एकीकृत जनक्रान्ति : नयाँ कार्यदिशा र सिद्धान्त

१) सन्दर्भ

आज मुलुकमा अभूतपूर्व राजनीतिक सङ्कट देखापरेको छ । त्यो सङ्कट दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलता र बदनामी हो । सबै संसद्‌वादी राजनीतिक पार्टीहरू र व्यक्तिहरू पनि असफल, अक्षम र बदनाम भैसकेका छन् । राज्यसत्ता र सामाजिक रूपान्तरणका खातिर सञ्चालित जनसङ्घर्ष, जनआन्दोलन र महान् जनयुद्धको निर्णायक विजयभन्दा लेनदेनले इतिहासको पुनरावृत्ति भयो । विश्व–साम्राज्यवाद पनि सङ्कटमा छ । नयाँ रणनीति, कार्यनीति, भूगोल, स्वरूप र तरिकाको वैशाखीमा र वैज्ञानिक समाजवादको मुटु प्रत्यारोपण गरेर विश्व–साम्राज्यवाद बाँचिरहेको छ । विश्वको राजनीतिक, आर्थिक, सामरिकलगायत सन्तुलनमा परिवर्तन भइरहेको छ । आजको विश्व राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, सामरिक (सैन्य) लगायत दृष्टिले नितान्त नयाँ विशेषतामा छ । विज्ञान–प्रविधि मूलतः सूचना–प्रविधिमा अभूतपूर्व क्रान्ति भएको छ । यो क्रान्तिले अर्थतन्त्र, संस्कृति, आमसञ्चार, उत्पादन, वितरणप्रक्रिया र प्रकृतिमा नयाँ विशेषताहरू पैदा भइरहेका छन् । विश्व–मानव जाति एवम् मूलतः सर्वहारा श्रमिक वर्गलाई प्रज्वलित गर्न सफल कम्युनिस्ट घोषणापत्र अन्वेषण एवम् प्रक्षेपणको १७३ वर्ष, सर्वहारा वर्गलार्ई सर्वप्रथम सत्ताको मालिक बनाउन सफल तथा शिक्षा प्रदान गर्ने पेरिस कम्युनको १५० वर्ष, नयाँ ढङ्गले पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्तिको १०४ वर्ष र एसियाको विशाल भूमिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न विजयी चिनियाँ क्रान्तिको ७२ वर्षपछिको दुनियाँमा हामी खडा छौँ ।

२) चुनौती र सम्भावना

विश्वकम्युनिस्ट आन्दोलनको विगत गौरवशाली र शिक्षाप्रद् छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रदान गरेको छ । वर्तमानमा आत्मगत दृष्टिले यो केही चुनौतीपूर्ण रहे पनि वस्तुगत धरातलमा खडा भएर सुन्दर क्षितिज खुलिरहेको छ । वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सामरिक (सैन्य), प्राविधिकलगायत नयाँ विशेषताका दृष्टिले विश्व–साम्राज्यवाद विकसित हुनु, त्यसको प्रतिबिम्ब संशोधनवादको पनि नवसंशोधनवादमा महापतन हुनु, विशेषता एवम् सापेक्षताको समाजवादको नाम र कम्युनिस्ट आवरणमा भ्रम पैदा गर्नु, कम्युनिस्ट समाजवादका असल पक्षहरूलाई विश्व–साम्राज्यवादले नक्कल एवम् परिवर्तन गरेर लागू गर्नु, समाजवादी मुलुकहरूमा साम्राज्यवाद र संशोधनवादका कारण प्रतिक्रान्ति हुनु, माओको मृत्यु, मूलतः सन् १९७८ को भियतनाम क्रान्तिपछि विश्वमा कतै पनि कम्युनिस्ट क्रान्ति सफल नहुनु र विश्व–कम्युनिस्ट केन्द्र निर्माण हुन नसक्नु अन्तर्राष्ट्रिय चुनौती छन् । नेपालमा पनि कम्युनिस्ट आवरणमा सामाजिक दलाल पुँजीवादीहरू सत्तामा हुनु, फासिवादी दमनको रबैया अपनाउनु, सबै जनसङ्घर्ष, जनआन्दोलन र महान् जनयुद्धसमेत सम्झौतामा टुङ्गिनु, जनताले बारबार धोका खानु आदि चुनौतीहरू देखिन्छन् । अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवादी सङ्कट, बहुध्रुव, अन्तरविरोधहरू एवम् आर्थिक सम्बन्धमा परिवर्तन, स्वाधीन आन्दोलनमा विकास, सशस्त्र सङ्घर्ष एवम् क्रान्तिकारी आन्दोलनमा वृद्धि र आणविक शक्तिको विकासले प्रत्यक्ष युद्ध नभए पनि नयाँ स्वरूपका युद्धहरू देखापर्नुले नयाँ क्रान्ति विस्फोट हुने सम्भावना देखिन्छ । राष्ट्रिय रूपमा पनि दलाल पुँजीवादी सत्तामा चरम सङ्कट पैदा हुनु, त्यसले जनविरोधी तथा राष्ट्रघाती हकर्तहरू गर्नु, जनतामा व्यापक असन्तोष एवम् आक्रोश बढ्नु, जनताले सत्ताको विकल्प खोज्नु र एकीकृत जनक्रान्तिले क्रमिक विकास गर्नुले सुन्दर सम्भावनाको क्षितिज खुल्दै गइरहेको छ । पूर्वीयुरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा किन प्रतिक्रान्ति भयो ? माओको निधनपछि चार दशकसम्म क्रान्तिको ज्वाला बल्ने र निभ्ने किन भइरहेको छ ? कम्युनिस्ट पार्टीले श्रमिक वर्ग र उत्पीडित जनताको अग्रदस्ता बन्न, विषालु हावाका विरुद्ध सङ्घर्ष गर्न र विजय हासिल गर्न किन सकिरहेका छैनन् ? कुन कार्यदिशाले अहिलेको विश्व–साम्राज्यवादको समाधान दिन सक्छ ? प्रकृति (भौतिक) विज्ञान र प्रविधिमा भएको क्रान्तिलाई समाज विज्ञानमा कसरी दार्शनिकीकरण गर्ने ? यी तमाम प्रश्नहरूको जबाफ क्रान्तिकारीहरूले जीवन व्यवहारमा दिन जरुरी छ । स्टेफन हकिङले ‘विगतमा दर्शन र विज्ञान सँगै थियो तर आज अलग–थलग हुन पुगेको छ । दर्शनले समाजका समस्याहरूलाई विज्ञानसम्मत ढङ्गले समाधान दिनसकेको छैन’ भन्ने संश्लेषण गर्दै सामान्य सापेक्षता तथा क्वान्टम यान्त्रिकीको अनिश्चितता सिद्धान्तलगायतलाई भौतिक विज्ञानको एकीकरण गरेका छन् । हकिङले विद्युत् चुम्बकीय बल, कमजोर आणविक बल र बलियो आणविक बललाई समायोजन गर्ने सिद्धान्त बृहत् एकीकृत सिद्धान्तको खोज गरेर भौतिक विज्ञानमा मात्र होइन, समाज विज्ञानमा पनि महत्वपूर्ण योगदान गरेका छन् । यसैको जगमा उभिएर भौतिक विज्ञानका नयाँ आविष्कारहरूको दार्शनिकीकरण गर्न जरुरी छ । सूक्ष्म यान्त्रिकी, कृत्रिम बौद्धिकता र डाटा पुँजीवादको युगमा नयाँ कार्यदिशाको विकास र प्रयोगले मात्र वर्तमानका गम्भीर चुनौतीको सामना गर्न एवम् महान् सम्भावनालाई वास्तविकतामा बदल्न सकिन्छ । आजको दुनियाँमा क्रान्तिको वैज्ञानिक कार्यदिशा हो– एकीकृत जनक्रान्ति ।

