मकवानपुर। अमेरिकी सहयोग परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रघाती सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टी सहित पाँच दल र एक मोर्चाको संयुक्त केन्द्रिय योजना अनुरुप घोषणा गरिएको नेपाल बन्द मकवानपुरमा पनि सफल भएको छ।
आजको बन्द सफल बनाउन नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सहित अन्य आठ दल र दुई मोर्चा संयुक्त रूपमा सडकमा उत्रिएका थिए।
राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयुक्त मोर्चा आज बिहानै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको सम्पर्क कार्यालय हेटौँडा-१, जरुवतोलबाट निस्केको थियो। नेपाल बन्द सफल पार्न सडकमा उत्रिएको संयुक्त मोर्चाले होटल, व्यापार, व्यवसाय, सवारी साधन सबै बन्द गरेको थियो।
बन्दको अबज्ञा गर्दै सवारी चलाउने चालक र बन्दकर्ता बीच हेटौंडाको राप्तिरोडमा झडप भएको छ। झडपमा हात हालाहाल समेत भएको छ। दुई पक्ष बीच भएको झडप पुलिस प्रशासन द्वारा मिलाइएको हो। झडपमा कुनै पक्षलाई चोटपटक भने लागेको थिएन।
बन्द गर्ने क्रममा हेटौँडा-१९, बस्तीपुर स्थित महेन्द्र राजमार्गको सडक खण्डमा बन्दकर्ताले जेब्राक्रसिङ पनि बनाएको छ। बन्दको समयमा सडक खाली भएको मौका पारी जेब्राक्रसिङमा सेतो रङ लगाई मर्मत गरिएको हो।
बिहान छ बजेदेखि साँझ पाँच बजेसम्म भएको नेपाल बन्दको अन्तिम समयमा कोणसभा गरिएको हो। एमसिसी विरुद्ध गरिएको नेपाल बन्दमा उत्रिएको संघर्ष समितिको संयुक्त मोर्चाको बुद्ध चोकमा कोणसभा गरिएको हो।
कोणसभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन लगायत अन्य दलका नेतृत्वहरुले आफ्नो विचार सहित मन्तव्य राखेका हुन्।
