प्रकाश थापा । बझाङ । स्थानीय निकायमा भ्रष्टाचारीहरु नेकपाको निशानामा परेका छन् । केहीदिन अगाडी जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ६ का अध्यक्ष रामबहादुर केसीलाई कारवाही गरेसँगै फेरि सोमबार बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकाका वडा नं. ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कारवाही गरेको छ ।
नेकपा निकट अखिल (क्रान्तिकारी)बझाङद्वारा अध्यक्ष मल्ल र वडा सचिव अवस्थीलाई कारवाही गरेको हो । उनीहरुले वडामा आएको लाखौं रकम भ्रष्टाचार गरेको र विकास निर्माणका कामहरूमा कमिशन खाएको आरोप लगाएको छ । यसअघि नेकपाले उनीहरुलाई सचेत बनाउदै आएको थियो ।
भ्रष्टहरुविरुद्ध नेकपाले देशव्यापी संघर्ष गर्ने बताएको छ । चुनाव नजिकै जाँदा जनप्रतिनिधिहरुले स्थानीय निकायमा चरम भ्रष्टाचार गरेको, सेवाग्राहीलाई दुख दिएको र सरकारी निकायमा पार्टी कार्यकर्ता भर्ती गरेको नेकपाले आरोप लगाउदै आएको छ ।
अखिल(क्रान्तिकारी) बझाङले एक प्रेस विज्ञप्ती अध्यक्ष मल्ल र वडा सचिव अवस्थीलाई कालोमोसो सहित जुत्ताको माला लगाई जनकार्बाही गरेको जनाएको छ मौसमको कारण ढिलागरी प्राप्त भएको सुचना अनुसार जिल्ला इन्चार्ज शंकर खाती र अध्यक्ष कमल थापाको संयुक्त वक्तव्य जारी गरेका छन् ।
यस्तो छ कारबाही गर्नुका कारण –
१) १करोड ५० लाखको खानेपानी योजना धारा निर्माण, पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्वाला नदिई कमिशन खाएर बजेट पास गरेको ।
२) सडक बनाउदा कमिसन दिने मान्छेलाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको रोड बनाउदा अनावश्यक दुई ठाउँबाट कटिङ गरी १० लाख हिनामिना गरेको र वडामा व्यवस्थापनको नाममा वर्षेनी ३ लाख ५० हजार हिनामिना गरेको ।
३) मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षको लाखौं पैसा कागज मिलाएर वडा सचिव र वडा अध्यक्षले हिनामिना गरेको ।
४) वडा कार्यलयको सवारी साधनमा नम्बर पेलेट चेन्ज गरी व्यापारीको जाँड रक्सी ढुवानी गर्ने गरेको ।
५) सेवाग्राहीले सुचना हक अन्तर्गत रहेर सुचना माग्दा सुचना नदिने, गुनासो गर्दा सेवाग्राहीलाई धम्की दिने गरेको ।
६) हाम्रो पार्टीको न्यायपुर्ण आन्दोलनलाई जथाभावी भण्डाफोर गर्दै आफ्नो पदीय मर्यादा ख्याल नगरि पार्टी बिरूद्व सुराकी गरेको ।
७) पर्यटकीय स्थलका नाममा आफ्ना पितरका मन्दिर मात्र बनाएका काम गर्ने मजदुर पनि आफ्ना घरका मात्र मजदुरी गराएको ।

