२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--5154

मगर समुदायले टुँडिखेलमा माघे सकराती मनाउने

मगर समुदायले टुँडिखेलमा माघे सकराती मनाउने

शुक्रवार, पौष २९ २०७९
शुक्रवार, पौष २९ २०७९
  • बुटवल ।आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंमा ३ दिने माघे साकराती राष्ट्रिय चाड मनाउने तयारी गरेको छ । नेपाल मगर संघले काठमाडौंको टुँडिखेलमा पुस २९, ३० र माघ १ गते माघे साकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव मनाउने तयारी पूरा भएको नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिए ।

    उनका अनुसार मौलिक संस्कृतिलाई थप प्रवर्द्धन गर्न माघे साकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको रुपमा मनाउन लागिएको हो ।महोत्सवमा यसपटक ‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे साकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नारा तय गरिएको छ । यसका साथै मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान–प्रदान महोत्सवमा रहने नेपाल मगर संघ केन्द्रीय समितिले जनाएको छ । साथै माघ १ गते मौलिक झाँकीसहित १० बजे भृकुटीमण्डपबाट र्‍याली सुरु हुनेछ ।

    नेपालको प्राय: सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे साकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने साकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैंस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।

    माघे साकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाइहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौं पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिंडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार हो ।

    यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पीङ खेल्ने आदि गरिन्छ । सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइ सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij