स्थानीय निर्वाचन एक कार्यनीतिक प्रश्न

'बहुमत'को नयाँ संश्लेषण मालेमावादको भ्रष्टीकरण

स्थानीय निर्वाचन एक कार्यनीतिक प्रश्न

“चुनाव क्रान्तिकारी कम्युनिष्टका लगि कुनै रणनैतिक महत्व राख्ने विषय नभएर कार्यनीतिक विषय मात्र हो ।  कार्यनीतिक विषय हुनका कारण ठोस परिस्थिति अनुरुप क्रान्तिकारीहरुले संघर्ष कै मोर्चाका रुपमा कहिले वहिष्कार र कहिले उपयोग गर्दै आएका छन्, तर सच्चाई यो हो कि लेनिनले नेतृत्व गरेको वोल्सेविक पार्टी, केही युरोपियन पार्टीहरु र नेपालको जनमोर्चा बाहेक संसदमा रहेका अधिकांश कम्युनिस्ट पार्टीहरु सकुशल फर्किएर आएका छैनन् । संसदीय दलदलमा भासिन पुगेका छन् । यसो भनेर संघर्षमा पैदा हुने विशिष्ट अवस्थामा पनि संसदीय चुनावका नकारात्मक अनुभवहरुलाई आधार बनाएर सबै चुनाव संघर्षबाट सदाका लागि हात झिकेर हिँड्नु पर्दछ भने सोच्नु वस्तुवादी दृष्टिकोण हुदैन ।” (८ औं केन्द्रीय समितिको १२ औं पूर्ण वैठकद्वारा पारित प्रस्तावबाट)

प्रचण्ड–बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध सम्झौताहिन सैद्धान्तिक र वैचारिक संघर्ष तथा क. किरणको अकर्मण्यतावाद र जडसुत्रीय चिन्तनका विरुद्धको विचारधारात्मक संघर्ष पश्चात २०७१ मंसिरमा पुनर्गठन गरिएको नेकपामा एउटा सामान्य र मामुली चुनावी कार्यनीतिको विषयलाई लिएर शुरु भएको बहस अन्ततः नेता कार्यकर्ताहरुले पार्टीको मूल स्प्रिट र लक्ष्यलाई त्यागेर बाहिरिएका छन् । त्यसलाई उनीहरुले पार्टी र नेतृत्वको विरुद्ध विद्रोह र पार्टी पुनर्गठनको संज्ञा दिएका छन् । वास्तवमा यो जनता र क्रान्तिका लागि निकै दुःखद विषय बन्न पुगेको छ । यो सानो आलेखमा यस विषयमा संक्षिप्त चर्चा गर्न जमर्को गरिएको छ । 

१. पार्टी पुनर्गठन र कार्यदिशाको संश्लेषण :  साम्राज्यवादी एक ध्रुवीय विश्व व्यवस्थाको दमदमी, सशस्त्र युद्धको रणनीति र कार्यनीतिका विरुद्धमा साम्राज्यवादी युद्धनीतिको विकास र प्रयोगको वस्तुगत पृष्ठभूमिमा तत्कालिन जनयुद्धका नेतृत्वहरुमा आएको विचलनका विरुद्ध संचालन गरिएको विचारधारात्मक तथा राजनैतिक संघर्षको परिणाम स्वरुप नेकपाको पुनर्गठन हुन पुगेको कुरा स्पस्ट नै छ । जनयुद्धका उपलव्धीहरु गुमेको तथा सिंगो क्रान्तिकारी पङ्क्ती र जनताको रक्षाको लागि पार्टी पुनर्गठन गर्नु ऐतिहासिक र युगिन कार्यभार थियो । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा मानव जातिलाई पुर्याउने महान अभियानको शिलशिला या सन्दर्भमा संश्लेषण गरी प्रयोग गरिएको दुई कार्यदिशाहरु दीर्घकालिन जनयुद्ध र आम सशस्त्र विद्रोहको हुबहु प्रयोगबाट आजको दुनियाँमा  सर्वहारा क्रान्ति असम्भव भएकोले त्यसको विकासका रुपमा एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण आवश्यक वन्न गएको थियो । जुन वैज्ञानिक र वस्तुवादी कार्यदिशाको रुपमा स्थापित हुन पुगेको छ । समकालिन विश्वको शक्ति सन्तुलन, अन्तर साम्राज्यवादी अन्तरविरोध र संकट, सूचना–प्रविधिको विकास तथा देशभित्रको शक्ति सन्तुलन, नयाँ श्रमिकको वर्गको उदय, नगर समाजको विकासको यथार्थलाई आत्मसात गर्दै नयाँ कार्यदिशाको संश्लेषण गर्नु नै तथ्यपरक र आवश्यक थियो । मालेमावादी विज्ञान एउटा समाज विज्ञान भएकोले त्यसको समयानुकुल रक्षा प्रयोग र विकास गर्नुपर्ने, विपरितहरु वीचको एकताको नियमलाई समवर्गीय रुपमा प्रयोग गर्ने तथा विज्ञान–प्रविधिको विकासलाई दार्शनिकीकरण गर्ने संश्लेषण दर्शनको क्षेत्र आफैमा महान र युगान्तकारी संश्लेषण हो । यसका साथै अर्थराजनीति र वैज्ञानिक समाजवादको क्षेत्रमा पनि पार्टीले युगान्तकारी संश्लेषण गरेर प्रयोग गरिरहेको छ । जसलाई थप समृद्ध गर्नुपर्ने आवश्यकतामा पार्टीले जोड दिदै आइरहेको छ ।

२. राष्ट्रियता र जनतन्त्रको पक्षमा संघर्ष र कथित प्रतिवन्ध : हाम्रो पार्टीले नेपालमा पछिल्लो पटक जारी गरिएको संविधानलाई खारेज गर्दै जनसंविधान जारी गरेको थियो । नेपाली जनताको लामो समय देखिको संघर्षको परिणाम स्वरुप आंशिक सुधारमा सहमति गरिएको संविधानले संसारमा असफल हुदै गइरहेको संसदीय व्यवस्थालाई रक्षा र सुदृढीकरण गर्ने मूल अन्तरवस्तुमा आधारित रहेको छ । जसले नेपालका किसान, मजदुर, युवा–विद्यार्थी तथा बेरोजगार–अशिक्षाको समस्या समाधान गर्ने तथा त्यसको जगमा देशलाई स्वाधिन बनाउने होइन, बरु खोक्रो बनाउने कुरा हाम्रो संश्लेषण थियो । वितेको पाँच वर्षमा व्यापक रुपले बृद्धि भइरहेका राष्ट्रिय ऋण, व्यापार घाटा, बेरोजगारी, भ्रष्टाचार, सामाजिक विकृति र विसंगतीको वर्तमान सूचाङ्कले हाम्रो संश्लेषणलाई सही सावित गरेको छ । लिपुलेकको पक्षमा गरिएको संघर्ष, एनसेलले गरेको कर छलीको विरुद्धको संघर्ष, सुकुम्वासी तथा गरिब किसानको पक्षमा गरिएको संघर्ष, महङ्गी, भ्रष्टाचार विरुद्धको संघर्ष तथा नेपाली युवा युवतीहरुलाई सस्तो श्रमशक्ति र अवैधानिक रुपमा विदेशमा वेच्ने तत्वहरुका विरुद्ध संचालन गरिएको संघर्षका कारण हाम्रो पार्टीमाथि कथित प्रतिवन्ध थोपरियो । सिंगो देशभक्त, प्रगतिशील शक्तिहरुको विरोध, हाम्रो पार्टीको निरन्तर राजनीतिक तथा फौजी प्रतिरोधका कारण कथित प्रतिवन्ध असफल सावित हुन पुग्यो । कथित इन्काउन्टर, आन्तरिक दुर्घटना र प्रहरी कष्टडीमा यातना सहित १३ जना कमरेडहरु सहिद बन्न पुगेका छन् । करिब २२०० नेता कार्यकर्ताहरु गिरफ्तार, यातना सहित जेल तथा हिरासत मोर्चामा विजय हासिल गरेका छन् । अहिले पनि करिब दुई दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु जेल हिरासतमा रहनु भएको छ । अन्ततः केपी नेतृत्व सरकारको आवश्यकता र वाध्यता तथा हाम्रो पार्टीको सचेत प्रयत्न र आवश्यकताको पृष्ठभूमीमा तीन बुँदे सहमति सहित दुई वर्षको कथित प्रतिवन्धलाई भण्डाफोर र प्रतिरोध गर्दै हामी जनताको बीचमा हाम्रा विचार, लक्ष्य–उद्देश्य तथा कार्यक्रम लिएर अगाडी बढिरहेका छौ । कथित प्रतिवन्धको असफलता पछिका करिब १५ महिनामा हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा जनसंघर्ष र जनपरिचालनका कामहरुमा आफूलाई केन्द्रित गरिरहेका छौं । 

