तिनाउमा एक महिलाको बेवारिसे शव फेला

बुटवल-तिनाउ नदिमा एक महिलाको बेवारिसे शव फेला परेको छ । रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा एक महिलाको शव फेला परेको हो । बुधबार साँझ तिनाउ –३ मा रहेको विद्युत गृहको ड्याम नजिक तिनाउ नदि बीचमा अन्दाजी ६०-६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा प्रहरीका प्रवक्ता लक्ष्मण पचभैयाका अनुसार उनको शव घोप्टो परेको अवस्थामा रहेको र स्थानीयले खवर गरेपछि जिल्ला र दोभान प्रहरी घटना स्थल पुगेर घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय बुटवल आसपासका क्षेत्रमा निरन्तर शव फेला परेका छन् । बुधबारनै सैनामैनामा एक पुरुष मृत फेला परेका थिए भने मंगलबार देवदहमा एक महिला र बालिकाको शव फेला परेको थियो ।