गणतन्त्र पनि जनताको बन्न नसक्नु नै अहिलेको मुख्य असन्तुष्टिको कारण हो । जनतामा अधिकार हस्तान्तरित नहुनु, संविधान नै विवादमा पर्नुले पनि त्यसको पुष्टि गर्छ । राज्यका उपल्लो निकायमा उत्पीडित जाती, समुदाय, किसान, मजदुरको प्रतिनिधित्व अझै हुन सकेको छैन । समानुपातिक, समावेशीले जनताको तहमा केही विषय सम्बोधन गरिए पनि त्यतिले मात्रै जनता सन्तुष्ट छैनन् ।
त्यसो हुँदा र आर्थिक क्षेत्र सङ्कटमा पर्दै जाँदा नेपाली समाज ठुलो अराजकतामा परेको छ । यो वस्तुगत कारण हो । यही कारण व्यवस्था हस्तान्तरणको प्रक्रियामा हारेका वर्गहरू उत्तेजित हुन्छन् । यो नेपालमा मात्रै होइन, संसारभर भइरहेको छ ।
नेपाली समाजमा अहिले मूलतः तीन वटा रूपबाट बहस चलिरहेको छ । यो व्यवस्था चलेन, अस्थिर भयो, हरेक वर्ष हामीले आर्थिक बोझ थपिरहनु पर्ने र सरकार भने ढल्ने, बन्ने, प्रदेशहरूको अवस्था त्यस्तै हुने, स्थानीय सरकारलाई प्रभाव पर्ने, कर्मचारीहरू शान्त ढङ्गले काम गर्न नसक्ने, सुरक्षा प्रणालीमा बाधा पार्ने, सुरक्षा अधिकारी पनि शान्त ढङ्गले काम गर्न नपाउने, उद्योग क्षेत्र प्रभावित पर्ने अवस्था छ । यसले यो व्यवस्था चलेन भन्ने कुरामा एकमत देखिन्छ । तर, निकास के हो भन्ने कुरामा एकमत हुन सकेको अवस्था छैन । त्यहीभित्र एउटा प्रवृत्ति पश्चगमनतिर या राजतन्त्र विकल्प हो भनेर आइरहेको देखिरहेका छौँ ।
राजतन्त्र विकल्प हो भन्ने कुरा नौलो होइन । यो नेपाली समाजमा निरन्तर चल्दै आएको सङ्घर्षकै रूप हो ।
अलिक बढी आलोचनात्मक राजनीति हावी पनि छ नेपालमा । त्यही बेला आफ्नो अवसर छोप्ने गरी राजावादीहरू अगाडि आएको देखिन्छ । यसो हेर्दा मन्दिरमा गएजस्तो पनि देखिन्छ । त्यो पनि राजनीतिक संस्कृतिसँग जोडिएको छ । पूर्वराजाले त्यही आवरणमा राजनीतिलाई अगाडि सारेको पनि देखिन्छ । कतिपयलाई हो कि के हो भन्ने भ्रम पनि परेको देखिन्छ । तर, त्यो नेपाली समाजको चुनौती हो, विकल्प होइन । राजतन्त्र नेपाली समाजको विकल्प होइन भन्ने कुरा विगतको इतिहासले पनि पुष्टि गरेको छ ।
गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नु नै आजको आवश्यकता हो । यो नै सबैले सोचिरहेको पनि देखिन्छ । देश पनि यतै जान्छ । राजतन्त्र आउने भनेको दुर्घटनामात्रै हो । त्यो भए पनि सफल हुँदैन । त्यस विषयमा हामी धेरै तर्सिनुपर्ने अवस्था पनि छैन । छोडिहाल्नु पनि हुँदैन । जनतालाई हामीले सचेत बनाउनु पर्छ । हामीले समाजवादी मोर्चामार्फत त्यो अपिल पनि गरेका छौँ र नियमित कार्यक्रम पनि गरिरहेका छौँ । चैत १५ गते हामीले काठमाडौँमा कार्यक्रम पनि गर्दैछौँ । यो पूर्वराजाको गतिविधिविरुद्धको भन्दा पनि जनतालाई समाजवादबारे बुझाउने अभियानकै रूप हो ।
अहिले देशका गणतन्त्रवादी शक्तिहरू कुनै न कुनै हिसाबले सक्रिय भएको पाएका छौँ । फरक–फरक ढङ्गले पार्टीहरू लागिरहेकै छन् । त्यसकारण आज पनि नेपाली समाजको मूल प्रवृत्ति भनेको समाजवादी गणतन्त्र नै हो । त्यसमा पनि कम्तीमा गणतन्त्रको रक्षा नै हो । त्यस विषयमा जनता प्रतिबद्ध छन् ।
(नेकपाका महासचिव विप्लव सीको रातोपातीमा पत्रकार अर्जुन आचार्यले लिएको अन्तरवार्ताको सम्पादित अंश)
Link- https://www.ratopati.com/story/479901/republic-or-monarchy-let39s-hold-a-referendum-biplav