३) नयाँ कार्यदिशा

एकीकृत जनक्रान्ति २१ औँ शताब्दीको नयाँ कार्यदिशा हो । यो कार्यदिशा नयाँ अन्वेषण, विकास र प्रयोग हो । ‘एकीकृत जनक्रान्ति’ का प्रवर्तक कमरेड विप्लवले सर्वप्रथम १५ असार, २०७१ (सन् २०१४, जुन २९) मा नेकपा–माओवादीको पोलिटब्युरो बैठकमा ‘यथास्थितिमा क्रमभङ्गता : इतिहासको अपरिहार्य आवश्यकता’ दस्ताबेज प्रस्तुत गरेपछि यो कार्यदिशा बहस र प्रयोगमा आयो । युगीन आवश्यकतामा एकीकृत जनक्रान्तिको कार्यदिशाको संश्लेषण भयो । यो कार्यदिशा पहिला ‘एकीकृत क्रान्ति’ शिवगढी भेलासम्म र दाङ राष्ट्रिय सम्मेलनमा व्यापक बहसपछि ‘एकीकृत जनक्रान्ति’ मा नयाँ संश्लेषण भयो । ‘दलाल संसद्‌वाद, आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सङ्घर्ष गरौँ ! मार्क्सवाद–लेनिनवाद–माओवादको विकास गरौँ !!’ भन्ने महान् उद्घोष गर्दै सम्पन्न नेकपाको ऐतिहासिक आठौँ महाधिवेशन (१–१० फागुन, २०७३) ले उच्च केन्द्रीकरण एवम् व्यापक बहस र वर्गविश्लेषणसहित ‘एकीकृत जनक्रान्ति’ को समग्र रणनीति, कार्यनीति, आमनीति, कार्यक्रम र कार्ययोजनामा संश्लेषण एवम् विकास गर्यो । यसले नेपाली जनक्रान्तिको कार्यदिशामा देखापरेको समस्या समाधान गर्दै सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्षलगायत विषयहरू सुस्पष्ट गर्यो ।

क) कार्यदिशा

विश्वदृष्टिकोण, नेतृत्व र कार्यदिशाबीच अभिन्न सम्बन्ध हुन्छ । क्रान्तिको कार्यदिशामा राजनीतिक, फौजी र साङ्गठनिक सबै पक्षहरू पर्दछन् । समग्र कार्यदिशामा क्रान्तिको मार्ग, रणनीति, कार्यनीति, लक्ष्य, कार्यक्रम, सङ्गठन, सङ्घर्षका रूप, कार्ययोजना र नारा पर्दछन् । कार्यदिशा कुनै पनि राजनीतिक पार्टीको विचार, दृष्टिकोण, निश्चित उद्देश्य एवम् लक्ष्यसँग सम्बन्धित हुन्छ । यो काम र गतिविधिको मूल मार्ग र दिशा हो । यो वैज्ञानिक नीतिहरूको शृङ्खला र राजनीतिको मार्गचित्र पनि हो । कार्यदिशामा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सामरिक आदि सबै ठोस चित्रको विश्लेषण गरिएको हुन्छ । यसले तत्कालीन कार्यनीति, कार्यक्रम तथा कार्ययोजनालाई नेतृत्व गर्दछ । कार्यदिशाको मार्गदर्शनबाट नै दृष्टिकोण, पक्षधरता र प्रवृत्ति अभिव्यक्त हुन्छ । कार्यदिशाले नै क्रान्तिको ढोका खोल्दछ र त्यसै मार्गमा क्रान्ति अघि बढ्छ । परन्तु कार्यदिशाले आन्दोलन सङ्गठित गर्ने, ठोस दिशा स्पष्ट गर्ने, सङ्गठन र आन्दोलनलाई नेतृत्व प्रदान गर्दछ । कार्यदिशाले सङ्गठनको आत्मगत तथा वस्तुगत स्थितिको विश्लेषण गरी लक्ष्य प्राप्तिका लागि विधि, पद्धति र प्रक्रिया निर्धारण पनि गर्दछ । त्यसको अभिव्यक्ति ठोस कार्ययोजना, व्यावहारिक कार्यान्वयन र कुशल कार्यशैलीमा हुन्छ । कार्यदिशाको निर्माण देशको वस्तुगत खासगरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय परिस्थितिको समेत विश्लेषणका आधारमा निर्माण हुन्छ । कार्यदिशामा मुलुकको वस्तुस्थिति मूलतः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत मुख्य अन्तरविरोधहरू प्रतिबिम्बित हुन्छन् । वस्तुगत आधारमा निर्माण हुने कार्यदिशाले नै सबै अन्तरविरोधहरूको समाधान र राज्यसत्तामा आमूल परिवर्तनलाई सुनिश्चित गर्दछ ।

ख) कार्यदिशाका महत्वपूर्ण पक्षहरू

‘…कुनै पनि वस्तुलाई साँचो अर्थमा बुझ्नका निम्ति हामीले तिनका सबै पक्षहरू, सबै सम्बन्ध–साइनाहरू र सबै माध्यमहरूलाई अँगालेर लिनु पर्नेछ र तिनको जाँचबुझ गर्नु पर्नेछ ।’

(लेनिन, ट्रेड युनियनहरू, हालको स्थिति, ट्राट्स्की र बुखारिनका भुलहरूका विषयमा एकपल्ट फेरि, अङ्ग्रेजी संस्करण, ठेली ९, पृष्ठ ६६, न्युयोर्क १९४३)

कमरेड माओले अन्तरविरोधबारे १९३७ अगस्तमा उल्लेख गर्नुभएझैँ कार्यदिशा आधार, विशेषता र पक्षहरूको जगमा निर्माण हुन्छ । महान् लेनिनले कार्यनीति पदावलीलाई व्यापक अर्थमा कार्यदिशाको समकक्षमा प्रस्तुत गर्दै कार्यदिशाको निर्धारणमा चारवटा पक्षहरूमा ध्यान दिन जरुरी छ– पहिलो, सम्बन्धित समाजको ठोस वर्गविश्लेषण, समाज विकासको कारण र कारक तत्व वर्गसङ्घर्षको स्वरूपलाई ठम्याउनु । दोस्रो, परस्पर विरोधी वर्गहरू र सम्बन्धित देशको अन्य देशहरूसँगको सम्बन्धलाई समग्रतामा हेर्नु । तेस्रो, वर्ग र समाजलाई गति, जीवन र परिवर्तनको स्थितिलाई गुणात्मक छलाङका आधारमा अध्ययन गर्नु र चौथो, त्यसको विश्लेषण र संश्लेषण गरी सम्बन्धित समाजको क्रान्तिको चरण, स्वरूप र कार्यदिशा ठोस गर्नु । उल्लिखित चार पक्षहरूलाई आजका नयाँ विशेषताहरूमा कार्यदिशा निर्माण र कार्यान्वयनमा निम्न पाँच पक्षहरूको विश्लेषणसहित अघि बढ्न जरुरी छ :

