२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न...
--3445

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

मंगलवार, माघ ११ २०७८
मंगलवार, माघ ११ २०७८
  • काठमाडौं । संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ ।

    मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताले यस्तो माग गरेका हुन् । विद्यार्थी संगठनका नाममा आन्दोलन गरिरहेका आठ विद्यार्थी संगठनले जनकपुरको युथ क्याम्पसको खारेज गरिएको सम्बन्धन भने फिर्ता गर्न माग गरेका छन् ।

    नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ, अखिल नेपाल विद्यार्थी युनियनलगायत संगठनमा आबद्ध विद्यार्थीहरूले मेडिकल कलेजका विद्यार्थीलाई अन्याय भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

    चिकित्सा शिक्षा अध्ययनका लागि ०७८ को नयाँ भर्ना गर्ने क्रममा नोबेल र केएमसीले प्रतिव्यक्ति झन्डै पाँच लाख बढी रुपैयाँ उठाएको, ऐच्छिक छात्रवासलाई अनिवार्य गरेको र कलेजको नेतृत्वसँग कुरा गर्दा विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई देखाएर पन्छने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।

    नेविसंघ महामन्त्री युवराज पाण्डेका अनुसार कलेज प्रशासनले माग पूरा गर्ने छाँट नदेखाएपछि विद्यार्थी संगठनहरू उपकुलपतिको ध्यानाकर्षण गराउन पुगेका हुन् । “विद्यार्थीहरूको माग सम्बोधन गराउने र आन्दोलन अन्त्य गराउने बारेमा उपकुलपति थापा सकारात्मक देखिनुभएको छ,” महामन्त्री पाण्डेले भने ।

     विश्वविद्यालयको ध्यानाकर्षण गराएका विद्यार्थी संगठनहरूले आफ्नो आन्दोलनमा ऐक्यबद्धता र सहभागिताका निम्ति नागरकि समाज र अभिभावकलाई अपिल गरेका छन् ।

    “यो मेडिकल शिक्षाको सुधार र मेडिकल माफियाविरुद्धको आन्दोलन पनि भएकाले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायत सबैमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ,” आठ विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल, विप्लव विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैटौँका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले विज्ञप्तिमा हस्ताक्षेर गरेका छन् ।

    नेविसंघ अध्यक्ष ढुंगानाको भने कांग्रेस विधानानुसार कांग्रेस केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँग पद रिक्त भइसकेको छ । तर पनि उनले विद्यार्थी संघको अध्यक्षका रूपमा हस्ताक्षर गर्दै आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij