदीहरुले देशको समाधान गर्न सक्दैनन् । राजावादीहरु कुनाबाट फ्याउँ फ्याउँ गर्दैछन्, उनीहरु गेरुबस्त्र लगाएर षडयन्त्र गर्दैछन् । यो नेपालको राजनीतिको प्रहसन हो । माक्र्सले एकपटक भनेका थिए–इतिहास दुईपटक दोहोरिन्छ, एकपटक प्रहसन र अर्को दुखान्त । राजावादीहरुको अवस्था दुखान्त हुन्छ । गणतन्त्रले समस्या समाधान गरेको छैन, त्यो हामीलाई थाहा छ, यसको विकल्प भनेको त्यो समाजवाद हो । यथास्थितिको भूमरीमा अलमलिने कि अगाडी जाने ? त्यो नेपाली जनताले रोज्नुपर्छ ।
इतिहासमा ठूला–ठूला कमजोरी भइरहेको छ । अहिले राजावादीको आन्दोलनलाई कमजोर ठान्नुहुँदैन । पश्चगमनहरुको षड्यन्त्रलाई कमजोर ठान्नुहुँदैन । विश्व भूराजनीतिको प्रभाव समेत नेपालमा परिरहेको छ । नेपाली जनता सचेत हुनुपर्छ । यसको समाधान गर्न नेपाली जनता सक्षम छ । यो समस्याको समाधान अग्रगमन हो । देशमा नयाँ विकल्प छ । कसैपनि हैरान भएर विचलन भएर पछाडी फर्किनुहुँदैन । नेपाली विशेषताको समाजवाद जनताको उज्यालो भविष्य हो । यसले किसान, मजदुर, विद्यार्थी, मधेश, पहाडको समस्या समाधान गर्नेछ । नेपाली जनता विचलित हुनुहुँदैन । ढलेको ध्वस्त भएको राजतन्त्र फर्केर हुँदैन । श्वेत अराजकतावादीहरुको हल्लाबाट विचलित र भ्रमित हुनुपर्दैन । आजको विकल्प भनेको समाजवाद नै हो । हामी कसैको गुलाम बन्न तयार छैनौं । हामी दुईछाक खानका लागी आफ्नै भूमिमा मेहनत गर्न तयार छौं । नेपाली जनता प्रतिगमनको पक्षमा छैनन्, हामी एकताबद्ध भएर अगाडी बढौं । नेपाली जनताको जीतलाई कसैले रोक्न सक्दैन ।
(समाजवादी मोर्चाद्धारा आयोजित विशाल जनसभामा व्यक्त विचार संक्षेप)