राजनीतिक पक्ष

यो पक्षले राज्यसत्ताको चरित्र र अवस्थालाई व्यक्त गर्दछ । मुलुकमा महान् जनयुद्धपछिको शान्तिप्रक्रिया पूर्ण रूपले असफल भयो । आज पुनः नेकपा र सरकारबीच तीनबुँदे सहमति भए पनि त्यसको कार्यान्वयनमा सरकार उदासीन देखिन्छ । जनादेश तथा जनअपेक्षाविपरीत दलालहरूले दलाल संसदीय व्यवस्था बलपूर्वक जनतामा लादिरहेका छन् । क्रान्ति र प्रतिक्रान्ति तथा अग्रगमन र प्रतिगमनबीच केन्द्रीकृत टक्कर चलिरहेको छ । सारमा दलाल पुँजीवादी राज्य र आमश्रमिक जनताबीच प्रधान अन्तरविरोध रहे पनि रूपमा तत्कालीन दलाल शासक वर्ग र जनताबीच अन्तरविरोध तीव्र बन्ने देखिन्छ । जनअपेक्षा र आवश्यकताविरुद्ध दलाल संसदीय व्यवस्था लादिएपछि सम्पूर्ण उत्पीडित जनताहरू विरोध र प्रतिरोध सङ्घर्षमा समर्थन र सहयोग गर्दै सहभागी भइरहेका छन् । कथित लोकतन्त्रको आवरणमा दलाल पुँजीवादी र वाम वा कम्युनिस्ट आवरणमा सामाजिक दलाल पुँजीवादीहरूले क्रान्तिकारी विचार, नेतृत्व र आन्दोलनका विरुद्ध भ्रम छर्ने, षड्यन्त्र गर्ने, घेराबन्दी गर्ने र फासिस्ट दमन गर्ने चुनौती मुख्य रूपमा देखा परिरहेको छ । हाल दलाल पुँजीवादी र सामाजिक दलाल पुँजीवादीहरूले गठबन्धनमा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरिरहेका छन् । सच्चा क्रान्तिकारीहरू सचेत ढङ्गले स्पातझैँ एकताबद्ध भएर अघि बढ्न आवश्यक छ । बलियो एकता, दृढ सङ्कल्प र निर्भीकताले मात्र दलाल पुँजीवादी, दक्षिणपन्थी संशोधनवादी र आत्मसमर्पणवादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष र सच्चा क्रान्तिकारीहरूको विजय सम्भव हुनेछ ।

आर्थिक पक्ष

यसले मुलुकको आर्थिक चरित्र र उत्पादन सम्बन्धलाई व्यक्त गर्दछ । देशको कृषि, उद्योग, व्यापारलगायत सबै क्षेत्रमा चरम सङ्कट पैदा भइरहेको छ । अर्थतन्त्र (पुँजी) को मुख्य आधारशिलाका रूपमा रहेको कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण हुनसकेको छैन । यो झन् समस्याग्रस्त बनिरहेको छ । निगम एवम् दलाल पुँजीका कारण मुुलुकको ओद्योगिक क्षेत्र चौपट भइरहेको छ । आयातमुखी व्यापारका कारण चरम घाटा मात्र होइन, यसको स्थितिमा दैनिक ओरालो लागिरहेको छ । प्राकृतिक स्रोतसाधन र मानव संसाधनका दृष्टिले सम्पन्न मुलुकको मुख्य आर्थिक स्रोत विप्रेषण (रेमिट्यान्स) बन्न पुगेको छ । दलाल पुँजीको दबदबाका कारण पुँजी पलायन, चरम श्रम शोषण, एकाधिकार बजार, राष्ट्रिय अर्थतन्त्रमा नियन्त्रण र विदेशी ऋणले टुप्पी नाघिराखेको छ । भ्रष्टाचार, कालोबजारी, महँगी, कमिसनतन्त्र, मूल्यवृद्धि र बेरोजगारी महामारीका रूपमा फैलिरहेको छ । देशमा चौतर्फी आर्थिक सङ्कट उत्पन्न भइरहेकोे छ ।

सामाजिक पक्ष

सामाजिक अन्तरविरोधको चरित्र मुलुकको राज्यसत्तासँग सम्बन्धित हुन्छ । वर्गीय समाजमा वर्गविश्लेषण र उत्पीडनहरूको पहिचानले वर्गसङ्घर्षको स्वरूप निर्धारण गर्दछ । नेपालमा सामन्तवादको अन्त्यसँगै त्यसको स्थान नवऔपनिवेशिकताले लिएको छ । दलाल पुँजीवाद हाबी भएको छ । महान् जनयुद्धको बलमा राजतन्त्रको अन्त्य भए पनि बिहारी एवम् संसदीय गणतन्त्र चलिरहेको छ । राज्यको नेतृत्व दलाल पुँजीवादी तथा सामाजिक दलाल पुँजीवादी संसद्‌वादीहरूले गरेका छन् । आज विश्व–साम्राज्यवाद विकसित भएको छ । कमजोर देशहरूको अवस्था पनि उपनिवेशबाट नवउपनिवेशमा बदलिएको छ । राजनीतिक, आर्थिक, प्रशासन, सुरक्षा आदि क्षेत्र साम्राज्यवादको हस्तक्षेपमा सीमित छैन । त्यो नियन्त्रणको स्थितिमा पुगिरहेको छ । विश्व–साम्राज्यवादले राजनीतिक सत्ता आफ्ना दलालहरूमार्फत सञ्चालन गरिरहेको छ । नेपाल भारतीय साम्राज्यवादको क्रीडास्थल बनिरहेको छ । दलाल पुँजीवादले धर्मनिरपेक्षताको आवरणमा धार्मिक र जातीय भावनाको विस्तार गरिरहेको छ । वर्गसङ्घर्षलाई भुत्ते बनाउने खेलका रूपमा जातीय र धार्मिक सङ्घर्ष चल्नसक्ने खतरा बढिरहेको छ । वर्गसङ्घर्षबिना यो अन्तरविरोधको समाधान सम्भव छैन ।

सांस्कृतिक पक्ष

बहुजातीय र बहुसांस्कृतिक नेपालको राष्ट्रिय संस्कृति कमजोर भइरहेको छ । दलाल संस्कृति र जनसंस्कृतिबीच सङ्घर्ष चलिरहेको छ । जनसंस्कृतिको संरक्षण, विकास र विस्तार गर्नुको ठीक विपरीत दलाल पुँजीवादी र उत्तरआधुनिकतावादी संस्कृतिले नेपाली संस्कृतिलाई विसङ्गत एवम् विकृत बनाइरहेको छ । दलाल पुँजीवादी, प्रयोगवादी, आत्मकेन्द्रित व्यक्तिवादी र छाडा संस्कृति हाबी भइरहेको छ । विश्व–साम्राज्यवादले विदेशी दलाल सञ्चार सञ्जालहरूको प्रयोगद्वारा त्यसलाई प्रोत्साहित गरिरहेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्ष

वस्तुको विनास र विकासमा आन्तरिक पक्ष नै प्रधान हुन्छ । राष्ट्रिय रूपमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाले कार्यदिशाको निरूपण गर्दछ । मुलुक नयाँ ढङ्गले ध्रुवीकृत भइरहेको छ । विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप र राष्ट्रघातको खतरा पनि बढिरहेको छ । समकालीन विश्वको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायत नयाँ विशेषता र अन्तरविरोध देखापरिरहेको छ । राजनीतिक रूपले बहुध्रुवको विकास विश्व–साम्राज्यवादी चरित्रमा प्रवेश, अन्धराष्ट्रवाद देखापर्नु, उच्चतम् सैन्य शक्तिको विकास र पुँजीवादी संसदीय व्यवस्थाको सङ्कट देखापरिरहेको छ । आर्थिक रूपले उदार अर्थप्रणाली, निगम पुँजीवाद, उपभोगवादी चरित्र, समन्वयकारी रूपको प्रयोग र भूमण्डलीकृत चरित्र देखापरिरहेको छ । अत्याधुनिक सैन्य प्रविधिको विकासले विश्व सैन्यीकृत भएको छ । सामाजिक रूपले पुँजीवादी विश्व व्यवस्था, नवऔपनिवेशिक, प्राविधिक समाज र धार्मिक तथा जातीय प्रवृत्तिमा विस्तार भएको छ । सांस्कृतिक दृष्टिले उत्तरआधुनिक, उपभोगवादी र अप्राकृतिक चरित्र हाबी भइरहेकोे छ । यी विशेषताहरूले शक्तिकेन्द्रहरू र शक्तिराष्ट्र, विश्व–साम्राज्यवाद र समाजवादी शक्ति, दलाल तत्व र जनताबीच साथै विश्व–साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध सङ्घर्षमा अभिव्यक्त भइरहेकोे छ । समकालीन राष्ट्रिय परिस्थितिको ठोस विश्लेषणले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा चरम सङ्कट पैदा भइरहेको छ । त्यसको समाधान नेपाल कम्युनिस्ट पार्टीले संश्लेषण र प्रयोग गरिरहेको एकीकृत जनक्रान्तिको कार्यदिशा नै हो । उक्त सङ्कटको कारक तत्व दलाल संसदीय व्यवस्था र विश्व–साम्राज्यवाद भएकाले एकीकृत जनक्रान्तिद्वारा त्यसको हल गर्न तथा राष्ट्र र आमश्रमिक जनतालाई पूर्ण मुक्ति दिलाउन वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।

ग) कार्यदिशाका नमुनाहरू

प्राकृतिक परिवर्तन एवम् सामाजिक विकासको प्रक्रियामा इतिहासको पुनरावृत्ति असम्भव छ । विश्व–कम्युनिस्ट आन्दोलनको इतिहासमा क्रान्तिका दुई सफल नमुनाहरू तथा कार्यदिशा रहेका छन् । पहिलो, पुँजीवादको विकास, क्रान्तिको आधार शक्ति मजदुर वर्ग अर्थात् पुँजीवाद र वैज्ञानिक समाजवादबीच मुख्य अन्तरविरोध तथा मजदुर र मालिकबीचको वर्गसङ्घर्षका रूपमा लेनिनले रुसको विशेषतामा समाजवादी क्रान्ति एवम् सशस्त्र विद्रोहको कार्यदिशाले जारशाही युगको साम्राज्यवादी (उपनिवेशवादी) रुसलाई मुक्त गर्यो र दोस्रो, अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्था अर्थात् किसान, सामन्त, जमिनदार र मजदुरबीचको वर्गसङ्घर्षका रूपमा माओले चीनको विशेषतामा नयाँ जनवादी क्रान्ति एवम् दीर्घकालीन जनयुद्धको कार्यदिशाले बेलायत, फ्रान्स तथा अन्य युरोपेली देशको उदारवादी पुँजीवादी क्रान्तिभन्दा नयाँ किसिमले चीनलाई मुक्त गर्यो । ती दुवै कार्यदिशा वैज्ञानिक एवम् सफल भएको इतिहास सर्वविदितै छ । पहिलोमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कुशल नेतृत्व, सशस्त्र विद्रोहको वैज्ञानिक रणनीति र कार्यनीति, सङ्गठित मजदुर शक्ति र सचेत जनता थिए । दोस्रोमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा जनमुक्ति सेना, संयुक्त मोर्चा (जनसत्ता) र तत्कालीन विश्व–परिस्थितिले ती दुवै कार्यदिशा एवम् क्रान्तिको मूल आधारको काम गरेका थिए । जापानको औपनिवेशिक शासन र अर्धसामन्ती शोषण एवम् उत्पीडनमा पिल्सिएको कोरिया र फ्रान्सको औपनिवेशिक दासता र अर्धसामन्ती शोषण एवम् उत्पीडनमा पीडित भियतनाम ‘जनताको जनवादी क्रान्ति’ को कार्यदिशाबाट मुक्त भएका थिए । क्युबाको क्रान्ति र पूर्वी युरोपका पार्टीहरूले प्रयोग गरेका कार्यदिशाहरू मौलिक थिए तर विश्वव्यापी अनुकरणीय एवम् दिशानिर्देश गर्न सक्ने थिएनन् । आज हामी त्यो दुनियाँमा छैनौँ । हाम्रो मुलुक र विश्व नितान्त नयाँ विशेषतामा पुगेको छ । तसर्थ एकीकृत जनक्रान्तिको कार्यदिशा नयाँ अन्वेषण, विकास र प्रयोग हो ।

घ) क्रान्तिकारी कार्यदिशाको विकास

विश्व र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास दुई भिन्न दृष्टिकोण, नेतृत्व र कार्यदिशाबीच सङ्घर्ष चल्दै आएको छ । सात दशकपहिला नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठले सर्वप्रथम मार्क्स–एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद तथा नेपाली समाजको वर्गविश्लेषणको आधार खडा गर्नुभएको थियो । उहाँले नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक रहेको निष्कर्षसहित ‘नयाँ जनवादी क्रान्ति’ नेपालको मौलिक क्रान्ति हुने संश्लेषण गर्नुभएको थियो । त्यसपछि २०४५ सालमा नेकपा (मशाल) को राष्ट्रिय सम्मेलनले दीर्घकालीन जनयुद्धका लागि तयारीको कार्यनीति र माओवादको विचारधारात्मक संश्लेषणले कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धाराको तीव्र रूपमा विकास भएको थियो । त्यो मार्क्सवाद–लेनिनवाद–माओवादको वैचारिक नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा निर्माण र कार्यान्वयनमा एक युगान्तकारी छलाङ थियो । २०५१ सालमा नेकपा (एकताकेन्द्र) को तेस्रो राष्ट्रिय विस्तारित बैठकले नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाको निर्माण, पार्टीको नाम नेकपा (माओवादी) नामकरण र २०५२ फागुन १ बाट गाउँबाट सहर घेर्ने दीर्घकालीन रणनीतिमा आधारित जनयुद्धको सुरुआत दक्षिणपन्थी सुधारवाद एवम् संसद्‌वादमाथिको दिग्विजयी ऐतिहासिक कोसेढुङ्गा थियो । २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले चीनको हुबहु तर मौलिक एवम् सिर्जनात्मक भनिएको दीर्घकालीन जनयुद्धको कार्यदिशामा फ्युजन (दीर्घकालीन जनयुद्धमा सशस्त्र जनविद्रोहमा, सशस्त्र जनविद्रोहमा दीर्घकालीन जनयुद्ध) को कार्यदिशामार्फत कार्यदिशामा विकासको आवश्यकता एवम् महत्वबोध र सकारात्मक प्रयास थियो । जनयुद्धको प्रत्याक्रमणको कार्यदिशासम्म पनि सही नै थियो । माओवादी पार्टीको खरीपाटी भेलाबाट राजनीतिक कार्यक्रमबारे जनगणतन्त्रको कार्यक्रम र लोकतान्त्रिक गणतन्त्रको कार्यक्रमबीच खुलेआम एवम् भीषण दुई लाइन सङ्घर्ष सुरु भएको थियो । चुनबाङ बैठकदेखि कामीडाँडासम्म संश्लेषण गरिएको जनयुद्धको कार्यदिशा, भक्तपुर बैठकदेखि पालुङटार विस्तारित बैठकसम्म अगाडि सारिएको जनताको राष्ट्रिय सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्ने पारित भयो । नेकपा–माओवादीको सातौँ महाधिवेशनको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा संश्लेषणसम्म क्रान्तिकारी नयाँ कार्यदिशा विकासको ऐतिहासिक पृष्ठभूमि एवम् आधार तयार भयो । ‘एकीकृत जनक्रान्ति’ का प्रवर्तक कमरेड विप्लवले सर्वप्रथम १५ असार, २०७१ (सन् २०१४, जुन २९) मा नेकपा–माओवादीको पोलिटब्युरो बैठकमा ‘यथास्थितिमा क्रमभङ्गता : इतिहासको अपरिहार्य आवश्यकता’ दस्ताबेज प्रस्तुत गरेपछि यो कार्यदिशा बहस र प्रयोगमा आयो । युगीन आवश्यकतामा एकीकृत जनक्रान्तिको कार्यदिशाको संश्लेषण भयो । यो कार्यदिशा पहिला ‘एकीकृत क्रान्ति’ शिवगढी भेलासम्म र दाङ राष्ट्रिय सम्मेलनमा व्यापक बहसपछि ‘एकीकृत जनक्रान्ति’ मा नयाँ संश्लेषण भयो । नेकपाको १–१० फागुन, २०७३ सम्पन्न ऐतिहासिक आठौँ महाधिवेशनले उच्च केन्द्रीकरण एवम् व्यापक बहस र वर्गविश्लेषणसहित ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाको समग्र रणनीति, कार्यनीति, आमनीति, कार्यक्रम र कार्ययोजनामा संश्लेषण एवम् विकास गर्यो । यसले नेपाली जनक्रान्तिको कार्यदिशामा देखापरेको समस्या समाधान गर्दै सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्षलगायत विषयहरू सुस्पष्ट गर्यो ।