३. बाह्रौ केन्द्रीय समितिको बैठक र चुनाबको कार्यनीतिबारे वहस : हाम्रो पार्टी केन्द्रिय समितिको १२ औं पूर्ण बैठकमा पाँच–छ वटा महत्वपूर्ण प्रस्तावहरु माथि छलफल केन्द्रित गरिएको थियो । त्यस मध्येको एउटा महत्वपूर्ण प्रस्ताव थियो – समसामयिक ३ प्रस्तावहरु जसअन्तर्गत (क) ऐतिहासिक नवौं महाधिवेशन (ख) एमसीसी सम्झौता विरुद्धको संघर्ष (ग) संसदीय व्यवस्थाको स्थानीय चुनाव रहेका छन् । 

यी विषयका वारेमा केन्द्रीय समितिले निम्न निष्कर्ष निकालेको थियो । 
पहिलो – ऐतिहासिक नवौं महाधिवेशनवारे :  हामीले गएको २०७८ फागुनमा गर्ने निर्णय लिएको तर कोरोना महामारीको कारण भएको बन्दाबन्दी र पछिल्लो चोटी संचालन गरिएको एमसीसी विरुद्धको संघर्षका कारण निर्धारित समयमा नवौँ महाधिवेशन गर्न सकिएन । आठौं महाधिवेशनमा गरिएको संश्लेषणहरुको समृद्धिकरण, पार्टी संगठनको विस्तार र सुदृढीकरण तथा क्रान्तिको समग्र तयारीको सन्दर्भमा अविलम्व महाधिवेशन गर्नुपर्ने निर्णयका साथ आगामी २०७९ आसोज–कार्तिकसम्म नवौं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरियो ।

दोश्रो एमसीसी विरुद्धको संघर्षवारे वहस केन्द्रित गर्दै १८१६ को सुगौली सन्धीपछिको खतरनाक राष्ट्रघाती संझौतालाई दलाल संसदीय पार्टीहरुले संसदबाट पारित गरेपनि नेपाली जनताले निरन्तर संघर्ष गर्नेछन् र त्यसको नेतृत्व हाम्रो पार्टीले गर्नेछ । नेपालमा एमसीसी परियोजना जवरजस्त थोपर्नुको पछाडी अहिले विश्वको सुपर पावरको रुपमा विकसित भैरहेको हाम्रो छिमेकी मुलुक चीनका विरुद्ध जासुसी गर्नु, उसलाई घेरावन्दी गर्नु, दोश्रो हाम्रो देशमा रहेको अथाह प्राकृतिक श्रोत–साधनहरुको दोहन गर्नु अमेरिकी रानीतिक उद्देश्य रहेको कुरा दिनको घाम झैं छर्लङ्ग छ । यसलाई हाम्रो पार्टीले नवऔपनिवेशीकरणको नयाँ आयामको रुपमा परिभाषित गर्दै त्यसका विरुद्धको संघर्षलाई निरन्तरता दिने निर्णय गरिएको छ । 

