ढकमक्क फूल्यो लाली गुराँस : ४३ जिल्लामा ३४ प्रजाति

रोयल बोटानिक गार्डेन्स क्यु लन्डनका अनुसार संसारभर गुराँसको १ हजार ७३ प्रजाति छन्। तीमध्ये एक प्रजाति लालीगुराँसको वैज्ञानिक नाम रोडोडेन्ड्रन अर्बोरियम हो। गुराँस जातिअन्तर्गत लालीगुँरास सबैभन्दा अग्लो रुख हुने प्रजाति हो। यो प्रजाति पाकिस्तान, भारत, नेपाल, श्रीलंका, तिब्बत, भुटान, म्यान्मार, भियतनामसहित म्यान्मार र भियतनामसँग जोडिएको चीनको दक्षिणपूर्वी क्षेत्र युनानमा प्रचुरतम मात्रामा पाइन्छ।

विभिन्न अभिलेखबाट नेपालमा अहिलेसम्म गुराँसको ३४ प्रजाति छन् भन्न सक्ने अवस्था छ। तीमध्ये सबैभन्दा प्रचुर मात्रामा पाइने लालीगुँरास हो। यो समुद्री सतहबाट १२ सयदेखि ३५ सय मिटर भौगोलिक उचाइसम्म पाइन्छ। नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयले २०७५ सालमा जारी गरेको गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) अनुसार गुराँस ४३ जिल्लामा पाइन्छ।

लालीगुँरासको पुष्प पत्रको भित्री आवरणमा अक्सर काला थोप्लाथोप्ली हुन्छ। यस्ता थोप्लाथोप्ली कुनैमा बढी र कुनैमा कम हुन्छ। यही थोप्लाथोप्लीबाट यो प्रजाति सजिलै पहिचान गर्न सकिन्छ।

लालीगुँरास ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा हुँदै सोलुखुम्बु, दामन–सिमभन्ञ्याङ, घोडेपानी, लमजुङ, म्याग्दी, बागलुङ, रुकुम, मुस्ताङ, मुुगु, हुम्ला, डोल्पा, जुम्ला, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, बैतडी आदि जिल्लामा बढी मात्रामा पाइन्छ। यो प्रजातिको फूल रातो मात्र नभई सेतो, खरानी, हल्का पहेँलो आदि रङमा फुल्छ। भौगोलिक सतह कम उचाइ र पारिलो घाम भएको ठाउँमा पुस महिनाबाटै फुल्न सुरु हुन्छ। ३४/३५ सय मिटर उचाइमा भने असारसम्म फुल्छ। त्यो उचाइमा यसको बोट पोथ्रा जत्रो हुन्छ।

उप–प्रजाति तथा प्रकार
नेपालमा लालीगुँरासको दुई उप–प्रजाति (रोडोडेन्ड्रन अर्बोरियम् उप–प्रजाति अर्बोरियम, रोडोडेन्ड्रन अर्बोरियम् उप–प्रजाति सिन्नामोमियम्) र दुई प्रकार (रोडोडेन्ड्रन अर्बोरियम् भेराइटी अल्बम तथा रोडोडेन्ड्रन अर्बोरियम् भेराइटी रोसियम्) छन्। उस्ताउस्तै देखिने र चिन्न गाह्रै हुन्छ, तिनीहरू। रोडोडेन्ड्रन अर्बोरियम् उप–प्रजाति अर्बोरियम् नेपालभर पाइन्छ। जब कि रोडोडेन्ड्रन अर्बोरियम् उप–प्रजाति सिन्नामोमियम् मध्य र पूर्वी नेपालमा मात्र पाइन्छ। यसको पातको मुनि हल्का रातो र पहेँलो रङको रसायन बाक्लो जमेको हुन्छ। यो प्रजाति संखुवासभाको मिल्के क्षेत्रमा बढी मात्रामा भेटिन्छ।

लालीगुँरासको पुष्प पत्रको भित्री आवरणमा अक्सर काला थोप्लाथोप्ली हुन्छ। यस्ता थोप्लाथोप्ली कुनैमा बढी र कुनैमा कम हुन्छ। यही थोप्लाथोप्लीबाट यो प्रजाति सजिलै पहिचान गर्न सकिन्छ। फूलमा  सलाईका काटी आकारका १० वटा स्टामेन अर्थात् भाले प्रजनन अंग हुन्छ। कार्पेल अर्थात् पोथी प्रजनन अंग वरिपरि स्टामेनबाट घेरिएर रहन्छ। लम्बाइ भने स्टामेनभन्दा कार्पेलको थोरै लामो हुन्छ। लालीगुँरासको फूलबाट कतैकतै पेयपदार्थ जस्तो स्क्वास र रक्सी बनाउने गरेको पाइन्छ। धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसका विज्ञहरू अनुसार लालीगुँरासमा पेयपदार्थ बनाउन हुने पर्याप्त उपयोगी रसायन छैन। 

नेपालको गुराँस अभिलेख
नेपालको गुराँसबारे सन् २००२, २००५ र २०१९ मा द रोडोडेन्ड्रन्स अफ नेपाल, रोडोडेन्ड्रन्स अफ नेपाल र कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू शीर्षक पुस्तक प्रकाशन भए। तीमध्ये वैज्ञानिक अभिलेखका निमित वनस्पति विभागबाट प्रकाशित रोडोडेन्ड्रन अफ नेपाल उत्तम पुस्तक हो। यो पुस्तक केशवराज राजभण्डारी र मार्क एफ वाटसनले लेखेका हुन्। पुस्तकमा गुराँस प्रजाति पाइने स्थानसहित तिनका वैज्ञानिक विवरण समावेश छ। तर, आम पाठकका निम्ति देवनागरीमा लेखिएको कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तक उपयोगी छ। यो पुस्तकमा उत्तर अमेरिकाको अलाष्का क्षेत्रमा करिब ६ करोड वर्षपहिले उद्विकास भएको गुराँस जाति के कसरी नेपालसम्म विस्तार भयो भन्ने संक्षिप्त जानकारी छ।

नेपालमा ३४ गुराँस प्रजाति पाइन्छन् भन्ने माथि उल्लेख गरिए पनि रोडोडेन्ड्रन मेकोन्गेन्सको स्पष्ट जानकारी छैन। यो प्रजाति नेपालमा छ भन्ने जानकारी फ्लोरा अफ चाइना, भोलम १४ पृष्ठ ३२० मा उल्लेख छ। तर, कहाँबाट कस्ले संकलन गरेको भन्ने जानकारी पाइन्न। उसो त यो चीन तथा भारतको अरुणाञ्चलसहित सिक्किमको लाचुङ र युम्थाङ उपत्यकामा पनि पाइन्छ।

लाचुङ नेपालको सिमाबाट हवाई दूरी करिब ६० किलोमिटर टाढा छ। त्यहाँ पाइने, यता नपाइएला भन्न सकिन्न। यस्तै, नेपालमा छ भनिएको तर पर्याप्त नमुना संकलन हुन नसकेको प्रजाति रोडोडेन्ड्रन ट्राइकोक्लाडम् हो। यसको एकप्रति नमुना मात्र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरी ललितपुरमा संग्रहीत छ। नेपालमा गुराँस अध्येयताबाट उल्लिखित दुई प्रजातिबारे थप खोजबिन गर्न आवश्यक छ।

कमल मादेन/अन्नपूर्णपोष्ट