ङ) विचलित कार्यदिशा

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा नीति, नेतृत्व र कार्यदिशामा अन्तरविरोध एवम् वैचारिक बहसको प्रारम्भ २०१० साल माघ १७–२५ सम्म काठमाडौँमा सम्पन्न नेकपाको प्रथम महाधिवेशनबाट भएको थियो । उक्त महाधिवेशनमा कमरेड पुष्पलाल श्रेष्ठको संविधानसभाको निर्वाचन र केशरजङ्ग रायमाझीको वैधानिक राजतन्त्र दुई फरक प्रस्तावबीचको सङ्घर्ष तर महासचिवमा मनमोहन अधिकारी निर्वाचित भएका थिए । २०१२ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट राजावादी धार एवम् राजतन्त्रको दिशा समात्न पुगेको थियो । २०१४ जेठ १५–२५ काठमाडौँमा सम्पन्न दोस्रो र २०१९ साल वैशाख ४–५ सम्म सम्पन्न तेस्रो महाधिवेशनको तुलसीलाल अमात्यको राष्ट्रिय प्रजातन्त्रको कार्यदिशा पनि त्यसैको पुनरावृत्ति थियो । २०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनद्वारा पारित जनताको बहुदलीय जनवाद, नेकपा (माओवादी) को २०६२ असोजको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति, बहुचर्चित कामीडाँडा बैठकले नेपाली क्रान्तिलाई चार आधार जनयुद्ध, जनआन्दोलन, वार्ता र कूटनीति, पालुङटार विस्तारित बैठकको संविधानसभा र विद्रोहको कर्यादिशा, एनेकपा (माओवादी) को २०६९ सालको सातौँ महाधिवेशनको समाजवादी क्रान्तिको कार्यदिशा, २०७१ सालमा सम्पन्न नेकपा (एमाले) को नवौँ महाधिवेशनको समाजवादी क्रान्तिको कार्यदिशा, २०७५ जेठ ३ को नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकतापछिको समाजवाद उन्मुख जनताको जनवादको कार्यदिशा र नेकपा (माके) को आठौँ महाधिवेशनको २१ औँ शताब्दीको समाजवादको कार्यदिशा नेपालको कम्युनिस्ट आन्दोलनमा भद्दा एवम् विचलित कार्यदिशा हुन् ।

च) कार्यदिशा र कार्यशैली

पार्टीको सङ्गठनात्मक आचरण निर्धारण गर्ने पद्धति कार्यशैली हो । कार्यशैलीले कार्यदिशाको कार्यान्वयन तथा बदलिँदो परिस्थितिमा आफ्नो शक्तिलाई गतिशील एवम् व्यवस्थित गर्दछ । यो पार्टीका सबै नेता–कार्यकर्ताहरूले जनदिशाको सही प्रयोगमा आफूलाई हरेक परिस्थितिअनुकूल ढाल्ने र पार्टी कार्यदिशा, नीति र योजनाअनुरूपको आचरण एवम् व्यवहार गर्ने कार्यपद्धति र तरिका हो । कार्यदिशा र योजनाको स्पिरिटअनुसारको कार्यशैलीले मात्र कार्यदिशा र योजनाको कार्यान्वयन तथा अपेक्षित परिणाम हासिल गर्न सकिन्छ । अन्यथा कार्यदिशा र योजना कागजी बन्न सक्छ । क्रान्तिकारी कार्यशैलीको प्राथमिक सर्त लाल र निपुण बन्नु हो । लालको अर्थ स्वाँठ बन्ने नभएर कार्यदिशा र वर्गसङ्घर्षका नियमहरू बुझ्ने र प्रयोग गर्नसक्ने दृढता एवम् उत्साह हो । निपुणको अर्थ बुर्जुवा विद्वता नभएर सही बुझाइलाई जीवन व्यवहारमा बदल्ने क्षमता हो । त्यसैले क्रान्तिकारी कार्यशैली पार्टी विचार, भावना, दृढता र आवश्यक क्षमताको जोड पनि हो । क्रान्तिकारी कार्यशैली भनेको नेता–कार्यकर्ताहरूको नेतृत्व गर्ने एवम् काम गर्ने तरिका हो । कार्यशैली पार्टी विचार, सिद्धान्त र व्यवहारलाई एकताबद्ध गर्ने प्रश्न पनि हो । परिस्थितिको र ऐतिहासिक अनुभवको अध्ययन गरी सिद्धान्तलाई व्यवहारमा लागू गर्नु नै सही कार्यशैली हो । कमरेड स्टालिनले पार्टी र राज्यको काममा लेनिनवादी शैलीमा जोड दिँदै कार्यशैलीका खास दुई विशेषताहरू क) रुसी क्रान्तिकारी जोस–निष्क्रियता, एकनासको काम गराइ, रूढिवाद, मानसिक गतिहीनता र पुख्र्यौली परम्पराप्रति दासवत् आज्ञापालनका विरुद्ध यो रामवाण र जीवनदायी शक्ति हो । जसले विचारलाई प्रेरणा दिन्छ, कामलाई अघि बढाउँछ, अतीतका बन्धनहरूलाई चकनाचुर पार्छ र सम्भावनाको ढोका खोलिदिन्छ । यसको अभावमा कुनै प्रगति हुनु असम्भव छ । ख) अमेरिकी कार्यदक्षता– यो क्रान्तिकारी मैनिलोववाद र काल्पनिक योजनाबाजीको शत्रु हो । यो त्यस्तो अदम्य शक्ति हो जसले बाधा भनेको जानेको छैन र त्यसलाई मान्दैन, जसले आफ्नो व्यावहारिक लगनशीलताद्वारा सारा बाधाहरूलाई पन्छाइदिन्छ, जसले एकपल्ट थालेको काम सानै भए पनि त्यसलाई नसिद्धिएसम्म जारी राख्छ र जसको अभावमा कुनै पनि गम्भीर रचनात्मक काम पूरा गर्न सकिँदैन । स्टालिनले यी दुवैलाई जोड्नेमा बल दिनुभएको थियो । कमरेड माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिका क्रममा कार्यशैलीको शुद्धीकरणका सन्दर्भमा सिद्धान्तलाई व्यवहारसँग जोड्ने, जनतासँग घनिष्ट सम्बन्ध बनाउने र आलोचना–आत्मालोचना अभ्यास गर्नेलाई पार्टीका तीन महत्वपूर्ण कार्यशैली बताउनुभएको थियो ।

