स्थानीय निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण नभएको मानव अधिकार आयोगको निस्कर्ष

स्थानीय निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण  नभएको  मानव अधिकार आयोगको  निस्कर्ष

बुटवल । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ । शुक्रवार साँझ आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलित ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले राजनीतिक दलहरुले थप संयमता अपनाउनु पर्ने देखिएको बताए ।

उनले मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिृकत कुटिनु जस्ता घटनाले राजनीतिक दलले नै थप संयमता अपनाउन आवश्यक रहेको आयोगले निस्कर्ष निकालेको बताए ।

उनले ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेपनि हुम्ला, गोरखालगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदान स्थल टाढा भएको अघिल्लो दिन नै हिँडेर मत खसाल्न मतदाताहरू पुगेको पाइएको जानकारी दिए ।

उनले मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा मतदाता अलमलिएको, कतिपय मतदान स्थलमा खानेपानीको व्यवस्था नहुँदा मतदाता बेहोस भएको, शौचालयको अभाव, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका मतदाताहरूलाई सहज रुपमा मतदान गर्नसक्ने व्यवस्था नमिलाइएको पाइएको पनि बताए ।