तेश्रो – संसदीय व्यवस्थाको स्थानीय चुनाववारे : संम्भवतः यो प्रस्तावको वारेमा पार्टीभित्र र बाहिर सर्वाधिक चर्चा र महत्व राख्ने विषयका रुपमा रहन पुग्यो । यसैका कारण पार्टीमा रहेका केही अराजक र महत्वकांक्षी व्यक्तिहरुले पार्टी छोड्न पुगेका छन् । उनीहरुले विभिन्न नाटक मञ्चन गर्दै महासचिवलाई कारवाही गरेको, कथित पार्टी पुनर्गठन गरेको, एकीकृत जनक्रान्तिलाई खारेज गरेको, अव आफ्नो नेतृत्वमा नेपालमा एकीकृत जनयुद्ध हुने भद्दा मजाक गरिराखेका छन् । यसले केही नेता कार्यकर्ता तथा क्रान्तिप्रेमी आमजनतामा आंशिक भ्रम पनि पारेको छ । यति सानो कार्यनैतिक प्रश्नमा मतभेद हुँदा पनि पार्टीभित्रका सूचनाहरु वाहिर दिने, नेतृत्वका वारेमा अनर्गल प्रचार गर्ने, गुटबन्दी गर्ने, अत्यन्त गैरजिम्मेवार प्रवृत्तिका कारण उनीहरुलाई वाध्यकारी अवस्थामा पदमुक्त गर्नुपर्ने अवस्था आउनु दुःखद कुरा हो । स्थानीय निर्वाचनका सन्दर्भमा प्रस्तुत र सर्वसम्मत पारीत प्रस्तावमा भनिएको छ । “केही कम्युनिस्टहरुले बहिष्कार भने पनि उपयोग भने पनि केवल कार्यनीतिक प्रयोगमा मात्र सिमित छ । त्यसको तत्काल ठोस रणनैतिक उद्देश्यसँग जोडिएको छैन । त्यसले गर्दा उनीहरुलाई खासै चिन्ता र समस्या पनि भएन, तर हाम्रो जस्तो पार्टी जो निरन्तर क्रान्तिमा बढिरहेको छ, जोसँग आफ्नो रणनीति अनुरुप जीवन्त कार्यनीति बनाउनु पर्ने जिम्मेवार छ जसले कार्यनीतिक गल्ती गर्दा क्रान्तिको रणनैतिक उद्देश्यमा घातक प्रभाव पार्ने अवस्था छ, वर्ग संघर्ष र राजनैतिक संघर्षका अनेक पक्ष, राष्ट्रिय संघर्ष र अन्तराष्ट्रिय पाटा पक्षसँग सम्वन्ध राख्ने यो कार्यनीतिलाई ठोस गर्दा गम्भिर प्रकारले विश्लेषण गर्न र निष्कर्ष निकाल्ने जरुरी छ ।” प्रस्तावको उपरोक्त अंशको सार पक्षलाई मात्र आत्मसात गर्दै निष्कर्षमा भनिएको छ । “आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुने छ ।” जव सिंगो पार्टी निर्णय प्रक्रियाको कार्यान्वयनमा अघि बढ्यो, तब अनाधिकृत रुपमा स्थायी समितिको हवाला दिएर क.कञ्चनले विज्ञप्ती जारी गर्दै विरोध गर्नुभयो । विभिन्न सञ्चार माध्ययमहरुमा पार्टी नीति विरोधी अन्तर्वार्ता दिने, आफूहरु बहुमतमा रहेको, नेतृत्व क्रान्तिबाट भागेको जस्तो अनावश्यक प्रचारले क.कञ्चन र सुदर्शनको व्यक्तिवादी अराजकतावाद र माक्र्सवादी रोमान्टिजमलाई मात्र मलजल पुर्याएको छ ।
 
४. स्थानीय चुनावमा स्वतन्त्र रुपमा सहभागिता किन ? 
 माथि हामीले पार्टीको सैद्धान्तिक प्रस्तावमा उल्लेख गरेका छौँ कि चुनाव के हो ? यसको उपयोग र बहिष्कार किन र कुन प्रयोजनको लागि गरिन्छ भन्ने कुरा हाल स्वतन्त्र रुपमा प्रयोग गरिएको स्थानीय चुनावलाई हामीले यसरी बुझ्न जरुरी हुन्छ । 