४) सिद्धान्त

सिद्धान्त (प्रिन्सिपल) को अर्थ उत्पत्ति र सुरुआत हो । त्यसको प्रयोग नैतिक र नैतिक दार्शनिक अर्थमा ल्याटिनबाट भएको थियो । यो एक व्यापक अवधारणा हो । त्यसको आदर्श, जग, नियम र नीतिहरूको सेट एवम् आधारमा विचारधारा, सिद्धान्त र विज्ञानको जन्म हुन्छ । सिद्धान्त विचार, तर्क र अनुभवद्वारा स्थापित मत, प्रमाणित विचारशृङ्खला तथा सारतत्व हो । नीति–सूत्रबाट अध्ययन गर्दा सिद्धान्त (प्रिन्सिपल) आदितत्व, निर्देशक धारणा र व्यवहारको प्रमुख नियम हो । प्रारम्भिक युनानी दर्शनमा जल, वायु, अग्नि, पृथ्वी आदिलाई आदिम तत्वका रूपमा अपनाइन्थ्यो । सिद्धान्तलाई परिघटनाहरूको आवश्यकता वा नियमको अभिव्यक्ति मानिन्थ्यो । सिद्धान्त तार्किक दृष्टिले कुनै प्रणालीको केन्द्रीय अवधारणा, आधार, कुनै प्रस्थापनाको सामान्यीकरण तथा त्यसका क्षेत्रमा सम्पूर्ण परिघटनाहरूसम्म विस्तार हो जसबाट सिद्धान्त निगमित गरिन्छ । मत–प्रस्थापनाबाट सिद्धान्त (थ्यौरी) सामान्यीकृत प्रमाणिक ज्ञानको प्रणाली, जसले यथार्थका नियमसंगतिहरू र सारभूत सम्बन्धहरूको सम्पूर्ण चित्र प्रस्तुत गर्दछ । सिद्धान्त केवल मानसिक प्रतिबिम्ब र पुनर्संरचना होइन, व्यवहारसँग अभिन्न हुन्छ, जसले परिपक्व कार्यभार प्रस्तुत र समाधानको अपेक्षा गर्दछ । ऐतिहासिक परिस्थिति एवम् स्तरबाट तथा उत्पादन, प्रविधि, प्रयोग र विज्ञानको प्रदत्तताबाट सिद्धान्तको जन्म र निर्धारित हुन्छ भन्ने प्राकृतिक र सामाजिक वैज्ञानिक सिद्धान्तहरूको जन्म र विकासले त्यसको पुष्टि गरेको छ । १९ औँ शताब्दीमा भौतिक विज्ञानमा नयाँ आविष्कार र सामजिक विज्ञानमा मार्क्सवादको उत्पत्तिले सामाजिक विचार र नियमहरू वैज्ञानिक सिद्धान्तमा विकसित भएका थिए । संज्ञानात्मक क्रियाकलापको सामान्यीकरण र व्यवहारको परिणामका रूपमा सिद्धान्त प्रकृति तथा समाज रूपान्तरणमा महत्वपूर्ण हुन्छ । सबै सिद्धान्तको सत्यताको कसी व्यवहार नै हो । कमरेड माओले ‘प्रकृति विज्ञानका अनेकौँ सिद्धान्तहरू प्रकृति–विज्ञानविद्हरूले उब्जाएका भएर मात्र साँचा ठानिएका होइनन्, त्यसपछिको वैज्ञानिक व्यवहारमा समेत प्रमाणित ठहरिएकाले मात्र ती साँचो मानिएका हुन् । त्यसैगरी मार्क्सवाद–लेनिनवाद मार्क्स, एङ्गेल्स, लेनिन र स्टालिनले वैज्ञानिक रूपबाट स्थापित गर्नुभएकाले मात्र साँचो ठानिएको होइन, त्यसपछिको वर्गसङ्घर्ष तथा क्रान्तिकारी राष्ट्रिय सङ्घर्षको व्यवहारमा समेत प्रमाणित ठहरिएकाले नै यो साँचो मानिएको हो । द्वन्द्वात्मक भौतिकवाद विश्वव्यापी रूपबाट साँचो छ किनभने व्यवहारमा यसको प्रभुत्वबाट उम्कनु कसैको निम्ति पनि सम्भव छैन । अनेकौँ सिद्धान्तको सत्यता अपूर्ण हुन्छ र त्यस अपूर्णतालाई व्यवहारको परीक्षाद्वारा ठीक पारिन्छ भनी मानवज्ञानको इतिहासले हामीलाई बताउँछ । धेरै सिद्धान्तहरू दोषयुक्त हुन्छन् र व्यवहारको परीक्षाद्वारा नै तिनका त्रुटिहरूलाई सच्याइन्छ । त्यसैले व्यवहार सत्यको कसी हो ।’ व्यवहारबारेमा जुलाई, १९३७ मा उल्लेख गर्नुभएको थियो । लेनिनले ‘क्रान्तिकारी सिद्धान्त नभईकन थिचिएका वर्ग, इतिहासमा सबभन्दा क्रान्तिकारी वर्गको मुक्तिका निम्ति विश्वको महानतम् आन्दोलन हुनु असम्भव छ । यस्तो सिद्धान्तलाई सोचेर निकाल्न सकिँदैन । यो त संसारका सबै देशहरूको क्रान्तिकारी अनुभव र क्रान्तिकारी चिन्तनको योगबाट निस्कन्छ । उन्नाईसौँ शताब्दीको आधा भागदेखि यस्तो सिद्धान्तको विकास भएको छ । यसलाई माक्र्सवाद भनिन्छ ।’

(लेनिन, सङ्कलित रचना, भाग २१, पृष्ठ ३५४)

यसरी उल्लेख गर्दै लेनिनले क्रान्तिकारी सिद्धान्त र आन्दोलनको महत्व र आवश्यकताबोध गराउनुभएको थियो ।

