स्थानीय निकायको चुनाव एकैचरणमा जेठ ४ गर्ने, आयोगले माग्यो १२ अर्ब बजेट

स्थानीय निकायको चुनाव एकैचरणमा जेठ ४ गर्ने, आयोगले माग्यो १२ अर्ब बजेट

बुटवल । जनमत संग्रहको चर्चा चलिरहेको बेला सरकारल २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । नेकपाले संसदीय व्यवस्थाबाट जनताका समस्या समाधान नहुने भन्दै यसको समाधान वैज्ञानिक समाजवादमा मात्र हुने त्यसका लागी जनमत संग्रहको तत्कालीन कार्यनीति लिएको थियो । निर्वाचन घोषणासँगै राष्ट्रिय राजनीति समेत धु्रव्रीकरण हुनेछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् । ‘सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बन्यो । प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्नुभएको छ, अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

स्थानीय निकायदेखि संघीय संसदसम्म भ्रष्टाचारले चरम सीमा नाघेपछि निर्वाचनप्रति जनताको वितृष्णा तीव्र रहेको छ । तर आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन । गत शनिबार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए ।

प्रधानमन्त्री देउवाले कानुनमा संशोधन नगरी जेठ ४ मै स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई छलफलका लागि बोलाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यताबमोजिम निर्वाचनको मिति तय गरिएको हो । निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ ।
आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ । ‘हामीले त वैशाख ३१ भित्र निर्वाचन गरौं भनेका हौं, तर जेठमा गर्ने भएपछि जेठ ५ भन्दा पछाडि जान सक्ने अवस्था छैन,’ स्रोतले भन्यो, ‘मितिबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ ।’

जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।