साई ग्लोबल कप  : न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

भैरहवा, पुस १४ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनल प्रवेश गरेको छ ।

न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई एक सय रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । यस्तै, बिहीबारै भएको अन्तिम क्वाटरफाइनल खेलमा जेसिज उच्च माविलाई पराजित गर्दै साई ग्लोबल एकेडेमी ‘बी’ सेमफाइनल प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरको खेलमा ३ विकेटको नोक्सानीमा १ सय ५७ रनको योगफल बनायो । उसका लागि अमर मिश्राले ६७, प्रकाश गिरीले नटआउट ४८, संकेत भट्टराईले २२ र निश्चल ज्ञवालीले १० रनको योगदान दिए । बलिङमा शान्ति नमूनाका सागर भण्डारी र जय गोदारले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शान्ति नमूना १८ ओभर १ बलमा सबै विकेट गुमाएर ५७ रनमै समेटियो । उसका लागि कुनै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । निशान पाण्डेले सर्वाधिक ७ रन बनाए बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजनका निर्मल गुरुङले ४, अमर मिश्राले ३ तथा महेश भर र प्रकाश गिरीले १–१ विकेट लिए । होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भई पुरस्कृत भए ।

अन्तिम क्वाटरफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले ७ ओभर ३ बलमा सबै विकेट गुमाएर ३३ रन बनायो । मौसमका कारण १० ओभरमा छोट्याइएको उक्त खेलमा उसका लागि निश्चल चौधरीले सर्वाधिक ९ रन बनाए । बलिङमा साई ग्लोबलका मिर्नाल गुरुङ र मोहम्मद हुसेनले समान ३–३ तथा अभिषेक कोहाँरले २ र जयप्रताप यादवले १ विकेट लिए ।

प्रतिउत्तरमा साई ग्लोबलले ३ ओभर २ बलमा १ विकेटको क्षतिमा ३४ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल यात्रा पक्का गर्यो । उसका लागि मिर्नाल गुरुङले २१ र इमरान खानले नटआउट १३ रन बनाए । बलिङमा जेसिजका निश्चल चौधरीले १ विकेट लिए । साई ग्लोबलका मिर्नाल गुरुङ म्यान अफ द म्याच भई पुरस्कृत भए ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै,  प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।