नेपालका अलराउन्डर  करण बने ५ विकेट लिने तेस्रो खेलाडी

बुटवल । नेपालका अलराउन्डर करण केसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने तेस्रो खेलाडी बनेका छन् । करणले बिहीबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध पाँच विकेट लिएका हुन् । 

यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई पटक र सोमपाल कामीले एक पटक पाँच विकेट लिएका छन् । सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५२ विकेट लिएका छन् भने करण र सोमपालले समान ३२ विकेट लिएका छन् । 

करणले अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानका ओपनरद्वय कश्यम प्रजापाति र जतिन्दर सिंहलाई एलबीडब्ल्यू आउट गरेका थिए । आयन खानलाई सोमपाल कामीमार्फत क्याच गरेका करणले सुरज कुमार र फयाज बटलाई बोल्ड गरेका थिए । 

करणले १० ओभरमा ३८ रन दिएर पाँच विकेट लिएका हुन् । ओमानविरुद्ध करणलाई कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिएर साथ दिए ।