लिनपियाओ : जसले षड्यन्त्रबाट पार्टी नेतृत्व हत्याउन खोजेका थिए

'लिनपियाओ माओका अन्धभक्त थिए। त्यो कुरा माओलाई थाहा थियो'

लिनपियाओ : जसले षड्यन्त्रबाट पार्टी नेतृत्व हत्याउन खोजेका थिए

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिन पियाओको प्रारम्भिक जीवन चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा वीरता र समर्पणले भरिएको देखिन्छ। सन् १९०८ मा चीनको हुपेइमा एउटा कारखाना मालिकको परिवारमा जन्मेका लिन पियाओ जीवनका सम्पूर्ण क्षण कम्युनिस्ट आन्दोलनमा बिताएका थिए। सांस्कृतिक क्रान्तिको कालसम्म आउँदा उनी माओको अन्धसमर्थकका रूपमा अत्यन्त महत्वपूर्ण स्थानमा थिए। लिन पियाओले जापानी अतिक्रमण विरूद्धको युद्धमा अनुपम वीरता प्रदर्शन गरेका थिए।

त्यस दौरानमा उनी लडाइँमा घाइते पनि भएका थिए। सन् १९५९ मा रक्षामन्त्री पेङतेहहुइले छलाङको सिद्धान्तको विरोध गरेर रुसी नेता खुश्चेवको पक्ष लिएपछि पार्टीले उनलाई पदबाट हटायो। त्यसपछि पेङतेह हुइको स्थान लिन पियाओले लिएका थिए। अनि लिनपियाओले माओको कार्यक्रमको पक्षमा उग्र आवाज उठाउन थाले र चिनियाँ जनमुक्ति सेनालाई व्यवस्थित बनाउने काम पनि गरे। सन् १९६५ मा लिन पियाओलाई पार्टीले प्रथम उपप्रधानमन्त्री पदमा नियुक्त गर्‍यो।

लिनपियाओले भाषण र प्रशिक्षणमा माओका भनाइहरूलाई उद्धत गरेर मात्र विषयवस्तु प्रस्तुत गर्दथे। माओका प्रमुख भनाइहरूलाई एकत्रित गरेर उनले एउटा पुस्तिका पनि प्रकाशन गरेका थिए। लिनपियाओले माओप्रतिको अन्धभक्ति एकपटक यसरी प्रकट गरेका थिए, ‘माओ–त्सेतुड्डका विचारहरूलाई यदि हामीले मान्दछौं भने त्यसलाई क्रियान्वयन पनि गर्नुपर्दछ। अझै पनि हामीले माओका विचारहरूलाई मान्न सकेका छैनाैं। आँखा चिम्लेर उनका विचारलाई स्वीकार गर्नुपर्दछ।’

सन् १९६८ अक्टुवरमा लिउ शाओची बर्खास्तीमा परे। पछि त्यो स्थानमा लिन पियाओ पुगे। उनी चिनियाँ कम्युनिस्ट पार्टीका उपाध्यक्ष मात्र होइन, माओत्सेतुङका उत्तराधिकारीसमेत घोषित भएका थिए। चीनमा उनी शक्तिशाली हुँदै गएपछि उनलाई माओको नजिकको नेता भनेर समेत सम्बोधन गर्न थालियो। कम्युनिस्ट आन्दोलनमा कही नभएको र अशोभनीय कुरा लिन पियाओलाई माओको उत्तराधिकारी घोषणा गरेर चिनियाँ कम्युनिस्ट पार्टीले ठूलो गल्ती गरेको कम्युनिष्ट वृत्तमा समीक्षा हुने गरेको छ।

सन् १९६९ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनमा लिन पियाओले नै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो राजनीतिक प्रतिवेदन ल्युशाओचीका विरूद्धमा केन्द्रित थियो। लिनपियाओको पुस्तक जनयुद्धको विजय दीर्घजीवी हुन्छ भन्ने थियो। नवौं महाधिवेशनको दस्तावेजले पनि त्यो झलक दिन्छन्। त्यतिबेला सोभियत संघमा संशोधनवादी राजनीतिक लाइन व्यवस्थित भइसकेको थियो। सोभियत संशोधनवादको प्रभाव विश्वव्यापी भएको कारणले विश्व कम्युनिष्ट आन्दोलन माथिल्लो तह मात्र होइन, विश्वभरिका कम्युनिस्ट पार्टीहरू सोभियत ध्रुव र चिनियाँ ध्रुवमा विभाजित भई सकेका थिए।

पार्टी विभाजन नभएका कतिपय मुलुकहरूमा पनि गम्भीर मतभेद र अन्तरसंघर्षको अवस्था तीब्र बनेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीमा पनि सोभियत विचारको बेजोड प्रभाव परेको थियो। पेङतेह हुई, देङ स्याउमिङ तथा ल्युशाओचिहरूले त्यो धारको नेतृत्व गरिरहेका थिए। त्यसैले त्यो समय मार्क्सवादी लेनिनवादी धारा कमजोर रहेको र दक्षिणपन्थी संशोधनवादी धार शक्तिशाली भइरहेको माओको निष्कर्ष थियो। यस्तो अवथामा लिनपियाओले नयाँ युगको अवधारणा अगाडि सारे। यसरी उनले नयाँ युगको व्यवस्थाका साथ साम्राज्यवादको पूर्ण पतन र समाजवादको विश्वव्यापी विजयको युगको रूपमा परिभाषा गरे। उनले माओत्सेतुङ विचारधारालाई नयाँ युगको माक्र्सवाद लेनिनवाद बताए र माओवादी युग शुरू भएको बताए।

