कपिलवस्तुको गोरुसिंगेमा एमसीसीविरुद्ध संयुक्त विरोध सभा

अनिल थारु, कपिलवस्तु । कपिलवस्तुमा नेकपा सहित राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीद्वारा गोरुसिङ्गेमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सभा सम्पन्न भएको छ ।    
विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेता सुनिलले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै यसको खारेजीको विकल्प नभएको बताए । उनले यसका विरुद्ध सम्पूर्ण देशभक्तहरु एक हुनुपर्ने बताए । 
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको विरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य ज्ञानी रामपूरीले सम्बोधन गरेका थिए । 
उनीहरुले देशभन्दा ठूलो अमेरिका हुन नसक्ने बताउँदै यदि पास भएमा नेपाली जनताले ठूलो मूल्य चुकाउनुपर्ने बताए । उनीहरुले दलालहरुले अमेरिकाको पैसा खाइसकेको र लालपत्ता समेत दिइसकेको बताउँदै दलालहरुलाई जनताले खेद्नुपर्ने बताए । एमसीसी सम्झौता विरुद्ध नारा जुलुस लगाउँदै हजारौं जना प्रदर्शनकारीले गोरुसिङ्गे बजार परिक्रमा गरेका थिए । कार्यक्रमको सञ्चालन शिवराज नगर सेक्रेटरी पावेलले गर्नुभएको थियो ।