क. : एमसीसी विरोधी संघर्ष – एमसीसी वारेमा माथि नै चर्चा गरि सकिएको छ । उक्त सम्झौता १८१६ को सुगौली सन्धी पछिको खतरनाक राष्ट्रघाती सम्झौता हो । जसरी १८१६ को सुगौली सन्धिले विशाल नेपालको भूगोल आजको अवस्थामा सीमित रहन पुगेको छ । उक्त संझौता नभएको भए हामी अहिले विश्वको ठूलो मुलुकहरु मध्येमा रहने थियौ । त्यसरी नै लेन्डुप दोर्जे जस्ता दलाल नहुँदा हुन् त सुन्दर सिक्किम पनि हाम्रै मुलुक भित्रको अंग हुने थियो तर अफसोच ती कुराहरु केवल हाम्रा कल्पना मात्र रहन पुगेका छन् । करिब पँच दशक पहिले हामीसँग विकासको एउटै सुचाङ्कमा रहेका दुनियाँका अधिकांश मुलुकहरु आज विकसित मुलुकमा पुगिसकेका छन् भने हामी अहिले पनि अर्धसामन्ती अवस्था हुदै नवऔपनिवेसीक अवस्थामा रहेका छौं । एमसीसी जस्तो राष्ट्रघाती संझौताका कारण हामी नेपालीले हाम्रो राष्ट्रिय स्वाभिमान गुमाउनु पर्ने, हाम्रो अथाह प्राकृतिक साधन–श्रोतहरु उनीहरुलाई सुम्पिनु पर्ने वाध्यकारी अवस्थामा हामी आइपुगेका छौं । हामीले प्रारम्भ देखि नै एमसीसी सम्झौता खारेज गर्नुपर्दछ भन्ने संघर्षको देशव्यापी रुपमा अगुवाई गर्दै आईरहेका छौ । संसदबाट जवरजस्ती रुपमा पारित गरिएको उक्त संझौताको विरुद्ध पुनः जनताको नेतृत्व गर्दै संघर्ष गर्नुपर्ने अपरिहार्यताको कारण हामीले जनतासँग एकाकार हुने, जनतालाई जागृत गर्ने र संघर्षमा सक्रिय सहभागिता मार्फत् उक्त परियोजनालाई फिर्ता पठाउन स्थानीय निकायको चुनाबमा स्वतन्त्र हैसियतमा सहभागि भएका छौ ।
 
ख. तीन बुँदे सहमतिको रक्षा र कार्यान्वयन गर्न– गत २०७७ फागुन २१ गते तत्कालिन केपी नेतृत्वको सरकार र हाम्रो पार्टीका बीचमा तीन बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न भएको थियो । जसमा हाम्रा पार्टीका नेता–कार्यकताका नाममा रहेका झुट्टा मुद्दाहरु खारेज गर्ने, जेल हिरासतमा रहेका नेता कार्यकर्ताहरु रिहाइ गर्ने, नेकपाले शान्तिपूर्ण राजनैतिक गतिविधिमा सहभागि हुने र देशको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरु वार्ताद्वारा समाधान गर्ने रहेका छन् । सहमति भएको केही समय पछि नै केपी नेतृत्वको सरकार बाहिरियो र गठबन्धनको तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए त्यस पश्चात तीनबुँदे सहमति अलपत्र जस्तो पर्न गएको छ । हालसम्म पनि सरकारबाट झुट्टा मुद्दा खारेज तथा बन्दी रिहाईको काम पूर्ण भएको छैन । हाल करिब दुई दर्जन नेता कार्यकर्ता देशका विभिन्न जेल तथा हिरासतमा रहेका छन् । राष्ट्रियता, जनतन्त्र, आर्थिक, राजैनिक, सामाजिक, सांस्कृतिक समस्याहरुका वारेमा जो हामीले उठाउँदा उल्टो हामी माथि प्रतिवन्ध लगाइयो । त्यसका वारेमा सरकारसँग औपचारिक रुपमा छलफल पनि भएको छैन । यी राष्ट्रिय महत्वका विषयहरुको समाधानका लागि हामीले स्वतन्त्र हैसियतमा उक्त निर्वाचनमा सहभागि हुने निर्णय गरेका हौं । 

ग. पार्टीका आन्तरिक कामलाई सु–व्यवस्थित गर्न : हामीले आठौ महाधिवेशनद्वारा राजनैतिक, सांगठनिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गरिएका संश्लेषणहरु जनतामा पुर्याउन नपाउदै हामीमाथि कथित प्रतिवन्ध थोपरियो । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले बुझ्नै पर्ने सार्वभौमिक महत्वका सैद्धान्तिक विषयका अतिरिक्त पार्टीले गरेका विचारधारात्मक संश्लेषणहरुलाई बुझ्ने बुझाउने काम अपुरो हुन गएको छ । त्यसैगरी संगठनलाई पिरामिड आकारमा विकास गर्न, आम जनतासँग एकाकार हुन, जवस मोर्चाहरुको निर्माण र परिचालनलाई सु–व्यवस्थित गर्न पनि आवश्यक हुन गएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीवीकाका पक्षमा गरिने संघर्षलाई आम जनतासँग जोड्न आर्थिक उत्पादनको महत्वपूर्ण पक्षलाई सु–संगठन गर्नुका अतिरिक्त अन्तर्राष्ट्रिय कामहरुलाई पनि पार्टी योजनामा जोड्न स्थानीय चुनावमा सहभागी अनिवार्य भएको छ । 