नेकपाको ऐतिहासिक आठौँ महाधिवेशनमा आदरणीय महासचिव कमरेड विप्लवले एकीकृत जनक्रान्तिलाई आज यो कार्यदिशा हो, आगामी सङ्घर्ष, अनुभव र प्रयोगले सिद्धान्तमा विकसित हुनेछ भन्नुभएको थियो । २०७८ कात्तिक चितवनमा सम्पन्न ऐतिहासिक केन्द्रीय प्रशिक्षणमा यो सिद्धान्त पनि हो भन्नुभएको छ । यो नयाँ कार्यदिशा र सिद्धान्त दुवै हो । पहिलो, यसले मार्क्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सामाजिक क्रान्तिको विज्ञानको मार्गदर्शनलाई जीवन व्यवहारमा प्रयोग गरेको छ । दोस्रो, मालेमावादलाई बुझ्ने र बदल्नेमा मात्र सीमित होइन, प्रयोग, विकास र रक्षामा विश्लेषण र संश्लेषण गरेको छ । तेस्रो, वस्तुहरूमा अन्तरविरोधको नियम, मूलतः विपरीत तत्वहरूको एकताको नियम प्रकृति, समाज र चिन्तनको आधार नियमलाई कम्युनिस्ट पार्टी र क्रान्तिमा सही प्रयोगको संश्लेषण गरेको छ । चौथो, हकिङले सामान्य सापेक्षता तथा क्वान्टम यान्त्रिकीको अनिश्चितता सिद्धान्तलगायतलाई भौतिक विज्ञानको एकीकरण र विद्युत् चुम्बकीय बल, कमजोर आणविक बल र बलियो आणविक बललाई समायोजन गर्ने सिद्धान्त बृहत् एकीकृत सिद्धान्तको खोज गरेर भौतिक विज्ञानमा मात्र होइन, समाज विज्ञानमा पनि महत्वपूर्ण योगदान गरेका छन् । यसैको जगमा उभिएर भौतिक विज्ञानका नयाँ आविष्कारहरूको दार्शनिकीकरणको आवश्यताबोध गरेको छ । पाँचौँ, लिम्यान स्पित्जरले सन् १९५१ मा फ्युजनको महान् आविष्कार गरेका थिए । फ्युजन ऊर्जा भनेको सूर्यको शक्ति हो । यो ऊर्जाको असीमित स्रोत हो जुन हाइड्रोजन र लिथियमबाट उत्पादन गर्न सकिन्छ । यो ऊर्जालाई धेरै उपयोगी मानिन्छ । यसको सैद्धान्तिकीकरण सन् १९१०–१९२० को दशकमा गरिएको थियो । यसको सफल परीक्षण सन् १९५१ मा गरियो । आइन्सटाइनले सन् १९०५ मा सानो पदार्थबाट आश्चर्यजनक रूपमा ठूलो परिमाणमा ऊर्जा उत्पादन गर्न सकिने पुष्टि गरेका थिए । सन् १०१९ मा अमेरिकी खगोल वैज्ञानिक हेनरी रसेलले भौतिक शास्त्र र गणितीय प्रक्रियाको व्याख्या गर्दै सूर्यको हाइड्रोजन परमाणु हेलियम परमाणुमा रूपान्तरण हुँदा असीमित ऊर्जा उत्पादन हुन्छ । त्यसपछि त्यसलाई फ्युजन भनियो । सन् १९२० मा खगोलशास्त्री फ्रान्सिस एस्टनले फ्युजन सिद्धान्तलाई पुष्टि गरेका थिए । वैज्ञानिकहरूले न्युक्लियर फ्युजन पनि सम्भव तुल्याएका छन् । न्युक्लियर फ्युजन भनेको दुईवटा न्युक्लेई जोडेर अर्को ठूलो न्युक्लियर निर्माण गर्नु हो । यो फ्युजन प्रविधि पनि हो जसबाट अति चाँडो र अति धेरै ऊर्जा उत्सर्जन हुन्छ । फ्युजन प्रविधिलाई हाइड्रोजन बम बनाउन प्रयोग गरिन्छ । एकीकृत जनक्रान्ति विश्वमा सफल प्रयोग भएका सबै कार्यदिशाको फ्युजन पनि हो । छैटौँ, सिद्धान्त भनेको सबै मुलुकको कम्युनिस्ट आन्दोलनका अनुभव पनि हो । यसले सबै अनुभव, शिक्षा र क्रान्तिकारी सिद्धान्तलाई आत्मसाथ गरेको छ । सातौँ, एकीकृत जनक्रान्तिले नेपाली जनक्रान्तिको कार्यदिशामा देखापरेको समस्या समाधान गर्दै सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्षलगायत विषयहरू सुस्पष्ट गरेको छ । यसको मूल लक्ष्य लेनिनले ‘एउटा यस्तो क्रान्तिकारी सिद्धान्त जसले सबै समाजवादीहरूलाई एकताबद्ध पार्दछ, जसबाट उनीहरूले आफ्ना सबै विश्वासहरू प्राप्त गर्दछन् र जसलाई उनीहरूले आफ्नो सङ्घर्षका तरिकाहरूमा र कार्य साधनमा प्रयोग गर्छन् । यस्तो सिद्धान्त नभईकन कुनै बलियो समाजवादी पार्टी बन्न सक्दैन’ (लेनिन, भाग ४, पृष्ठ २२१) मा भनेझैँ एकीकृत जनक्रान्तिले दलाल पुँजीवादी, नवसंशोधनवादी र संसद्‌वादीबाहेक करोडौँ आमजनतालाई एकीकृत गर्दै विजय हासिल गर्नेछ । अन्त्यमा लेनिनको ‘… छानबिन सिद्धान्तबाट सुरु हुँदैन, बरु सिद्धान्त छानबिनका अन्तिम परिणाम हुन्छन् । सिद्धान्त प्रकृति तथा मानव इतिहासमाथि लागू गरिँदैनन्, बरु तिनीहरूबाट निकालिन्छन् । प्रकृति र मानव जाति सिद्धान्तहरूअनुरूप हुँदैनन् । यसको विपरीत सिद्धान्त त्यही हदसम्म प्रामाणिक हुन्छ जुन हदसम्म ती प्रकृति तथा इतिहासअनुरूप हुन्छन्’ (भौतिकवाद र अनुभवसिद्ध आलोचना) मा उल्लेख गर्नुभएको सारगर्वित भनाइलाई आत्मसाथ गरौँ । एकीकृत जनक्रान्ति नयाँ कार्यदिशा र सिद्धान्त दुवै हो ।

५) एकीकृत जनक्रान्ति

एकीकृत जनक्रान्तिको कार्यदिशाले आधारका दृष्टिले पहिलो, सर्वशक्तिमान एवम् सार्वभौम मालेमावादको मार्गदर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्व हो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति अथवा सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको मान्यतालाई आत्मसाथ गर्नु हो । बुझ्ने, बदल्ने, रक्षा र विकास गर्ने हो । दोस्रो, पूर्वी युरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा सम्पन्न क्रान्तिहरू प्रतिक्रान्तिमा परिणत भए अथवा माओको निधनपछि विश्व कम्युनिस्ट आन्दोलन आत्मगत दृष्टिले रक्षात्मक बनिरहेको छ । क्रान्तिको मूल साधन कम्युनिस्ट पार्टीहरू टुटफुट र विभाजनको सिकार भइरहेका छन् । कम्युनिस्ट पार्टी र क्रान्तिलाई कसरी पुनर्सङ्गठित गर्ने ? प्रश्न मुख्य बनिरहेको छ । तेस्रो, विश्व–साम्राज्यवादी सङ्कट र वैज्ञानिक समाजवादी क्रान्तिको वर्तमान युग । मार्क्स–एङ्गेल्सको समयमा पुँजीवाद थियो । सन् १९१६ को वसन्तमा लेनिनले जुरिचमा ‘साम्राज्यवाद : पुँजीवादको चरम अवस्था’ लेखेर त्यसको सविस्तार विश्लेषण र संश्लेषण गर्दै ‘यसको अध्ययनबिना वर्तमान युद्ध, राजनीति र त्यसको उचित मूल्याङ्कन असम्भव हुन जान्छ । साथै साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला हो, सामाजिक अन्धराष्ट्रवाद समाजवादप्रति पूर्ण विश्वासघात हो’ भनेर पेत्रोग्रादबाट २६ अप्र्रिल, १९१७ मा उद्घोष गर्नुभएको थियो । १०४ वर्षपछि विश्व–साम्राज्यवादमा विकसित भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशाद्वारा विश्व–साम्राज्यवाद र दलाल पुँजीवादको हल र वैज्ञानिक समाजवादको अपरिहार्य आवश्यकता हो । चौथो, बर्नस्टिन, ख्रुस्चोभ, तेङहरूको शास्त्रीय, आधुनिक र अत्याधुनिक संशोधनवाद अहिले नवसंशोधनवादमा महापतन भएको छ, त्यसविरुद्धको सङ्घर्षमा विजय हासिल गर्ने हो । पाँचौँ, वैज्ञानिक समाजवादको सफलता, लोकप्रियता, असफलताका कारणहरू, असल पक्षहरू, शिक्षा, अनिवार्यता र प्राप्तिको मार्ग हो । नयाँ विशेषतामा आधारित वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । छैटौँ, विज्ञान तथा प्रविधिको अभूतपूर्व विकास भइरहेको छ । यसमा विश्व–साम्राज्यवादको जति पहुँच, प्रचार र प्रभाव देखिन्छ त्यसको सारचरित्र, विशेषता र बदनामीको श्रमिक वर्ग एवम् उत्पीडित जनताले बुझ्ने र बदल्ने मार्ग पनि प्रशस्त गरिरहेको छ ।

