नेकपाका महासचिव विप्लवद्धारा केन्द्रीय समिति बैठकमा जबाफ 

बुटवल । नेकपाको केन्द्रीय समितिको जारी १२ पूर्ण बैठकमा महासचिव विप्लवले जवाफ दिइरहेको केन्द्रीय कार्यालय स्रोतले बताएको छ । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय सम्पर्क कार्यालयमा जारी बैठक नवौ दिनसम्म चलिरहेको छ । महासचिव विप्लवले राजनीतिक प्रतिवेदनमाथि उठेका बिषय, सुझाव र जिज्ञासाहरुमाथि जवाफ दिने बताइएको छ ।  

नेकपा केन्द्रीय सदस्य एवं रातोखबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठ प्रज्वलनले महासचिव कमरेडले बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका बिषयमाथि प्रष्ट पार्ने कार्यक्रम रहेको बताउनुभएको छ । 

कतिपय अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपाविरुद्ध गोयबल्स शैलीमा चौतर्फी भ्रामक प्रचार भइरहेको बेला यसको नेकपाले खण्डन गर्दै आएको छ । बैठकमा महासचिव विप्लवद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बहस भइरहेको छ । 

राजनीतिक प्रतिवेदनमा एमसीसी पारित भएपछि देशको राष्ट्रिय संकट, ९ औं महाधिवेशन र देउवा सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावबारे छलफल चलिरहेको छ ।