बुटवल, असार १९ । नेपाल डेरी एसोसिएसनले डेरी उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्दै उत्पादन लागत घटाउने, निजी डेरी उद्योगलाई समान व्यवहार गर्ने तथा दुग्ध क्षेत्रमैत्री नीति अविलम्ब लागू गर्न सरकारसँग माग गरेको छ।
एसोसिएसनको तेस्रो केन्द्रीय कार्यसमिति बैठकको अवसरमा शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष प्रह्लाद दाहाल ले नेपालको दुग्ध क्षेत्रले लाखौं किसानको जीविकोपार्जन, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याइरहेको भए पनि नीतिगत अस्पष्टता र सरकारी बेवास्ताका कारण उद्योग संकटतर्फ उन्मुख हुँदै गएको बताउनुभयो।
उहाँका अनुसार नेपालमा दैनिक करिब ७५ लाख लिटर दूध उत्पादन हुने अनुमान छ। त्यसमध्ये करिब ३८ लाख लिटर दूध बजारमा आउने गरेको छ भने औपचारिक रूपमा प्रशोधन तथा प्याकेजिङ हुने दूधको हिस्सा करिब १७ प्रतिशत मात्र रहेको छ। डेरी क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार जनाले रोजगारी पाएका छन् भने करिब ६ लाख किसान परिवार आफ्नो जीविकोपार्जनका लागि यस व्यवसायमा निर्भर छन्।
अध्यक्ष दाहालले उत्पादन लागत निरन्तर बढ्दै गएको, पशुपालनको लागत महँगो भएको, दुग्धजन्य पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट), विद्युत् महसुल तथा उद्योगमा प्रयोग हुने मेसिन र उपकरणमा भन्सार शुल्कले निजी डेरी उद्योगलाई थप मारमा पारेको बताउनुभयो। उहाँले उत्पादन लागत घटाउने नीति, पशुपालकलाई प्रोत्साहन, दुग्धजन्य पदार्थमा लाग्ने भ्याट हटाउने, विद्युत् महसुलमा सहुलियत, उद्योगका लागि आवश्यक मेसिन तथा उपकरणमा भन्सार छुट तथा निर्यात प्रवर्द्धनका लागि प्रभावकारी नीति ल्याउन सरकारसँग माग गर्नुभयो।
उहाँले सरकारी, सहकारी र निजी डेरी उद्योगबीच कुनै प्रकारको विभेद नगरी समान अवसर र समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै स्वस्थ प्रतिस्पर्धाले मात्र दुग्ध क्षेत्रको दिगो विकास सम्भव हुने बताउनुभयो।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पछिल्लो समय अनुगमनका नाममा वास्तविक तथ्यभन्दा फरक सन्देश प्रवाह हुँदा उपभोक्तामा अनावश्यक संशय उत्पन्न भएको टिप्पणी गर्नुभयो। अनुगमन वैज्ञानिक परीक्षण र तथ्यका आधारमा हुनुपर्ने उल्लेख गर्दै उहाँले सञ्चारकर्मीहरूलाई पनि आधिकारिक तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। अपुष्ट वा एकपक्षीय समाचारले किसान, उद्योगी र उपभोक्ता सबैमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।
यसैबीच, बुटवलमा सम्पन्न एसोसिएसनको तेस्रो केन्द्रीय कार्यसमिति बैठक ले आगामी पाँच वर्षका लागि रणनीतिक योजना तयार गर्ने, सदस्य विस्तार गर्ने, उद्योगको गुणस्तर अभिवृद्धि गर्ने, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय अध्ययन–अवलोकन भ्रमणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको जनाएको छ।
कार्यक्रममा एसोसिएसनका पदाधिकारीहरूले सरकारले दुग्ध क्षेत्रलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी उद्योग का रूपमा विकास गर्न स्पष्ट नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रप्रति समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका थिए।
अन्त्यमा नेपाल डेरी एसोसिएसनले सरकार, किसान, उद्योगी, सहकारी, उपभोक्ता तथा सञ्चारमाध्यमबीच सहकार्य र विश्वासको वातावरण निर्माण भए नेपालको दुग्ध क्षेत्रलाई अझ प्रतिस्पर्धी, आत्मनिर्भर र सशक्त बनाउन सकिने विश्वास व्यक्त गरेको छ।