घ. संयुक्त मोर्चालाई फराकिलो बनाउन : सैद्धान्तिक दृष्टिले संयुक्त मोर्चाको अर्थ फरक विचार÷राजनीतिमा आधारित, पार्टी तथा संघ संगठनहरुले आफ्ना साझा एजेण्डाहरुमा गरिने संघर्षका लागि निर्माण गरिएको संयन्त्र भन्ने हुन्छ । राष्ट्रिय स्वाधिनता, भ्रष्टाचार, महङ्गी, कालाबजारीका सवालमा मुद्दा मिल्ने संघ, संगठन तथा पार्टीहरुसँग साझा मुद्दाहरुमा एकतावद्ध भई संघर्ष गर्ने जो हामीले प्रयोग पनि गर्दै आइरहेका छौं, त्यसलाई अझ विस्तृतिकरण गर्ने, समृद्ध गर्न पनि आवश्यक भएको छ ।  नेपालका वौद्धिक वर्ग, व्यापारी, उद्योगपति तथा विभिन्न संघ संस्था र आम जनसमुदायहरुले हाम्रो पार्टीलाई सबैभन्दा उत्कृष्ट जनपक्षीय पार्टी भन्ने गरेका छन् तर किन उनीहरु पार्टीमा आवद्ध हुने निर्णयमा पुग्दैनन् यसको अर्थ उनीहरुमा अझै पनि विप्लव नेतृत्वको नेकपाको अर्थ हतियारलाई बुझ्ने गर्दछन् । फलतः उनीहरु भ्रममा परेका छन् हामीले उक्त भ्रमहरुलाई हल गर्दै लैजानका लागि पनि स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा सहभागी हुन आवश्यक ठानेका छौं ।

ङ . असल क्षमतावान र जनपक्षीय प्रतिनिधि : वितेको चार वर्षमा हामीले प्रष्ट रुपमा देख्यौं र भोग्यौं कि देशमा असल, क्षमतावान र जनपक्षीय प्रतिनिधिका रुपमा संसदवादी पार्टीहरु रहन सकेनन् । उनीहरु आफै जनप्रतिनिधि आफै ठेकेदारका रुपमा रहे । उनीहरुले राष्ट्रघातलाई प्रसय दिएर जनतालाई कष्ट दिए, भ्रष्टचारमा संलग्न भए । उनीहरुमा पहुँचका आधारमा नातावाद, कृपावाद हावी हुन गयो । जनताले आफ्नो मतको अपनत्व ग्रहण गर्न पाएनन् । यस प्रकारको अवस्थामा आम जनतालाई राष्ट्रिय स्वाधिनता र वैज्ञानिक समाजवाद प्राप्तीको संघर्षका लागि आधार तयार पार्न, भ्रष्टाचारको अन्त्य गरी आर्थिक मितव्ययिता र पारदर्शितालाई व्यवहारतः लागु गर्नका लागि मात्र होइन बरु जनताको आर्थिक आधारलाई बदल्ने आधारलाई बदल्ने अंशगत प्रयासका रुपमा स्वतन्त्र रुपमा निर्वाचनमा सहभागिता आवश्यकता रहन गएको छ । 

