बुटवल । सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामकृष्ण शर्माले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता हुने सुनिश्चितता सरकारले गर्नुपर्ने बताएका छन्।
संस्थाको १६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सहकारीको नाममा सर्वसाधारणको बचत दुरुपयोग गर्ने र रकम हिनामिना गर्नेहरूलाई कडा कानुनी कारबाही गर्नुपर्ने बताए। उनले केही सहकारीमा भएका अनियमितताका कारण इमानदारीपूर्वक सञ्चालन भइरहेका सबै सहकारीलाई एउटै दृष्टिले हेर्न नहुने धारणा राखे।
शर्माले मुलुकमा लगानीको वातावरण निर्माण हुन नसक्नु र आर्थिक गतिविधि चलायमान नहुनु राज्यको नीतिगत तथा कार्यान्वयनगत कमजोरीसँग जोडिएको बताए। अर्थतन्त्रलाई गतिशील बनाउन लगानीमैत्री वातावरण, पुँजी परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
उनले सिरसिरे सहकारीलाई सदस्यहरूको विश्वास जित्ने, सुरक्षित बचत र जिम्मेवार ऋण परिचालन गर्ने तथा सदस्यहरूको प्राथमिकतामा पर्ने संस्थाका रूपमा विकास गर्ने उद्घोषसमेत गरे।
करिब ४ सय शेयर सदस्य रहेको सिरसिरे सहकारीको शेयर पुँजी ६४ लाख रुपैयाँ रहेको छ। अध्यक्ष शर्माले संस्थाको वित्तीय अनुशासन, पारदर्शिता र सदस्यकेन्द्रित सेवालाई प्राथमिकता दिँदै सहकारीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरे।