विशेषताका दृष्टिले पहिलो, सामाजिक रूपले जनघनत्व, आवास, बजार, उत्पादन, सूचना–सञ्चार, यातायात आदिले जोडिएको गाउँ र सहर छ । दोस्रो, राजनीतिक रूपले सत्तामा केही सामन्तवादका विशेषता हुँदाहुँदै पनि दलाल तथा नोकरशाही पँुजीवाद हाबी छ । तेस्रो, वर्गसम्बन्धमा किसान, मजदुर आधारभूत र केही ढुलमूल हुँदाहुँदै प्रगतिशील आधार वर्गका रूपमा नयाँ श्रमिक वर्ग (मध्यम वर्ग) को क्रमिक विकास भइरहेको छ । चौथो, विशिष्ट भूराजनीतिक अवस्था अथवा सानो र भूपरिवेष्ठित मुलुक हो– नेपाल । दलाली गरेर सस्तो श्रम बेच्ने र तस्करीमा कच्चा पदार्थ निर्यात गर्ने, आत्मनिर्भरभन्दा परनिर्भरताको समस्या चरम छ । किसान, मजदुर र नयाँ श्रमिक वर्गको एकता र राज्यसत्तामा हिस्सेदारी रहने चरित्र छ । भूगोल सानो वा ठूलोभन्दा विचारधारात्मक तथा राजनीतिक कार्यदिशाको वैज्ञानिकता र दृढ कार्यान्वयनले विजयलाई सुनिश्चित गर्दछ । पाँचौँ, बहुजातीय र बहुसांस्कृतिक विशिष्टता छ । उत्पीडन, शोषण र असमानताको खाडलले विषमता पैदा गरेको छ । वर्गसङ्घर्षद्वारा वर्गसत्ताको हल गरेर सबै उत्पीडित जातिलाई सत्तामा पूर्ण अधिकारसहित मुक्त गर्ने विचार, राजनीति र क्रान्तिको अपरिहार्य आवश्यकता छ । छैटौँ, विज्ञान तथा प्रविधिको अभूतपूर्व विकास र प्रयोगमा विश्व–साम्राज्यवादले जसरी शोषण, उत्पीडन, नियन्त्रण र आक्रमण गरिरहेको छ त्यही स्तरमा जनक्रान्तिको आधार निर्माण, प्रचार र प्रभाव पनि विस्तार भइरहेको छ । त्यो प्रतिरोध र विस्फोटको स्थितिमा पुग्दैछ । त्यसले तीव्रतामा विश्व–साम्राज्यवाद र दलाल पुँजीवादको चिहान खनिरहेको छ । दृष्टिक्षितिजमा विश्व–वैज्ञानिक समाजवाद– साम्यवादको ढोका खुलिरहेको छ । वर्गविश्लेषणका दृष्टिले आर्थिक रूपमा दलाल पुँजीपति, सामन्त, राष्ट्रिय पुँजीपति, सूदखोर, माफिया, नयाँ श्रमिक, सर्वहारा मजदुर, किसान र भूमिहीन सुकुमबासी वर्ग तथा राजनीतिक रूपमा दलाल पुँजीवादी, पुँजीवादी, नोकरशाही, सूदखोर, माफिया, देशभक्त, सुधारवादी र क्रान्तिकारी शक्तिमा वर्गविश्लेषण गरेको छ । साथै चार क्षेत्र र चार सङ्गठनको विश्लेषण तथा सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक, आर्थिक, सङ्घर्षलगायत विषयहरू सुस्पष्ट गरेको छ । यिनै मूल आधार, विशेषता, पक्षहरू, क्षेत्र, सङ्गठन आदिको कुल योग नै एकीकृत जनक्रान्ति नयाँ अन्वेषण, प्रयोग, विकास तथा नयाँ कार्यदिशा र सिद्धान्त दुवै हो । महान् माओले ‘हामीसँग सही सिद्धान्त भएर पनि हामी खालि त्यसलाई पाठ गर्दछौँ, दराजमा थन्क्याएर राख्छौँ, कार्यमा प्रयोग गर्दैनौँ भने त्यो सिद्धान्त जतिसुकै राम्रो भए पनि महत्वहीन हुन्छ ।’ (माओ, व्यवहारबारे सन् १९३७) भनेझैँ एकीकृत जनक्रान्तिले माग गरेको बुझाइ, कार्यशैली, सङ्गठन, सङ्घर्ष आदिको जरुरी छ ।

सन्दर्भ सामग्री

१) जनशिक्षा मासिक, वर्ष ६, अङक ४, पुस २०७१ विशेष अङ्क
२) नौलो बिहानी मासिक, वर्ष २१, अङ्क १, फागुन, २०७३, विशेष अङ्क
३) विप्लव, एकीकृत जनक्रान्ति (तेस्रो संस्करण) १ फागुन, २०७३, जनशिक्षा मासिक
४) नेपाल कम्युनिस्ट पार्टीको अठौँ महाधिवेशन (फागुन १–१० थबाङ) बाट पारित प्रतिवेदन, २०७३
५) विप्लव, वैज्ञानिक समाजवाद, वैशाख, २०७५, रातो खबर प्रकाशन गृह प्रा.लि.
६) विप्लव, महापतन (प्रचण्ड पतनको अन्तर्कथा) असोज, २०७५, रातो खबर प्रकाशन गृह प्रा.लि.
७) हेमन्तप्रकाश ओली ‘सुदर्शन’, विश्वदृष्टिकोणमा रूपान्तरण, असोज, २०७६, रातो खबर प्रकाशन गृह प्रा.लि.
८) पूर्णबहादुर सिंह, शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति (दोस्रो संस्करण, २०७३ जेठ, जनशिक्षा मासिक)
९) मनहरि तिमिल्सिना, समाजवादी क्रान्तिको कार्यदिशा, २०७८, मार्क्सवादी ज्ञान केन्द्र 
१०) परशुराम तामाङ, नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा, २०७८ भदौ, जागरण बुक हाउस 
११) दार्शनिक र साङ्गठनिक सिद्धान्त (सङ्कलित दुई कृति) चाइना टेक्स्ट बुकको नेपाली रूपान्तरण, इन्द्रमोहन सिग्देल ‘वसन्त’, इच्छुक सांस्कृतिक प्रतिष्ठान
१२) भौतिकवाद र अनुभवसिद्ध आलोचना, लेनिन, अनुवादक रमेश सुनुवार र नारायण गिरी, सृजना बुक पब्लिकेसन २०६९ पुस
१३) स्टालिनका छानिएका रचनाहरू, कृष्णदास श्रेष्ठ अनुवादक, पैरवी प्रकाशन २०६४
१४) दर्शनबारे पाँच कृति, माओ त्सेतुङ, प्रगति पुस्तक सदन 
१५) सङ्घर्षको दर्शन, किरण, जनदिशा प्रकाशन नेपाल, २०६० मङ्सिर
१६) दर्शन विश्वकोश, अनुवादक रमेश सुनुवार र नारायण गिरी, नेपाल विज्ञान समाज २०७५
१७) आजको विज्ञान, विकास बज्राचार्य, २०७२ खोजी प्रकाशन गृह प्रा.लि.
१८) बृहत् योजना, स्टेफन हकिङ र लियोनार्डो म्लोडिनो, अनु. रमेश सुनुवार, प्रगति पुस्तक सदन 
१९) स्टेफन हकिङ, समयको सङ्क्षिप्त इतिहास, अनु. रमेश सुनुवार, प्रगति पुस्तक सदन

१४ माघ, २०७८

-(रातोखबर साप्ताहिक)