अन्तिम मार्चपास गर्नैपर्छ !

-कुमार क्षेत्री

आशा निरासामा खड्किएपछि 
विश्वास अविश्वासमा भड्किएपछि
मन तात्तिएर
मुटु भक्कानिएर
विगतको इतिहासको पन्ना पल्टाई हेर्दा
वर्तमानको अकर्मण्यताबाट
भविष्यलाई नियाली रहँदा
फगत लाग्छन् संघर्षका ति पाइलाहरु 

मन पिरोलिँदै जान्छ 
भावना बहकिदै बहकिदैै
नयाँ विचारमा गएर अड्किन्छन् 
भोक, तिर्खा र निद्रा पनि
अलपत्र परेर पर-पर रन्थनिएका छन् 

सायद यो बेला विद्रोहका
रक्तबिजहरु मस्तिष्कमा अंकुरण हँुदै 
नयाँ-नयाँ प्रश्न गरिरहेका छन्
र उत्तर मागिरहेका छन्
विद्रोहको बर्बराउँदो 
त्यो साहस,
त्यो क्रान्तिको लोलीबोली
त्यो सर्वहारा वर्गको मुक्तिको आकांक्षा
त्यो सहिदको ज्युँदो सपना
किन कता कसरी खड्किरहेछन् ?
किन कता कसरी रुमल्लिरहेछन् ?

मस्तिष्कमा उब्जिरहेका छन् 
अनेकौ सवाल 
र खोजिरहेका छन्
सवालको जवाफ, 
चिताएको त्यो आशलाग्दो नेतृत्वबाट 

किन बिसाइन खोजिँदैछ उठाएका जनअनुमोदित मुद्दाहरु ?
किन रोक्न खोजिँदैछ साम्यवादको लक्ष्य हाम्रो ?
किन चक्नाचुर र भष्मासुर गर्न खोजिँदैछ सहिदका सपनाहरु ?
किन छेक्न खोजिँदैछ दलाल पुँजीवाद बिरुद्धको आन्दोलनलाई ?
के पाइन्छ बिसाएर जनअनुमोदित मुद्दाहरुलाई ?
के ल्याईन्छ रोकेर साम्यवादको लक्ष्यलाई ?
के चाहिन्छ चक्नाचुर र भष्मासुर गरेर सहिदका सपनालाई ?
के पाकिन्छ छेकेर दलाल पुँजीवाद विरुद्धको आन्दोलनलाई ?

सुदुरका खर र चुनले छाएका गाउँले बस्तीहरुमा
आशा र भरोसाको नयाँ किरण तल्टलाई रहेको बेला
आत्मसमर्पणवादको रछ्यानबाट खोसी ल्याएको 
सर्वहारा वर्गको रातो झण्डाले
सहिदका ति अधुरा सपनाले
जनतामा नयाँ जनभाव पलाएको छ
जनतामा नयाँ विश्वास जागेको छ
औँठा छाप लगाउने बुढा बा आमाहरु
डिग्री पढी विदेशी गल्ली चहार्ने दीप प्रज्वलित युवाहरु 
यी सबै संगठित र एकताबद्ध हुन थालेका छन् 
शासक वर्ग डरले थुर-थुर काप्दै छन्
सत्ता तिनको डगमगाई रहेको छ
युवा पुस्ता तातिसकेको छ 
यिनका घिनलाग्दा नियतिदेखि 

तिमीले भुल्नुहुँदैन सहिदका सपनाहरुलाई
बिर्सिनु हँुदैन जनताका मुद्दाहरुलाई 
थाक्नु हुँदैन सर्वहारा वर्गको मुक्ति आन्दोलनमा
किनकी, तिमीप्रति तीन करोड जनताको आशा छ
त्यो आशा पुरा गरी छाड्नुपर्छ तिमीले 
नत्र, मालेमावादको बद्नाम तपाइँबाट हुनेछ
जनताका अघि गद्दार कहलिने छौँ तपाइँ हामी 

त्यसैले प्रिय आशलाग्दो नेतृत्व
तिमीले दलाल पुँजीवादलाई 
कहिल्यै नउठ्ने गरी उत्तानो पार्न
अन्तिम मार्चपास गर्नैपर्छ ।

 १५ चैत्र २०७८