संसदमा एमसीसी टेबल गरेको विरोधमा पाल्पामा मसाल जुलुस

तानसेन । पाल्पाको सदरमुकाम तानसेनमा एमसीसी विरुद्ध मसाल जुलुस सम्पन्न भएको छ । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै पाल्पामा नेकपासहित ४ कम्युनिस्ट पार्टी र मोर्चाले मसाल जुलुस गरेको हो । 

संसदमा एमसीसी टेबल गरेको, संयुक्त संघर्षमा रहेका नेता कार्यकर्तामाथि सरकारले बर्बर दमन गरेको विरोधमा तानसेनको आन्दोलन चोकदेखि जिल्ला प्रशासनको गेटसम्म मसाल जुलुस प्रदर्शन गरेको नेकपा केन्द्रीय सदस्य एवं पाल्पा गुल्मी इन्चार्ज अपेक्षाले बताउनु भएको छ । उहाँले एमसीसी नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताविरुद्ध भएको भन्दै यसको खारेज गर्नुपर्ने बताउनु भएको छ । 

मसाल जुलुसपछि जिल्ला प्रशासन कार्यालय अगाडी भएको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले एमसीसी एमसीसी सम्झौता संसदमा टेबुल गरेर राष्ट्रघात गरेको बताउनुभयो । 

कोणसभाको सञ्चालन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं पाल्पा अध्यक्ष लंक राना मगरले गर्नुभएको थियो । 

पाल्पामा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, देजमोलगायतले एमसीसी विरुद्ध संयुक्त संघर्ष गर्दै आएको छ ।