५. सुदर्शन–कञ्चनको अराजनैतिक गतिविधि : हाम्रो पार्टीका पूर्व केन्द्रीय सचिवालय सदस्यद्वय सुदर्शन–कञ्चनले आठौंं महाधिवेशनमा गरिएका संश्लेषण र त्यस यताका हरेक निर्णयहरु सर्वसम्मत कार्यान्वयन प्रक्रियामा सहभागी हुँदै आईरहेका थिए । जुनसंश्लेषण र निर्णयहरुको कार्यान्वयन गर्दा प्रतिवन्ध झेल्नु पर्यो, थुप्रै कमरेडहरु गुमाउनु पर्याे तर स्थानीय चुनाबको कार्यनीतिक प्रश्नमा बहस गर्दा एकदमै आङ्गको टाङ्ग फरक पर्ने गरी प्रस्तुत हुनुभयो, जुन कुरा जो सुकै इमान्दार कार्यकर्ताहरुलाई पनि अस्वाभाविक लाग्नु सही नै थियो । केसको बैठक चल्दै गर्दा भित्रका प्राय सम्पूर्ण निर्णयहरु मिडियामा जानु, केन्द्रिय सदस्यहरुलाई बोलाएर गुटबन्दी गर्नु, अनाधिकृत रुपमा विज्ञप्ती दिनु, अन्तर्वार्ता दिनु, लेख लेख्नु, नेतृत्वका वारेमा विभिन्न भ्रमहरु सिर्जना गर्नु र अहिले कथित विद्रोहको नाममा केहि केन्द्रिय सदस्यहरुलाई साथमा लिएर नेकपा बहुमत नामको पार्टी घोषणा गर्नुले सुदर्शन–कञ्चनको  अराजनीतिक र योजनावद्ध नियतलाई व्यक्त गर्दछ । स्थानीय चुनावको प्रसंग केबल निमित्त कारण मात्र रहेको कुरा छर्लङ्ग छ । 

कमरेड सुदर्शन आर्थिक र सांस्कृतिक रुपमा कम्युनिस्ट पार्टीको अनुशासन भन्दा बाहिर रहेको कुरा जो कसैले बुझ्न सक्दछ । जतिखेर हामी प्रचण्ड–बाबुरामसँगको विचारधारात्मक संघर्षमा थियौं । त्यतिखेर हामीप्रति निकै असहिष्णु र पूर्वाग्रही पनि हुनुहुन्थ्यो ।  पछी उहाँले प्रचण्ड–बाबुरामलाई छोडेर हाम्रो पार्टीमा संलग्न हुनुभयो । कयौं प्रश्नहरुको वाबजुद हामीले उहाँलाई नेता बनायौंँ । आज उहाँले पार्टीले लगाएको गुण विर्सेर तथानाम गरिरहनु भएको छ ।  उहाँले सधै पार्टीमा आदतको सत्ता भत्काउने कुरा गर्दा नेता कार्यकर्ताहरुले हाँसोको विषय बनाउने गर्दथे । १२ औं केस बैठकमा पनि उहाँसँग जोडिएर आर्थिक अपारदर्शिताको प्रश्न उठेको थियो । उहाँले यसवारेमा स्पस्ट जवाफ दिनु सक्नु भएन । कमरेड कञ्चन जनयुद्धकाल भरी युरोपमा रहनुभयो किनभने उहाँ त्यतिखेर अन्तराष्ट्रिय विभागमा रहनु भएको थियो । उहाँले त्याग र वलिदानलाई शास्त्रमा मात्र बुझ्नु भयो । वास्तविकतामा अर्थात् भौतिक जीवनमा अनुभूत गर्न सक्नुभएन । माक्र्सवादलाई अध्ययन गर्ने मामिलामा पनि उहाँ परम्रावादी जस्तो देखिनुभयो । फलतः आज नयाँ कार्यदिशाको संश्लेषण र प्रयोग जहाँ उहाँहरु दुवै आफै संलग्न हुनुहुन्थ्यो । त्यसको सार तत्व ग्रहण गर्न सक्नु भएन । विशेष राष्ट्रिय भेला नाम दिएको चितवन भेला जहाँ सिमित केन्द्रीय नेताहरु सहभागी हुनुहुन्थ्यो । त्यसलाई विचारको बहुमतको नयाँ संश्लेषणको संज्ञा दिदै सारतः मालेमावादको भ्रष्टीकरण गर्दै प्रचारमा लाग्नु भएको छ । साँचो अर्थमा उहाँहरुको व्यक्तिवादी अराजकतावाद र माक्र्सवादी रोमान्टीज्म केही समयपछि समयले फैसला गर्नेछ, किनकी हरेक विज्ञानले यो कोर्ष अनिवार्य पार गर्नुपर्दछ कि सत्य र तथ्यद्वारा आफूलाई परिक्षित गर्नुपर्दछ ।