एसपीपी सम्झौताविरुद्ध नेकपाद्धारा चरणबद्ध संघर्ष

'देशभक्त तथा जनक्रान्तिप्रेमी जनसमुदायलाई संघर्षमा सहभागिताका निम्ति अपिल'

एसपीपी सम्झौताविरुद्ध नेकपाद्धारा चरणबद्ध संघर्ष

बुटवल । नेपाल कम्युनिस्ट पार्टीले नेपाल र नेपाली जनतालाई युक्रेन जस्तै बनाउने अमेरिकी साम्राज्यवादी तथाकथित एसपीपीका अगाडि आत्मसमर्पण नगर्न देउवा नेतृत्वको सरकारलाई विशेष आग्रह गर्दै एसपीपी सम्झौता विरुद्ध संघर्षको कार्यक्रम घाेषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै संघर्षको कार्यक्रम गरेका हुन् ।

घाेषित संघर्षका कार्यक्रमहरु अनुसार असार २ गते साझ देशव्यापी मशाल जुलुश, असार ३ गते देशव्यापी विरोध प्रदर्शन तथा सभा र असार ४ गते शहर र सदरमुकामहरुमा अन्तरक्रिया गर्ने रहेका छन् ।

दलाल पुँजीवादी आत्मसमर्पणवाद र अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष बाहेक अर्को मार्ग हाम्रो देश र जनताका अगाडि नभएकाले यसका विरुद्ध पार्टीले संघर्षका कार्यक्रमहरु घोषणा गरेको जानकारी दिदै प्रवक्ता प्रकाण्डले देशभक्त तथा जनक्रान्तिप्रेमी आम जनसमुदायलाई संघर्षमा आम सहभागिताका निम्ति अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,`नेपालमा MCC मार्फत सुरु गर्न थालेको अमेरिकी साम्राज्यवादी रणनीति अहिले SPP को रुपमा व्यक्त भएको छ । यो अमेरिकी साम्राज्यवादीे हिन्द प्रशान्त रणनीति (IPS) अन्तर्गत नेपाल राष्ट्र, नेपाली सेना र नेपाली जनता माथिको नाङ्गो हस्तक्षेप र गम्भीर षडयन्त्र हो । यसको हाम्रो पार्टी घोर निन्दा र कडा प्रतिवाद गर्दछ ।´

प्रेस विज्ञप्तिको पूर्ण पाठ-

नेपाली सेना र अमरिकी नेशनल गार्ड (उटाहा राष्ट्रिय पहरेदार) बीच राज्य स्तरको साझेदारीवारे सहमतिको मस्यौदा SPP सार्वजनिक भएपछि नेपाली राजनीतिमा अभुतपूर्व तरंग पैदा भएको छ । २१ औँ शताब्दीको पहिलो दशकको मध्यबाट आफ्नो विश्वव्यापी साम्राज्य गुमाउन थालेको अमेरिकी साम्राज्यवाद तेस्रो दशक प्रवेश गर्दा नगर्दै, विश्व दुई धुव्र र बहुधुव्रको रुपमा व्यक्त भइराखेको छ । वर्तमान बहुधुव्रीय विश्वको चरित्रले अमेरिकी साम्राज्यवादी विश्व वर्चश्वलाई धरापमा पार्न थालेपछि आतंकित र विक्षिप्त हुन पुगेको अमेरिकी साम्राज्यवाद विश्व पूर्ण नियन्त्रणको रणनीति विकास र त्यसको कार्यान्वयनको प्रकृया विश्वव्यापी रुपमा तिव्रताका साथ बढाई राखेको छ । हिन्द प्रशान्त रणनीति (IPS) यसैको खतरनाक अंग भएको कुरा आजका मितिसम्म आउँदा दुनिँया र नेपालमा कसैबाट छिपेको छैन । आफ्ना अन्तराष्ट्रिय प्रतिद्धन्द्धी शक्ति राष्ट्रहरुको राष्ट्रिय मुक्ति आन्दोलन र विश्वका श्रमजीवी जनताका मुक्ति आन्दोलनलाई आफ्नो सैन्य, आर्थिक, कुटनीतिक, सांस्कृतिक, भाषा, प्रविधि, सामाजिक र संचार क्षेत्रबाट हमला गर्ने रणनीति अमेरिकी साम्राज्यवादको तत्कालीक रणनिति बन्न गएको छ ।

नेपालमा MCC मार्फत सुरु गर्न थालेको अमेरिकी साम्राज्यवादी रणनीति अहिले SPP को रुपमा व्यक्त भएको छ । यो अमेरिकी साम्राज्यवादीे हिन्द प्रशान्त रणनीति (IPS) अन्तर्गत नेपाल राष्ट्र, नेपाली सेना र नेपाली जनता माथिको नाङ्गो हस्तक्षेप र गंभिर षडयन्त्र हो । यसको हाम्रो पार्टी घोर निन्दा र कडा प्रतिवाद गर्दछ ।

हाम्रो देश र नेपाली जनतालाई युक्रेन जस्तै बनाउने अमेरिकी साम्राज्यवादी तथाकथित SPP का अगाडि आत्मसमर्पण नगर्न देउवा नेतृत्वको सरकारलाई विशेष आग्रह गर्दछौँ । दलाल पुँजीवादी आत्मसमर्पणवाद र अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष बाहेक अर्को मार्ग हाम्रो देश र जनताका अगाडि नभएकाले यसका विरुद्ध पार्टी निम्न संघर्षका कार्यक्रमहरु घोषणा गर्दछ । साथै देशभक्त तथा जनक्रान्तिप्रेमी आम जनसमुदायलाई संघर्षमा आम सहभागिताका निम्ति अपिल गर्दछौँ ।

संघर्षका कार्यक्रमहरु
१) २०७९ असार २ गते साझ देशव्यापी मशाल जुलुश ।
२) २०७९ असार ३ गते देशव्यापी विरोध प्रदर्शन र सभा ।
३) २०७९ असार ४ गते शहर र सदरमुकामहरुमा अन्तरक्रिया ।