लिनपियाओको राजनीतिक लाइनको असर पनि विश्वव्यापी बन्न गएको थियो। भारतको कम्युनिस्ट आन्दोलनमा महादेव मुखर्जीले लिनपियाओको लाइनको समर्थन गरेका थिए। तर, लिनपियाओ भने आफैले अघि सारेको लाइनमा उभिन सकेनन्। नवौं महाधिवेशनमा चेनपोंदा र लिन पियाओले तयार पारेको मस्यौदा पार्टीको केन्द्रीय समितिले सच्चाएको थियो। लिनपियाओको विचार उग्रपन्थी हुँदै गएको पार्टीकै अधिकांश नेताहरुको ठम्याइ थियो। रक्षा र उपप्रधानमन्त्री र सैन्य क्षेत्रको हर्ताकर्ता हुँदा लिन पियाओमा धेरै अभियान पनि बढ्यो। माओ र पार्टी केन्द्रीय समितिले आलोचना र चेतावनी दिँदा समेत लिनपियाओमा सुधार हुन सकेन। उत्तराधिकारी घोषित भएको कारणले सीघ्र सत्ताप्राप्तिको लालसाले पनि उनलाई खेद्न थाल्यो।

माओत्सेतुङसित पार्टीको कार्यप्रणाली लगायतका विषयमा मतभेद शुरू भएपछि लिन पियाओले सोभियत नेताहरूसित सम्बन्ध विस्तार गरे। सन् १९४९ मा चीनमा जनताको नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि अमेरिकाले चीनलाई राष्ट्र नै स्वीकार गरेको थिएन। च्याङकाइसेकको फर्मासालाई मात्र राष्ट्र मानेर सम्बन्ध कायम गरेको थियो। तर, माओत्सेतुङले नेतृत्व गरेको कम्युनिस्ट चीनले छोटो समयमा नै विकास र समृद्धि प्राप्त गर्‍यो। चीन पनि एउटा शक्ति राष्ट्रका रूपमा उदायो। चीन संयुक्त राष्ट्र संघको सदस्य पनि थिएन। सोभियत संघ र चीनका बीचमा सिद्धान्तको प्रश्नलाई लिएर विवाद तीब्र बनेपछि अमेरिकाले चीनसित कुटनीतिक सम्बन्ध कायम गर्नका लागि इच्छा प्रकट गर्‍यो। त्यसका लागि वातावरण निर्माण गर्न पाकिस्तानलाई मध्यस्तताका लागि आग्रह गर्‍यो।

माओत्सेतुङले पनि अमेरिकासित कुटनीतिक सम्बन्ध स्थापना गर्न उचित माने। अमेरिकाका तत्कालिन राष्ट्रपति निक्सनले चीनको भ्रमण गर्ने कार्यक्रम बन्यो। लिनपियाओले अमेरिकासित कुटनीतिक सम्बन्ध कायम गर्न हुँदैन भन्ने मत राखे। त्यति बेलाको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनका लागि अमेरिकासितको कुटनीतिक सम्बन्ध आवश्यक थियो। माओको त्यो द्वन्द्वात्मक नीतिलाई लिनपियाओले बुझ्न सकेनन् किनभने एकातिर उनमा सोभियत प्रभाव थियो, अर्कोतिर दुस्साहसवादी चिन्तन पनि।

लिनपियाओ माओका अन्धभक्त थिए। त्यो कुरा माओलाई थाहा थियो। माओले आफ्नो अन्धभक्त भएको कारणले लिनपियाओको गलत चिन्तनप्रति उदारता देखाएनन्। माओको यस्तो व्यवहारबाट लिनपियाओमा वैराग चुलिन पुग्यो। त्यसपछि लिनपियाओ माओलाई नै अपदस्त गरेर सत्ता हत्याउने षडयन्त्र गर्न थाले। सन् १९७० को अगस्त महिनामा सम्पन्न भएको पार्टीको नवौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा विद्रोहको योजना बनाए। तर, त्यो विद्रोह सफल हुन सकेन।

त्यसपछि लिनपियाओले १९७१ मार्चमा योजना नं. ५७१ को रूपरेखा नामक प्रतिक्रान्तिकारी सशस्त्र विद्रोहको षड्यन्त्र तय गरे। सेप्टेम्बर ८ मा माओत्सेतुङकै हत्या गरेर सत्ता कब्जा गर्ने पाशविक विद्रोह गर्ने त्यो योजनाको पोल खुल्यो। लिन पियाओकै बहिनीबाट सो योजनाको पोल खुलेपछि सेप्टेम्बर १३ मा गुप्त रूपमा लिन पियाओ सोभियत संघतिर भागे। यसरी माओत्सेतुङको हत्या गर्ने योजना टर्‍यो।

त्यो जहाजमा उनका साथीहरू ऐछयुन, र लिन लिगो पनि थिए। लिन पियाओले विद्रोही केन्द्रीय समिति पनि बनाएका थिए। तर, तिनीहरू चढेको सो विमान मंगोलियाको आकाशमा दुर्घटना भयो। र, उन्डरखान प्रान्तमा खस्यो। दुर्घटनाबाट लिन पियाओ गुटका प्रमुख नेताहरूको अन्त भयो। अन्य सदस्यहरू केही पक्राउ परे भने कतिपयले आत्महत्या गरे। यसरी लिन पियाओको षडयन्त्र असफल भयो।