बुटवल । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
कपिलवस्तुस्थित नेपालकै प्रतिष्ठित ग्लोबल डेरी उद्योगका सञ्चालकसमेत रहेका न्यौपानेको नेतृत्वमा गठन भएको समितिको उपाध्यक्षमा कमलप्रसाद भुषाल, सचिवमा विजय सापकोटा र कोषाध्यक्षमा लेखनाथ भण्डारी चयन भएका छन् ।
यस्तै सह–सचिवमा लिलाराम भुषाल चयन भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, काशिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा चयन भएका छन् ।
यसअघि नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष मेधराज भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले मुलुकको अर्थतन्त्रमा डेरी उद्योगले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे । उनले अझै पनि किसानले उत्पादन गरेको सबै दूधले बजार नपाएकोप्रति ध्यानाकर्षण गराउँदै यस विषयमा राज्यले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी विशिष्ट अतिथि राष्ट्र बैंक भैरहवा कार्यालयका निर्देशक रमेश आचार्यले डेरी उद्योगीहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्न राष्ट्र बैंक तयार रहेको बताए ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले नव निर्वाचित कार्यसमितिलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
